कस्ता कस्ता मान्छे कमरेडमा फेरिए !
“दु:ख पाइस् मंगले, आफ्नै ढंगले’ भन्ने नेपाली उखान अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिसंग ठ्याक्कै मिलेको छ। ओलीले छँदाखाँदाको संसद विघटन गरेपछि नेकपा फुट्यो । ओलीको हातमा न संसद रह्यो न सिंगो पार्टी । बरु केन्द्रीय समितिका झन्डै दुई तिहाई सदस्य अर्को पक्षमा लागे ।
१० लाख पार्टी सदस्य रहेको बलियो पार्टी विभाजन भएपछि ओलीलाई अहिले ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाउको अनुहार’ भनेजस्तै भएको छ । पार्टी विभाजनले ओली पक्ष कति रन्थनिएको रहेछ भन्ने कुरा पार्टी प्रवेश गराउने नाममा उसले गरिरहेका गतिविधिले प्रष्ट पार्छ । प्रचण्ड-नेपाल पक्षका नेता-कार्यकर्ता तान्न गरेको कसरत कामयाव नभएपछि ओली समूह अहिले राजावादी, पूर्वपन्च, फौजदारी कसुर लागेका, कट्टर हिन्दुवादी लगायत ‘डेट एक्स्पाएर’ हरुलाई भित्र्याउन कम्मर कसेर लागेको छ ।
मंगलबार ओली समूहले खुङ्खार राजावादीका रुपमा चिनिएका नुवाकोटका कमानसिंह लामालाई बालुवाटारमा रातो कार्पेटले स्वागत गर्नुले पनि जे जस्तो होस् छोड्नु हुँदैन भन्ने मनस्थितिमा रहेको बुझ्न सकिन्छ । लामा २०६२ सालमा ज्ञानेन्द्रले गराएको निर्वाचनमा कुनै पनि पार्टी सहभागी नभएपछि विदुर नगरपालिकाको मेयर बनेका पन्च हुन् ।
लामालाई प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका रामबहादुर बम्जनको चेला पनि भनिन्छ । गाउँमा कसैले पनि नपत्त्याएका लामालाई भित्र्याएर बालुवाटारले भने ठूलै ‘मुर्गा’ हात पारे झैँ खुसियाली मनाएको भन्दै सामाजिक सञ्जालमा व्यंग गर्नेहरु धेरै छन् । कमानसिंहलाई वीचमा पारेर ओलीका दुई विश्वासपात्र सुवास नेम्वाङ र विष्णु रिमालले खिचेको फोटो अहिले सामाजिक संजालमा भाइरल बनाइएको छ र कमानसिंहलाई पार्टीमा हुलेपछि आगामी निर्वाचनमा दुई तिहाइ मत पक्का हुने जसरी प्रचार गरिँदै छ ।
त्यतिमात्र हैन, कमानसिंहमाथि ठगीको आरोप पनि छ। विदेश पठाइदिने भन्दै नुवाकोटकै एक महिलाले आरोप लगाएकी छिन् । ती महिलालाई बेलायत पठाइदिने भन्दै गत वर्ष लामाले ९ लाख ५२ हजार कुम्ल्याएर अलपत्र पारेको घटना त्यतिबेलै सार्वजनिक भएको थियो । लामाले पैसा फिर्ता माग्दा उल्टै थर्काएको उनले आरोप लगाएकी थिइन् ।
पार्टी फुटेपछि नेता-कार्यकर्ता जोगाउन डेढ हजारको जम्बो केन्द्रीय समिति बनाएको ओलीपक्ष अर्को पार्टीका नेता-कार्यकर्ता तान्न जोरजुलुम गरिरहेकै छ । पूर्व जनमुक्तिसेनाका कमाण्डर कालीबहादुर खामसहित ठूलो संख्यामा पूर्व लडाकु भित्र्याउने योजना सफल नभएपछि प्रत्येकलाई फोन गरेर फकाइरहेको बताइन्छ । त्यसो त बालकृष्ण ढुंगेलहरु अहिले ओलीका खास मान्छे बनेका छन्। कालीबहादुरले पनि बालुवाटारको रातो कार्पेटमा पाइला टेके भने अचम्म नमाने हुन्छ ।
टिप्पणीहरू