भुक्तानी आलटाल गर्ने अग्रवाल पक्राउ

भुक्तानी आलटाल गर्ने अग्रवाल पक्राउ

उखु किसानको करोडौ बक्यौता रकम भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवम् इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौ–११, त्रिपुरेश्वरस्थित घरबाट बुधबार पक्राउ गरेको हो ।

यसअघि २०७५ कात्तिकमा पनि उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका अग्रवालले त्यतिबेला आंशिक भुक्तानी गरेर उम्किएका थिए । बाँकी रकम भुक्तानी गर्ने शर्तमा उनी छुटेका थिए । दुई वर्ष बितिसक्दा पनि बाँकी रकम भुक्तानी नगरेपछि अग्रवालविरुद्ध किसानहरूले पुस ४ गते जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा किटानी जाहेरी दिएका थिए ।

सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले अग्रवालले तिर्नुपर्ने १७ करोडमध्ये १२ करोड ६३ लाख रूपैयाँ तिरिसकेको र अझै ४ करोड ३६ लाखभन्दा बढी रूपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिएका छन् । यसबाहेक उनले थप ३८ लाख रूपैयाँ भुक्तानी दिनसमेत बाँकी रहेको देखिनआएको छ । अग्रवालविरुद्ध ३१ जना उखु किसानले संयुक्त किटानी जाहेरी दर्ता गराएका छन् ।

चिनी मिल सञ्चालकले भुक्तानी नदिएको भन्दै उखु किसानहरू पटक–पटक आन्दोलन गरिरहेका छन् । पछिल्लो पटक मङ्सिर ३० गते सरकारले उखु किसानको भुक्तानी नदिने उद्योगीहरूलाई पक्राउ गरी रकम असुल्ने निर्णय गरेको थियो । तर, सरकारको उक्त निर्णय अहिलेसम्म कार्यान्वयन नभएको किसानहरूले गुनासो गरेका छन् ।

टिप्पणीहरू