पार्टी सकभर मिलाउने अभियान

पार्टी सकभर मिलाउने अभियान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान” घोषणा सभा गर्नुभएको छ । बुधबार ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा उहाँ मध्यमार्गी भएर खुल्नुभएको हो । घोषणा सभामा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हिरा महर्जन,केन्द्रीय सदस्यहरु हरिप्रसाद पराजुली,बाबुराम थापा,निवर्तमान सांसद तुलसी थापा गौतमलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको छ ।

घोषणा सभालाई सम्बोधन गर्दै गौतमले नेकपा विभाजन हुनुमा प्रचण्ड र केपी ओली बराबर दोषी रहेको बताउनुभयो । उहाँले प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाउन खोज्नु र ओली पक्षले त्यसबाट बच्न प्रतिनिधिसभा भंग गर्नु नै पार्टी विभाजनको मूल कारण ठहर गर्दै दुवै पक्षलाई बराबर दोष दिनुभएको हो । “सबैभन्दा राम्रो उपाय त ओलीले राजीनामा दिनुपर्थ्यो ।” उहाँले जोड दिनुभयो ।

प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री ओलीको इज्जत बढ्ने र पार्टी पनि विभाजनमा नपुग्ने दावी गर्दै गौतमले आफ्नो अभियानको उद्धेश्य नयाँ पार्टी बनाउने नभई विभाजित नेकपालाई एकीकृत गर्नेमा केन्द्रित रहेको बताउनुभयो । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ उहाँले दावी गर्नुभयो ।

सो अवसरमा उपाध्यक्ष गौतमले राष्ट्रिय एकता अभियानको अवधारणापत्र समेत सार्वजनिक गर्नुभएको छ। सात पृष्ठ लामो अवधारणापत्रमा पार्टी एकतादेखि विभाजनसम्मको स्थिति,पुन: एकताको आवश्यकता र औचित्यबारे प्रष्ट पारिएको छ । अवधारणापत्रमा एकता प्रक्रियाको अवधिमा पालना गर्नुपर्ने आचार संहिता,अभियानको संगठनात्मक संरचना,संगठन संचालन सम्बन्धी नियम मुख्य कार्यभार लगायतका विषय समेटिएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो । बहुमत केन्द्रीय सदस्यसहित एउटा पक्षको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्नुभएको छ भने अर्को पक्षको नेतृत्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गर्नुभएको छ। फुटपछि दुवै पक्षमा नलाग्नुभएका गौतमले भने शुरुदेखि ओलीबाट अपमानित हुँदै र प्रचण्ड-नेपाल खेमाबाट स्नेह पाउँदै आउनुभएको छ ।

 

टिप्पणीहरू