तरुण दलद्वारा हत्यारालाई कारबाहीको माग

तरुण दलद्वारा हत्यारालाई कारबाहीको माग

बझाङको छबिसपथिभेरा गाउँपालिकामा भएको आफ्ना सदस्य अमृत सिंहको हत्यामा संलग्नहरूमाथि आवश्यक छानबिन र कारबाहीको लागि नेपाल तरुण दलले माग गरेको छ । सिंहको सोही गाउँपालिकास्थित बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनपछि घर फर्कने क्रममा मंगलबार हत्या भएको हो ।

हत्यामा संलग्न भएको आरोपमा वडा नं. ३ का अध्यक्ष विकास ऐडीसहित ज्ञानबहादुर कडायत र प्रकाश ऐडीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको अध्यक्ष ऐडीले चढ्ने गरेको सरकारी मोटरसाइकलसमेत बरामद गरिएको बताइएको छ ।

दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतद्वारा हस्ताक्षरित प्रेस विज्ञाप्तिमा हत्यामा संलग्नहरूलाई छिटोभन्दा छिटो कानुनको कठघरामा उभ्याई कडा कारबाहीको माग गरिएको छ । साथै,शान्ति सुरक्षा र सामाजिक अमनचयन कायम गरी जनताको शान्तिपूर्ण तवरले बाँच्न पाउने संवैधानिक हकको सुनिश्चितता गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।

तरुण दलले चेतावनीको शैलीमा भनेको छ ‘अन्यथा,आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न आफूहरू बाध्य हुने र परिस्थितिको जिम्मेवार सरकार नै हुनुपर्छ ।’

टिप्पणीहरू