सहकर्मीहरूको छाला काढ्ने राजनीति

सहकर्मीहरूको छाला काढ्ने राजनीति

नेपालको राजनीतिमा हुनु नपर्ने घटना भएको छ । पाँच वर्षका लागि भनेर मत मागिएको थियो । सोहीअनुसार जनताले मतदान गरेका थिए । अस्थिरता खेपेका थिए त्यस्ता अस्थिरता अब भोग्न नपरोस् भन्ने सबैलाई लागेको थियो । कसैले पनि तत्काल निर्वाचन चाहेको थिएन । यतिवेला सरकार सञ्चालनका लागि सजिलो भएन भनेर संसद भंग गर्ने काम भएको छ ।

निर्वाचन हुन्छ कि हुँदैन ? त्यो अर्को विषय हो । निर्वाचन होला । निर्वाचन गर्न सकिएला । ०६१ सालमा राजा ज्ञानेन्द्रले पनि जनताको संसद् भंग गरेर शासन सत्ता आफ्नो हातमा लिई ०६२ सालमा निर्वाचन घोषणा गरेका थिए । जसमा राजनीतिक दलले कुको संज्ञा दिएका थिए । राजनीतिक दलले निर्वाचनमा भाग लिए । निर्वाचन भएको थियो तर त्यो निर्वाचनले स्थायित्व दिएको थिएन । निर्वाचन हुनु र गर्नु एउटा कुरा हो । निर्वाचन केका लागि गर्ने ? कसरी गर्ने ? निर्वाचन केका लागि गर्ने भन्ने कुरा ठूलो हो । मिल्दासम्म चाट्ने जब मन मिल्दैन तब गाली गरेर समाप्त पार्ने ध्याउन्न । प्रधानमन्त्रीको मात्रै कुरा होइन कि अरूले पनि यस्तै गरिरहेका छन् । एकले अर्कोलाई जसरी गाली गरिरहेका छन् ती गालीले के सन्देश दिइरहेको छ ? ती गालीले कस्तो संस्कार विकास गरिरहेको छ ।

राजनीति गर्नु एउटा कुरा तर राजनीतिक संस्कार अर्को कुरा । राजनीतिमा यतिवेला जो–जो व्यक्ति हाबी भइरहेका छन् ती करिब तीन दशकदेखि सत्तामा छन् । राजनीतिमा सक्रिय रहेको यो पुस्ताले कस्तो सन्देश दिइरहेको छ ? राजनीति भनेको फोहोरी खेल हो के जनताले राजनीतिलाई फोहोरी खेल बनाएका हुन् ? राजनीतिलाई फोहोरी खेलको रूपमा राखिरहने कि ? राजनीतिलाई स्वच्छ बनाउने ?

देशमा विकास भएन, राजनीतिक स्थिरता भएन, समृद्धि भएन, संविधानमा सबैका कुरा लेखिएनन् । संविधानमा जनताका कुरा लेखिएनन् भनेर नै संविधानसभाबाट संविधान लेखिएको हो ।

यतिवेला म मात्रै ठीक अरू सबै बेठिक भनेर प्रमाणित गर्नका लागि न्वारानदेखिको बल लगाउने काम भइरहेको छ । खनेपालमा अहिलेको पुस्ताले जे परिवर्तन गरेर भावी पुस्तालाई दिएको थियो त्यसलाई अझै समृद्ध गरेर दिनुपर्ने थियो । बडो दुःखले ल्याएको परिवर्तनलाई कसैले पनि नामेट पार्न सक्दैन । मुलुक अघि बढिसकेको छ । परिवर्तनका पाइलालाई पछि फर्काउने काम कसैले गर्छ भने त्यो पनि सम्भव हुने कुरा होइन ।

अब समृद्धिको नेतृत्व गर्ने जिम्मेवारी पछिल्लो पुस्ताले पाउनुपर्छ । आजसम्म जे जस्ता परिवर्तन गरियो त्यसका लागि पुरानो पुस्तालाई धन्यवाद भनेर राजनीतिबाट बिदा दिनै पर्छ । राजनीतिक संस्कार नभएका नेताले राजनीतिबाट बिदा लिनै पर्छ । राम्रो राजनीतिक संस्कार विकास गर्न नसक्दा त्यसले दीर्घकालीन रूपमा पार्ने असरबारे गम्भीरता नदेखाउने नेतृत्वले बिदा लिन सक्यो भने मात्रै मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि, न्याय, समानता, भ्रष्टाचार अन्त्य हुन सक्नेछ । होइन भने ७० वर्षदेखि नेपालको राजनीतिमा देखिएको गोलचक्कर अझै कति वर्ष जाने हो भन्न सकिँदैन ।

टिप्पणीहरू