कालिबहादुर खामले भने ‘बालुवाटार गएको हुँ,ओली समूहमा होइन’
गत शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध सकिएपछि माओवादीमा आवद्ध केही कार्यकर्तालाई भेटेर आफ्नो बनाउनुभयो । एकैसाथ ठूलो संख्यामा पूर्वमाओवादीका नेता तथा कार्यकर्ता तानेर प्रचण्डमाथि दबाव बढाउने रणनीतिअनुरूप उक्त कार्यक्रमको आयोजना गरिएको थियो । जनमुक्ति सेनाका पूर्वडिभिजन कमाण्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकुलाई टिका लगाइदिने योजना थियो । तर,पहिले नै भेटिसकेका खाम त्यो दिन फेरि बालुवाटार नगएपछि उहाँको रणनीति थोरै फेरिएको विश्लेषण गर्न थालिएको छ ।
स्रोतका अनुसार बालुवाटारसँगको ‘बार्गेनिङ’ नमिलेपछि खाम ओली समूहमा तत्काल नटाँसिने निश्कर्षमा पुगेका छन् । पूर्वजनमुक्ति सेनालाई एकीकृत गरेर आफूतिर तान्ने योजना सफल नहुने देखिएपछि स–साना समूहलाई एकीकृत गर्ने योजनामा प्रधानमन्त्री निकट पक्ष लागेको तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर सरल सहयात्रीले बताउनुभयो । ‘अहिले पूर्वजनमुक्ति सेना भनेर बालुवाटारले चर्चामा ल्याएका लीलबहादुर थापा र लेनिन बिष्टले कहिल्यै जनयुद्ध लडेका छैनन् । लीलबहादुर शान्ति प्रक्रियापछि जनमोर्चाबाट आएका हुन् । लेनिन विष्टका बारेमा सबैलाई थाहा छँदैछ । त्यसैले यो अनावश्यक हल्ला हो । यथार्थ निकै फरक छ,’ उहाँले भन्नुभयो ।
यद्यपि पूर्वमाओवादीहरूलाई एकीकृत गर्ने र एकै ठाउँमा रहने अवस्था निर्माणका लागि नेताहरूले सोच्नुपर्ने बेला आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘को कहाँ गयो भन्ने कुरा त्यति महत्वपूर्ण हो जस्तो लाग्दैन । मुख्यतः भावना हो । पूर्वमाओवादी छिन्नभिन्न हुनुहुँदैन । यसप्रति नेताहरू गम्भीर बन्नैपर्छ ।’ प्रधानमन्त्री ओली माओवादी जनयुद्धको सदाबहार आलोचकका रूपमा चिनिनुहुन्छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुपूर्व उहाँ जनयुद्ध,माओवादी नेता तथा कार्यकर्ता र जनयुद्धसँग सम्बन्धित हरेक पक्षमाथि तिखो प्रहार गर्नुहुन्थ्यो । दुई पार्टीको एकता गर्ने क्रममा राजनीतिक र वैचारिक कुराहरू आंशिक मिलाइएका थिए,केहीलाई मिल्काइएको थियो । तत्कालिन एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादीले अवलम्बन गरेको २१ औँ शताव्दीको जनवादलाई थाति राखेर जनताको जनवादलाई नेकपाको कार्यनीति बनाउन ओलीसमेत सहमत हुनुभएको थियो ।
नेकपा विभाजनका अन्य धेरै कारणमध्ये वैचारिक पनि एउटा भएको सरल बताउनुहुन्छ । पछिल्ला दिनहरूमा ओलीले जबजलाई नै जबर्जस्ती नेकपाको कार्यनीति भन्दै मदन भण्डारी फाउण्डेसनका नाममा देशभर कार्यक्रम गर्न थालेपछि विवाद चुलिएको उहाँको बुझाई छ । ‘पार्टी र नेताका कुरा छाडौं । कसैलाई कोहि मन पर्ला वा नपर्ला फरक कुरा भयो । तर ओलीजी त जनयुद्धकै विरोधी मान्छे हो । यो कुरा सबैलाई थाहा छ । यी सबै कुरा बुझ्दाबुझ्दै पनि साथीहरू किन पछि लागेका हुन् बुझिनसक्नु छ ।’
ओलीले केही समय पहिले जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गरेको प्रसङ्ग उल्लेख गर्दै सरलले जनयुद्ध लडेका माओवादीलाई ओली समूहमा जाने बाटो बन्द भैसकेको बताउनुभयो । ‘केही स्वार्थका लागि गए होलान् तर जनयुद्ध लडेका योद्धाहरू ओली समूहमा अटाउँछन् भन्ने मलाई लाग्दैन,’ उहाँले भन्नुभयो ।
ओली समूहमा लागेका छैनौँ : बिष्ट
तत्कालीन माओवादी लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित वालसेनाको संगठन केपी ओली समूहमा समाहित भएको बालुवाटार निकट मिडियामा गरिएको प्रचारको बहिर्गमित वाल सैनिक संगठनका लेनिन बिष्टले खण्डन गरेका छन् । बिष्टले प्रधानमन्त्री ओलीसँग भेटघाट भएको तर बाहिर प्रचार गरिएजस्तो सो समूहमा प्रवेश नगरेको प्रस्ट पारेका हुन् । उनले भनेका छन् ‘प्रधानमन्त्री पद सबैको साझा भएको र सबै जनताको केन्द्रविन्दु भएकाले प्रधानमन्त्रीज्यूको आग्रहमा हामी बालुवाटार गएका थियौं ।’ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटघाटले धेरैलाई भ्रम पारेको भन्दै उनले विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरेको बताएका छन् ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमपछि विभाजित नेकपामा ओलीपक्ष तुलनात्मकरूपमा कमजोर देखिएको छ । बहुमत केन्द्रीय सदस्य प्रचण्ड–माधव समूहमा लागेपछि ओली समूह केही रक्षात्मक अवस्थामा पुगेको हो । त्यसैले उक्त समूह पूर्वमाओवादीका कार्यकर्ता तान्ने अभियानमा लागेको आरोप लाग्दै आएको छ ।
टिप्पणीहरू