नेपालका पत्रकारले पनि जासुसकै काम गर्ने हो त !

नेपालका पत्रकारले पनि जासुसकै काम गर्ने हो त !

– अनिल शर्मा ‘विरही’

नेपाली सञ्चारले नागरिक स्वतन्त्रता र राष्ट्रिय स्वाधिनताको पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । राज्यको निरंकुश चरित्रलाई नियन्त्रण गरेको छ र जनतालाई बलियो बनाउने कार्य गरिरहेको छ । यो विचारधारात्मक, ज्ञानात्मक र सौन्दर्यात्मक दृष्टिले विकल्पहीन स्रोत हो । यति हुँदाहुँदै नेपाली सञ्चारका जटिल चुनौती र समस्या पनि छन् । यसले निभाउन नसकेको धर्म (कर्तव्य) के कस्ता छन् त ?

सञ्चारको मुटु भनेको सम्पादकीय स्वतन्त्रता नै हो । विचार, राजनीति र आर्थिक स्रोतले सञ्चारको स्वतन्त्रतामा अंकुश लगाउने गर्दछ । लगानीकर्ता, विज्ञापनदाता वा सञ्चारगृहको आर्थिक पक्षको स्वार्थअनुसार सम्पादकीय समूह वा टोलीलाई विचार, धारणा, लेखन पक्षधरता वा दृष्टिकोण ढाल्न दबाब पर्छ । त्यसो गर्न नचाहने सम्पादक बेदखल गरिन्छ । केही वर्षअघि वरिष्ठ पत्रकार युवराज घिमिरेले सत्तारुढ दल, १२ बुँदे सहमति, गणतन्त्र र नेपाल–भारत सम्बन्धको विषयमा फरक विचार प्रवाह गर्दै आएका थिए । उनीसम्बद्ध अखबारका लगानीकर्तामाथि घिमिरेलाई बर्खास्त गर्न विज्ञापनदाता र सरकारको दबाब परिरहेको चर्चा भइरहेको थियो । त्यसैक्रममा अकस्मात घिमिरेले आफूसम्बद्ध अखबार छोडे । यसप्रकारको स्थिति नेपालका सबै सञ्चारगृहमा रहेको छ । लगानीकर्ता वा विज्ञापनदाताको छायाँले टाक्सिएको सञ्चारगृहले स्वतन्त्रतापूर्वक सामग्री पस्कन सक्दैन । वास्तविकता के छ भने सम्पादकको स्वतन्त्रता लगानीकर्ताको खोरभित्र विचरण गर्न पाउने नियन्त्रित स्वतन्त्रता हो । यस विषयमा नेपाली सञ्चारमा त्यति बहस नै भएको देखिन्न ।

कलाकारको भेषमा शाही सेनाका गुप्तचर पुष्टि भएपछि उनको ‘कला–शक्ति’ ध्वस्त भयो ।

विश्व राजनीतिमा स्वार्थ समूहको प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धा बेला–बेला युद्धमा प्रकट हुन्छ । अमेरिका–इराक युद्ध त्यस्तै घटना थियो । हतियार उत्पादक र सञ्चार जगतको संयोजनमा सो युद्ध भएको थियो । युद्ध शुरु हुनुभन्दा अगाडि नै समाचार संकलन कसरी गर्ने भनेर अमेरिकी सेनाले सञ्चारकर्मीलाई तालिम दिएको थियो । बिबिसीलगायतले स्वतन्त्र विश्लेषण गर्ने नीति लिएका थिए भने अलजजिराले पीडित देश इराकको चश्माले हेरेको थियो । सो युद्धमा नेपाली सञ्चारको आफ्नो दृष्टिकोण देखिएन । अमेरिकी संस्थापन पक्षले प्रवाह गरेका समाचार नै नेपाली सञ्चारका स्रोत र आदर्श थिए । इराकमा कुनै आमविनाशका हतियार थिएनन् र जति समाचार आए ती सबै नक्कली थिए । विश्वका यस्ता पेचिला घटना र प्रवृत्तिप्रति नेपाली सञ्चारको मौलिक र स्वतन्त्र चिन्तन कमजोर छ । ‘जसोजसो बाहुन बाजे, उसैउसै स्वाहा’ भनेझैं शक्तिकेन्द्रको इशारामा (अप्रत्यक्ष नै किन नहोस्) चलिरहेको छ । नेपाली समाजको मानवीयताको बहस गर्दा इराकी निर्दोष नरनारीको मानवीयताले छोएन । मोहनजोडदो र हरप्पा सभ्यताको विरासत, प्राचीन पुस्तकालय र संग्रहालयमा आगजनी सभ्यताको लडाइँ होइन भन्ने आँट गरिएन । सत्ताधारी प्रलोभन र दबाबमा परेर तटस्थता र स्वतन्त्रता गुमाउने गरिएको छ ।

सेनाले आफ्नो पोशाकसँग मिल्ने लुगा नागरिकलाई लगाउन दिँदैन भने पत्रकारको लोगो भिरेर गुप्तचरी पेशा गर्न पाइन्छ ?

२०४८ सालको कुरा हो, कालीमाटी इप्रकाका एकजना जवान रत्नराज्य क्याम्पसमा पत्रकारिता पढ्दै थिए । उनी समाचारपत्रमा पनि काम गर्थे र ‘प्रहरी स्तम्भ’ हेर्थे । प्रहरीमा बहालवाला ‘दो तनखे’ पत्रकारले बनाउने समाचार कसरी तथ्यपरक हुनसक्थ्यो ! त्यो त प्रायोजित–निर्देशित समाचार पो भयो होला । त्यसप्रकारको समस्या आज पनि यथावत छ । जनयुद्धको समय थियो । सरकार नियन्त्रित नेपाल टेलिभिजनमा ‘हिजोआजका कुरा’ टेलिशृंखला चल्थ्यो । कलाकार सन्तोष पन्त लोकप्रिय थिए । जनयुद्धको विरुद्ध जनमत बनाउनु, त्यसको विद्रूपीकरण गर्नु उनको मुख्य धर्म देखिन्थ्यो । एउटा कलाकारभन्दा फरक शाही सेनाको प्रवक्ताजस्तो भूमिका थियो । माओवादीले अनुसन्धान ग¥यो र सार्वजनिक गर्‍यो कि उनी त शाही सेनाका सुवेदार रहेछन् । कलाकारको भेषमा शाही सेनाका गुप्तचर पुष्टि भएपछि उनको ‘कला–शक्ति’ ध्वस्त भयो । त्यसप्रकारका अनेक ‘दो तनखे’ नेपाली सञ्चारमा अनेक रुपमा घुसेका छन् । आस्था अलग विषय हो भने ‘दो तनखे’ प्रवृत्ति अलग हो । पत्रकार देख्नासाथ सेना, प्रहरी वा कुन देशको दूतावासको कर्मचारी हो भनेर आशंका गर्नु नपर्ने परिस्थितिको रक्षा आवश्यक छ । यो विषयमा अपेक्षित छलफल नै भएको छैन ।

नेपाली सञ्चारको स्वतन्त्र र तटस्थ कर्म तथा जनविश्वासको सन्दर्भ कोट्याउँदा भारतीय गुप्तचर संस्था ‘र’ का पूर्वनिर्देशक वी. रमनको पेरिस यात्रा रोचक छ । जसलाई पत्रकारको परिचय घाँटीमा भिरेर ‘पठाइएको’ थियो । रमन भन्छन्, ‘म त्यहाँ एउटा इण्डियन पत्रिकाको पत्रकारको रुपमा गोप्य रुपमा बस्नुपर्ने पनि काओले निर्णय गरे ।’ यसरी आफ्ना निर्देशक रामेश्वरनाथ काओको निर्देशनमा रमन पत्रकार बनेर पेरिस जाँदै थिए । यसर्थ पत्रकारमाथिको दमन र गुप्तचर निकायबीचको टक्कर घालमेल पारिएको छ । जसको कारणले वास्तविक सञ्चारकर्मी मर्कामा परेका छन् । उनीहरूको परिश्रम र इमान शंकाको घेरामा छ । फौज, विद्यालय, धर्म, देश कसैले पनि अर्काको पोशाक र झण्डा प्रयोग गर्न पाउँदैन । त्यो नैतिक विषय पनि होइन । नेपाल रेडक्रस सोसाइटीले केही वर्षअघिदेखि अस्पतालहरूलाई आफ्नो लोगो प्रयोग गर्न रोकेको छ । सेनाले आफ्नो पोशाकसँग मिल्ने लुगा नागरिकलाई लगाउन दिँदैन भने पत्रकारको लोगो भिरेर गुप्तचरी पेशा गर्न पाइन्छ ? यो समस्या समाधान गर्न नसक्दा कैयौं इमान्दार सञ्चारकर्मीको ज्यान जोखिममा परेको छ । सत्ताधारीको आलोचना गर्नासाथ आरोपित गर्न सजिलो छ । त्यसकारण यस विषयमा नेपाली सञ्चारका माउ संगठनले बहस चलाउन आवश्यक छ ।

स्वतन्त्र र तटस्थ सञ्चार हुन्छ भन्ने हो भने सञ्चारलाई सत्ता र शक्तिकेन्द्रको प्रचारयुद्धको औजार बन्नबाट पृथक राख्न आवश्यक हुन्छ । गुप्तचर संस्था ‘र’ ले सन् १९७१ मा पूर्वी पाकिस्तानमा पृथकतावाद प्रायोजन गर्दा सञ्चारमाध्यमलाई ‘एसल्ट ग्रुप’ मा राखेको थियो । त्यसबेला भारतले पूर्वी पाकिस्तानमा गरेका पाँचवटा काममध्ये दुईवटा सञ्चारसँग सम्बन्धित थिए । पहिलो– लडाकुहरूको पक्षमा जनमत सिर्जना गराउने, दोस्रो– पाकिस्तानी शासकहरूले पूर्वी पाकिस्तानमा गरेको नरसंहारको समाचार विश्वभर फैलाएर पाकिस्तानविरुद्ध मनोवैज्ञानिक युद्ध सञ्चालन गर्ने । गुप्तचर निकाय, सुरक्षाकर्मी र सञ्चारकर्मीको बीचमा भेद छ कि छैन ? अन्तर हुनुपर्छ कि पर्दैन ? यस्तो अवस्थामा पाकिस्तानले उसको अखण्डताको लागि सञ्चारमा अंकुश लगाउने अधिकार सुरक्षित गर्न पाउने कि नपाउने ? नेपाली सञ्चारमा यो बहस देखिन्न ।

नेपालको शान्तिप्रक्रिया भाँड्न नेपालकै एउटा सञ्चारगृहले नर्वे सरकार संरक्षित संस्थाबाट मोटो रकम लिएर उपद्रव मच्चाएको समाचार केही वर्षअगाडि छरपस्ट भएको थियो । त्यसलाई राज्यद्रोहकै रुपमा हेर्नुपर्छ । त्यसैगरी भारत–नेपाल नक्सा प्रकरण चर्किरहेको बेला एउटा दैनिक अखबारले नापी विभागको स्रोत भन्दै चीनले पनि नेपालको ठूलो भूभाग मिचेको समाचार सार्वजनिक ग¥यो तर त्यो समाचारको सत्यता पुष्टि भएन बरु भारतको अतिक्रमणलाई छायाँमा पार्न गरिएको नक्कली समाचार भन्ने पुष्टि भयो ।

निरंकुश शासकको बुट बज्रेको बेला सञ्चारले आवश्यक परेको खण्डमा बलिदान गर्न तयार भएर पनि स्वतन्त्र सञ्चारको रक्षा गर्नुपर्छ । पञ्चायती कालरात्रि र संकटकालमा आधारभूत रुपमा सञ्चारले त्यसो गरेको छ तर आफू समर्थित दल वा गुट सत्तारुढ रहँदा सञ्चारकर्मीको मुखमा बिर्को लाग्ने गरेको छ । त्यसले आत्मसमर्पणलाई बढाउँछ । अंग्रेजको विरुद्ध लडेको भारतीय सञ्चार इन्दिरा गान्धीको संकटकालरुपी निरंकुशता अगाडि टिकेन । त्यस प्रकारको अवस्थाको चित्रण गर्दै जनसंघका नेता लालकृष्ण आडवाणीले ‘इन्दिराले सञ्चारलाई झुक्न भनेकी थिइन् तर ती त लम्पसार परे’ भनेका थिए । २०४६ सालपछि कांग्रेस र २०७२ पछि दोब्बर नेकपानिकट कैयौं सञ्चारकर्मीहरूको मौनताको गन्तव्य लम्पसारवाद नै हो । स्वतन्त्र सञ्चारले त सत्ता र शक्तिमा रहेकाहरूसँग जवाफदेहिता र पारदर्शिताको माग गर्ने हो । नेपाली सञ्चारले यस दिशामा अझ धेरै काम गर्न बाँकी नै छ ।

टिप्पणीहरू