नेपाल-चीन सीमास्तम्भ खोजिदै
राष्ट्रिय एकता अभियानले नेपाल-चीन सीमानाको सुरक्षाका लागि भन्दै तीन दिने धर्ना अभियान शुरु गरेको छ । अभियानले चीनसंग सीमास्तम्भको जिपिएस कोअर्डिनेट सार्वजनिक गर्नसमेत माग गरेको छ ।
यसैबीच सीमा स्तम्भहरुको जीपीएस कोअर्डिनेट माग गर्दै नापी विभागमा उजुरीसमेत परेको छ। आफ्नो अध्ययन प्रयोजनका लागि सूचना विभागमा सोसम्बन्धी जानकारी माग गरेपनि विभागले सूचना उपलब्ध नगराएको भन्दै बाराका विनय यादवले नापी विभागमा उजुर हालेका हुन्।
यादवले नेपाल-चीन सीमामा दुई देशको सीमा छुट्टयाउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोअर्डिनेट कति हो भन्दै प्रश्न गरेका छन् । उनले सीमा स्तम्भहरुको जीपीएस कोअर्डिनेट अभिलेखको काम कुन मितिमा सम्पन्न भएको हो भन्ने जानकारी मागेका हुन् ।
त्यस्तै सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षण मितिको जानकारी र प्रतिवेदन पनि उनले मागेका छन्। यादवले हालेको उजुरीमा सुपरिवेक्षणअनुसार कुन-कुन सीमा स्तम्भ भेटिएको छैन सो को जानकारी दिन भनिएको छ।
नेपाल र चीनबीच सीमा विवादका घट्ना खासै सार्वजनिक भएका छैनन् । जानकारहरुका अनुसार दुवै देशको सीमाका केही ठाउँमा सामान्य विवाद छन् भने झण्डै आधा दर्जन सीमा स्तम्भ बेपत्ता भएका छन् । नापी विभागले यसअघि नै दुई ठाउँमा सीमा विवाद रहेको बताएको थियो ।
नेपाल–चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ । पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ बनाइएका छन् । तीमध्ये सन् २००५ मा भएको सुपरीवेक्षणमा ३७, ३८, र ६२ नम्बरका स्तम्भ भेटिएका थिएनन् । चिनियाँ पक्षले हुम्लामा नेपाली भूभाग मिचेर भवन निर्माण गरेको भन्दै कतिपयले विरोध गरेका थिए। सरकारले भने चिनियाँ भूमिमै भवन बनेको दाबी गरेको थियो।
टिप्पणीहरू