प्रधानमन्त्री नपुग्दै गोपालको गला अवरुध्द : सरकारी प्रेस भेलामा को गए, को गएनन् ?
गत बिहीबार राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित प्रधानमन्त्रीनिकट समूहको पत्रकार भेलामा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी पार्टी बिभाजनको पीडाले भावबिभोर हुनुभएको छ । हिजो हामीले स्थापना गरेको प्रेस चौतारी आज कहाँ छ,साथीहरु कता छन्,यस्तो अवस्था किन आयो भन्दै गर्दा उहाँको गला अवरुद्ध भएको थियो । उक्त कार्यक्रममा विशेषगरी सरकारी निकायमा कार्यरत पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
भेलामा पत्रकार महासंघको फाल्गुणमा हुने महाधिवेशनका लागि अध्यक्षका दावेदार उजिर मगर,नेपाल टिभीका अध्यक्ष डा.महेन्द्र विष्ट, सूचना आयोगकी निवर्तमान आयुक्त यशोदा तिमिल्सिना,प्रेस चौतारीका पूर्व उपाध्यक्ष माधव नेपाल,रेडियो नेपालका वरिष्ठ अधिकृत प्रमोद दाहाल,प्रधानमन्त्री केपी ओलीका पूर्व बिदेश मामिला बिज्ञ गोपाल खनाल,न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्याल,रासस अध्यक्ष हरिहर अधिकारी श्यामल, पोखराबाट दिपेन्द्र श्रेष्ठ,जमुना बर्षा शर्मा,तारा चापागाईं,उदयपुरबाट कुशलबाबू बस्नेत,रेणु पराजुलीहरूको सक्रिय उपस्थिति थियो । ‘मोही माग्ने ढुंग्रो लुकाउने स्तम्भ’ का स्तम्भकार तथा गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले पनि ‘ढुंग्रो नलुकाई’ कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो ।
तर,पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले,सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा,पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शीतल साह,प्रधानमन्त्री केपी ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालहरूलाई भने सभागृहमा नदेखिएको स्रोतले बताएको छ । विगतमा प्रेस चौतारी आवद्ध माधव नेपालले सरकारी भेलामा उपस्थिति जनाउनुको मुख्य कारण निरु पालसँगको निकटता रहेको बताइन्छ । नेपालको ससुराली घरमा पालको डेरा रहेकाले पनि उहाँहरूबीचको ‘सांगठानिक कन्भिन्स’ ले काम गरेको अड्कल लगाइएको छ ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले भने सहभागिता मात्रै जनाउनुभएन, भावुक भाषणसमेत गर्नुभएको थियो । ‘पार्टी विभाजनको कारण आफूहरूको ठूलो मेहनतबाट सिर्जना गरिएको प्रेस चौतारीको पछिल्लो हविगतले दुःखी तुल्याएको’ भन्दै गला अवरुद्ध पारेर भाषण गरिरहनुभएका बुढाथोकीलाई हिक्का थाम्न गाह्रो भएको थियो ।
स्रोत भन्छ ‘भेलामा सरकारी पत्रकार अधिकांश आएका थिए ।’ । कार्यक्रममा गोरखापत्रका प्रधान सम्पादक श्रीधर आचार्यसहित लक्की चौधरी पनि थिए ।
नेपाल टेलिभिजनका मीनु सापकोटाहरू पनि हुर्हुराउँदै सभागृह पुगेको बताइन्छ । एनटिभीबाटै निमा काफ्लेको समेत भेलामा सहभागिता थियो ।
ठूलाबडा गएपछि टिभीमा पछिल्लो दिन भर्ना भएका नयाँ पत्रकारहरूको अनुपस्थिति हुने कुरो नै भएन भन्दै एकजना सहभागीले भनेका छन् ‘तेज वाग्लेहरू अनुपस्थित भए,पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारी गएनन् । तर, सुरोजङ्ग पाण्डे मंगलबार एकेडेमीमा भएको अर्को समूहको भेलामा सहभागीको नाताले र त्यस दिनको भेलामा रिपोर्टरको नाताले पुगे ।’
प्रदेशबाट मुख्यमन्त्रीका प्रेस सल्लाहकारहरूमध्ये लुम्बिनी प्रदेशका शेरबहादुर केसी, बाग्मतीका प्रकाश र १ नं. का ध्रुवको उपस्थिति देखिएको थियो ।
अस्वस्थताका कारण वरिष्ठ पत्रकार गोपाल थपलिया अनुपस्थित हुनुभएको बताइन्छ । प्रेस चौतारीका पूर्व अध्यक्षहरू बालकृष्ण चापागाईं र शम्भु श्रेष्ठ दुवैजनाको अनुपस्थिति थियो ।
बिहीबारको कार्यक्रमलाई प्रेस चौतारीले देशव्यापी रूपमा संगठन विस्तारको नाममा विभिन्न गतिबिधि सञ्चालन गरिरहेको अभियानको रूपमा लिएको आयोजकहरूले नै बताएका छन् ।
टिप्पणीहरू