सीएनएनका चर्चित पत्रकार ल्यारी किङको निधन
विश्व चर्चित टेलिभिजन पत्रकार ल्यारी किङको ८७ वर्षको उमेरमा शनिबार बिहान लसएञ्जलसमा कोरोनाको कारण निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । तर, छोरा चान्सले दिएको जानकारीमा उनको निधनको कारण खुलाइएको छैन । अमेरिकी टेलिभिजन सीएनएनमा छुट्टै प्रकारको अन्तरवार्ता पत्रकारको परिचय बनाएका ल्यारी सन् १९९० पछि एकाएक टेलिभिजन अन्तरवार्ताको माध्यमबाट चर्चामा आएका थिए ।
सीएनएनसँग गरेको २५ वर्षे सहकार्यमा अमेरिकी राष्ट्रपतीय उम्मेदवारहरु, सेलिब्रिटीहरु, खेलाडी, तथा समाजका विभिन्न क्षेत्रका हस्तीहरुसँग लिइएको उनका अन्तरवार्ता निकै चर्तित छन् । उनले ६ हजारभन्दा बढी अन्तरवार्ता लिएपछि सन् २०१० मा अवकाश लिएका थिए । फरक प्रस्तुती र पहिरन पनि टेलिभिजनका दर्शकलाई बेग्लै स्वाद हुने गरेको थियो ।
टेलिभिजनमा आउनुअघि ल्यारी सन् १९६५ ताका मियामी हेराल्डमा स्तम्भकार थिए । सन् १९७१ मा उनलाई आफू कार्यरत संस्थाको सम्पत्ति अवैध तवरले चोरी गरेको आरोप लाग्यो । तर, आरोप प्रमाणित हुन नसकेपछि अदालतले उनलाई केही वर्षपछि निर्दोष ठहर गरेको थियो ।
टिप्पणीहरू