ठूला नेता सङ्गै नरहेको ठहर
गत साता ललितपुरको दक्षिणी भेगबाट पक्राउ परेका विप्लव समूहको तेस्रो वरियताका नेता धर्मेन्द्र बाँस्तोलाको डायरीबाट प्रहरीले खासै नयाँ कुरो फेला पार्न सकेन । डायरीमा आन्तरिक तालिमबाहेक थप सूचना केही नभेटिएपछि प्रहरी अलमलमा पर्नु स्वाभाविक हो ।
प्रारम्भिक बयान र केरकारमा उनले पक्राउ परेको बेला चर्चामा आएजस्तो त्यसबेला खड्ग बिक ‘प्रकाण्ड’ लगायत उपल्लो दर्जाका कुनैपनि नेता आफूसँग नरहेको बताएका छन् । स्रोतले बाँस्तोलालगायतका नेता तथा कार्यकर्तालाई यातायातको साधन प्रयोगमा सहयोग पुर्याएका एकाध स्थानीय कार्यकर्ता मात्र पक्राउको क्रममा उम्किएको बताएको छ ।
बाँस्तोलाको बयान अझै नसकिएको स्रोतको दाबी छ । बयानमा प्रहरीले अनेक तरहबाट सोध्दा पनि सरकारसँग वार्ताको पहल भएको बारे उनले एक शब्द उच्चारण गरेका छैनन् । उनलाई महानगरीय प्रहरी परिसर, जावलाखेलमा राखिएको छ । प्रहरीको विशेष ब्युरोले अहिलेसम्म आफ्नो सेफ हाउसमा तानेको छैन ।
उनीसँगै समातिएका तीनजनाको जिल्ला अदालत ललितपुरबाट म्याद थप गरिएको छ । वारेण्ट जारी भएका फरार अभियुक्तलाई भगाउन सहयोग गरेको आरोपमा दुई जनामाथि समेत म्याद थप गरिएको प्रहरीले बताएको छ । मुलुकको अपराधसंहितामा भएको नयाँ व्यवस्थाबमोजिम नै म्याद थप गरिएको हो । बाँस्तोलाविरुद्ध यसअघि नै तीन वटा मुद्दा दर्ता छ ।
उनीविरुद्ध हातहतियार, खरखजाना बिस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधमा २०७५ पुस १२ को ललितपुर गोदावरीको एउटा मुद्दा कायम छ । त्यसैगरी, बिस्फोटक पदार्थ, बम विस्फोट गराई कर्तव्य, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, विध्वंशात्मक कार्य र संगठित अपराधमा २०७५ माघ ११ को एनसेल काण्ड पनि जोडिएको छ । प्रेम दर्नालसँगको अपराधिक लाभ, संगठित अपराध मुद्दामा २०७७ मंसिर ५ को घटनामा प्रतिवादी कायम रहेका बाँस्तोलालाई म्याद थप गरिएको बताइन्छ ।
बाँकी दुई जनालाई भने प्रहरीले फरार दोषीलाई भगाउन सहयोग पु¥याएको आरोपमा अपराधसंहिताको १ सय २ नम्बरअनुसार म्याद थप गरेको हो ।
टिप्पणीहरू