प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’

प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध आन्दोलन गरिरहेका नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री निवास बालुवाटारमा मार्चपास गर्ने भएका छन् ।

प्रम निवासलाई निरंकुशता, स्वेच्छाचारिता र प्रतिगमनको विम्ब भन्दै नागरिक आन्दोलनले बालुवाटार (प्रधानमन्त्री)लाई चुनौती दिन बालुवाटारमै आन्दोलन गर्ने निष्कर्ष निकालेको बताएको छ ।

सोमबार (भोलि) हुने उक्त कार्यक्रममा कमलपोखरी बचाऊ अभियानका अभियन्ताहरुले माटोको टीका लगाएर कमलपोखरीदेखि बालुवाटारसम्म मार्चपास गर्ने छन्।

‘संसद बिघटनलगायत सबैखाले प्रतिगामी कदमका बिरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै नागरिकको कर्तव्यबोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा जोड गर्दछौँ’, बृहत् नागरिक आन्दोलनका युग पाठकले भन्नुभएको छ।

‘बालुवाटार मार्च’ नाम दिइएको उक्त आन्दोलनमा सहभागी हुन अपिल गरिएको छ। ‘सबै कवि, लेखक,कलाकार,संगीतकर्मी, बौद्धिक,पेशाकर्मी,एवम् नागरिक अभियन्तालाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ’, नागरिक आन्दोलनले आव्हान गरेको छ।

प्रतिनिधिसभा विघटनको निर्णयलाई प्रतिगमन भन्दै आन्दोलन गरिरहेको नागरिक आन्दोलनले यसअघि माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरेको थियो । लगत्तै प्रज्ञा डबलीमा आयोजित नागरिक सभाले बालुवाटारमा मार्चपास गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू