पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो: अहिले नै तीस करोड दिने आदेश

पशुपति पुग्नासाथ प्रधानमन्त्रीको मन पग्लियो: अहिले नै तीस करोड दिने आदेश

मुलुकमा राजनीतिक संकट गहिरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपति दर्शनमात्रै गर्नुभएन, त्यहाँस्थित शिवलिंगमा सुनको जलहरी राख्नका निम्ति ठाउँको ठाउँ ३० करोड रुपैयाँ लेखेरै दिनुभएको छ ।

राजनीतिकबृत्तमा फरक आशंकाका साथ हेरिँदै आएको पशुपतिको पूजा अर्चनाका क्रममा उहाँले शुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ति बालेर रुद्री पूजा गर्नुभयो । अनि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई सोध्नुभयो, ‘यहाँ सुनको जलहरी राख्ने कुरा के भयो ?’ प्रदीपले जवाफ दिए, ‘अझै ३० करोड जति पुग्दैन हजुर !’ अनि, प्रधानमन्त्रीले नजिकै रहेको आगन्तुक पुस्तिका तान्नुभयो र संस्कृति मन्त्रीका नाममा आदेश लेख्नुभयो, ‘यस वर्षको शिवरात्रिभित्र जडान गर्ने गरी ३० करोड रुपैयाँ तुरुन्त निकासा दिने !’ अनि, भन्नुभयो, ‘यो पैसा तुरुन्तै आउँछ ।’ प्रधानमन्त्रीले लेख्नुभएको उक्त ठाडो आदेशको सक्कल प्रति सदस्य सचिव ढकालसँग सुरक्षित छ ।

अहिलेसम्म शिवलिंगमा चाँदीको जलहरी छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राख्न कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाएको एक वर्ष पुग्न लागेको छ । यो समिति बनाउँदासम्म त्यस्तो काम सम्पन्न गर्न ९२ करोडको हिसाब अनुमान गरिएको थियो । त्यसमा कालिगढको खर्च र १८ या २४ क्यारेटको हिसाब जोडिएको छैन । कोषको सञ्चालक परिषद्ले एक वर्षअघि यो काम सम्पन्न गर्नलाई कार्यविधि पनि बनाइसकेको थियो । गत वर्ष शिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न पुग्नुभएकी राष्ट्रपति विद्या भण्डारीलाई यो कुरा सुनाइएको थियो । तर, कोषले प्रधानमन्त्रीलाई कुरा सुनाउने मौकै पाएको थिएन । तर, सोमबार बिहानको पूजाका क्रममा प्रधानमन्त्री आफैँले सोधेपछि एकैपटक ३० करोड आम्दानी भएको छ । त्यहाँका स्थानीयले यति खर्चिलो जलहरी राख्ने कुराको विरोध गर्दै आएका छन् । गत वर्ष सुनको जलहरी राख्ने कुरा निस्कनासाथ त्यहाँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद नरोत्तम वैद्यले ‘नाङ्गा भगवानलाई किन सुनको जलहरी ?’ भन्दै विरोध गरेका थिए । सोमबार प्रधानमन्त्रीले ३० करोड रुपैयाँ दिने लिखित प्रतिवद्धता जनाएपछि आज बुधबार कोष सञ्चालक परिषद्को बैठक बसेर संस्कृति मन्त्रालयसँग उक्त रकम माग गरिने र आउँदो मन्त्रिपरिषद्को बैठकबाट सो रकम स्वीकृत गरी तत्काल निकासा दिने प्रक्रिया पनि थालिएको पशुपति विकास कोषस्रोतले जनाएको छ ।

धार्मिक मान्यताअनुसार, सुनको शिवलिंग पूजा गर्दा शिव साधकलाई समृद्धि प्राप्त हुन्छ । चाँदीको शिवलिंग पूजा गर्दा भने घरमा धनको भण्डार हुने विश्वास गरिन्छ । अनि, पित्तलको शिवलिंगले भक्तको दरिद्रता नष्ट गर्ने मान्यता राखिन्छ । यसमध्ये प्रधानमन्त्रीले त्यहाँ विद्यमान दोस्रो स्थिति (धन भण्डार हुने चाँदी) को जलहरी हटाएर समृद्धि प्राप्त हुने सुनको जलहरी रोज्नुभएको हो । जबकि, देशमा अहिले पैसाकै कारण कोभिडको पर्याप्त भ्याक्सिन आउन सकेको छैन । थुप्रै विकास आयोजनाहरु आर्थिक कारणले रोकिएका छन् । मुलुकको निर्माण र जनताको समृद्धिका लागि खर्च गर्नुपर्ने अनेकन शीर्षकका आयोजना बिचल्लीमा परिरहेको बेला भौतिकवादी राजनीतिक दर्शनका पक्षधर प्रधानमन्त्रीले भगवानको मन्दिरमा पैसा चढाउनुले राजनीतिक विचलन प्रष्ट्याएको टिप्पणी उहाँको सोमबारको व्यवहारबाट गरिँदै आएको छ ।

उहाँ त्यहाँ पुग्दा प्रायः नखुल्ने पशुपतिको दक्षिण ढोका खोलिएको थियो । पलेँटी कसेर बस्नुभएका प्रधानमन्त्रीले रुद्री पूजाका सम्पूर्ण धार्मिक विधि पालना गर्नुभयो ।

बालुवाटारस्रोतका अनुसार, अब केही दिनमै उहाँले चितवनको ठोरीमा राम मन्दिरको शिलान्यास गर्दै हुनुहुन्छ । यस्तोखाले धार्मिक सक्रियताबाट हिन्दू राज्य पक्षधर र राजाप्रति आस्था राख्ने मानिसहरुको सहानुभूति बटुल्ने रणनीति उहाँले अख्तियार गरेको चर्चा राजनीतिक बृत्तमा छ ।

टिप्पणीहरू