आए नयाँ न्यायाधीश

आए नयाँ न्यायाधीश

प्रधानन्यायाधीश नेतृत्वको न्यायपरिषद्ले हिजो तीन वटा उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गरेको छ । सोहीक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई समेत प्रधानन्यायाधीशको रोलक्रममा चढ्ने गरी मुख्य न्यायाधीश बनाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको चाहना निरौलालाई सर्वोच्चकै न्यायाधीश बनाउने थियो । तर, परिस्थितिले साथ नदिएपछि तत्काललाई पुनरावेदन अदालत दिपायलमा मुख्य न्यायाधीश बनाइएको हो । अब उनले पुनः दुर्गममा सरूवा भएर जानुनपर्ने भएको छ ।

यसअघि सर्वोच्चकै मुख्य रजिष्ट्रार नहकुल सुवेदी पनि उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए । सुवेदी अहिले उच्च अदालत सुर्खेतमा कार्यरत छन् । वरिष्ठता र रोलक्रममा अब सुवेदी तीन नम्बरमा र निरौला सात नम्बरमा परेका छन् ।

नियमानुसार नहकुललाई सर्वोच्चमा न्यायाधीश हुनको लागि अझै तीन वर्ष कुर्नुपर्छ । तर,निरौलाको विशिष्ट श्रेणीको कर्मचारीमा सेवा अवधि १२ वर्ष पुगिसकेकाले जुनसुकै बखत सर्वोच्चको न्यायाधीश हुन सक्छन् । सुवेदीको विशिष्ट श्रेणीमा १२ वर्ष पुगेको थिएन,त्यसैले उच्च अदालतको मुख्य न्यायाधीशमा कम्तिमा पाँच वर्ष बस्नुपपर्ने हुन्छ ।

परिषद्ले उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेललाई त्यहिँको मुख्य न्यायाधीश बनाएको छ । उच्च अदालत तुल्सीपुरका कायममुकायम मुख्य न्यायाधीश नीता गौतम दिक्षितलाई पनि तुल्सीपुरकै मुख्य न्यायाधीश बनाइएको छ ।

अब सर्वोच्चको मुख्य रजिष्ट्रार लालबहादुर कुँवर हुनेछन् ।

टिप्पणीहरू