गुमनाम हुनुभन्दा ‘बदनाम’ हुनु राम्रो होइन र कमरेड ?

– रुकुमबाट क.विभूषण

एउटा भनाइ सुनेको थिएँ, ‘नाम होस् या बदनाम तर गुमनाम नहोस् ।’ अहिले यही कथनसँग मेरो रुकुमले मेल खाएजस्तो लाग्छ । नाम कमाएका उपल्लो स्तरका नेता छन्, बदनाम बनाउने उनैका असली चेला छन् । केही प्रशंसायोग्य कुरा होलान्, बढी अपाच्य र अन्यायी गतिविधि क्रमैसँग छन् । केन्द्रीय स्तरमा जनार्दन शर्माले कमाएको प्रशंसा जिल्लाको हविगतले क्षणिक तुल्याइदिन्छ । उनैको पहलमा बजेटको ओइरो हुन्छ । उनैका मान्छेले विकासको नाममा खोइरो लगाउँछन् । फेरि उनै आफ्नालाई पूर्णतः इमान्दार पिछलग्गु बनाउनुपर्ने भएकैले बदमानीपूर्ण कदम उचाल्नुपर्छ । जातीयताको नाममा भएको सामूहिक हत्या, जनप्रतिनिधिबाटै प्रहरी चौकी हमला, दैनिकजसो कार्यकर्ता पोस्न खडा गरिने नक्कली फायल, ठेक्काको जिम्मा, कर्मचारीको नाममा कार्यकर्ताको भर्ती, फरक राजनीतिक आस्थाको आधारमा हुने आक्रमण, बहिष्करण, कर्मचारीमाथिको दबाबलगायत नियमितजसो हुने कामले रुकुमको नाम चर्चामै राख्ने कोसिस भइरहेको छ ।

रुकुम पश्चिमको जिल्ला सदरमुकामसँग जोडिएको राप्ती लोकमार्गमा सामान्य झरी पर्दा गाडी चढ्न सक्दैनन् । सदरमुकामभित्रै मुसिकोट नगरपालिकाको वरिपरि सडकमा खाल्डाखुल्डी र धुलोधुइरोको अवस्थाले जिल्लाको हविगत देखाउँछ । व्यवस्थित बसपार्क छैन, सडकको छेउघारी गाडी पार्किङ गरिएका हुन्छन् । यति र उति किमि ट्र्याक ओपन गरियो भनी समाचार छपाउँदै हिँड्छन् तर सोझा जनतालाई के थाहा गाडी नचल्ने, ट्र्याक्टरसमेत राम्रोसँग गुड्न नसक्ने ट्र्याकको कुनै अर्थ छैन भनेर । अझ महत्वपूर्ण कुरा जनताले यो बुझ्न जरुरी छ कि जनार्दन शर्मा र साना जनार्दन शर्माहरू पनि (गापा र नपा अध्यक्ष र प्रमुखहरू) किन सडकमा बढी बजेट विनियोजन गर्छन् ? किनकि सबै जनार्दनहरूका आ–आफ्ना डोजर छन्, अधिकांश जनप्रतिनिधि ठेकेदार र तस्कर छन् । सबैभन्दा सजिलोसँग कमिसन खान मिल्ने सडक क्षेत्र नै भएकाले गाउँ गाउँमा प्राकृतिक स्रोत, खेतीयोग्य जमिन र वनजंगल विनाश गर्दै पर्यावरणीय दृष्टिले हुने क्षतिको ख्यालै नगरी जनतालाई विकास ग¥याँै भन्ने भ्रम सिर्जना गर्न ट्र्याक ओपन गरिएको कुरा पनि हामीले भुल्न नहुने हो । राम्रोसँग थाहा छ कि मसँग गाडी चढ्नलाई चाहिने भाडा छैन, अर्थोपार्जन गर्न रोजगार छैन, ट्र्याक्टरसम्म मेरो गाउँको रोडमा गुड्दैन, गाडीभाडा नहुने मसँग बाइक किन्ने हैसियत त हुन सक्ने कुरै भएन (म प्रतिबिम्वको रूपमा प्रयोग गरिएको हो) । त्यसैले मलाई भन्दिनुहोस् त माननीय जनार्दन शर्माज्यू, त्यो रोडबाट मैले के लाभ लिने ? लाभ होइन हानि मात्रै भोगेको छु । सडकको लम्बाइ हेरेर विकासको मापन गर्ने तपाईंहरूजस्ता शासकको घृणित सोचको कारण गुणस्तरहीन सडकको यात्रा गर्नुपर्दा आँकडा त छैन तर कैयौं दाजुभाइ र दिदीबहिनीले अल्पायुमै जीवन गुमाएको विषय बिर्सनु हुँदैन ।

शैक्षिक अवस्था विकराल छ । शिक्षा क्षेत्रमा निजीकरण र व्यापारीकरण छ । माध्यमिक तहसम्म भन्दा उच्च शिक्षा हासिल गर्ने हैसियत सायद रुकुमका ९८ प्रतिशत जनताका छोराछोरीले राख्दैनन् । संविधानले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको ग्यारेन्टी गरेको छ तर ५ हजारभन्दा बढी बालबालिका महँगो शुल्क तिरेर निजी शैक्षिक संस्थामा अध्ययन गरिरहेका छन् । कक्षा ११ र १२ मा सामुदायिक विद्यालयले नै शुल्क लिइरहेका छन् । जहाँ तपाईंका साना जनार्दनले भर्ना गरेका शिक्षक र छानेका व्यवस्थापक छन् । म जस्ता किसानका, मजदुरका छोराछोरी पढ्न सक्ने हैसियतमा छैनन् । एसईई दिएका ५० प्रतिशतभन्दा बढी विद्यार्थी छिमेकी मुलुकमा श्रमको निम्ति गएको विषय हामीले देखिरहेकै छौँ । त्यसैले नेताका छोराछोरी अमेरिकामा पढ्दैमा शैक्षिक क्षेत्रको आमूल रूपान्तरण भएको मानिँदैन होला । सार्वजनिक शिक्षा प्रतिदिन कमजोर बन्दै गएको छ । पछिल्ला वर्षको माध्यमिक तहको रिजल्टको अवस्था हेरे हुन्छ । कक्षा १ मा भर्ना भएकामध्ये कक्षा १० सम्म पुग्दा ६० प्रतिशत विद्यार्थी सायद हराइसकेका हुन्छन् । र, कक्षा १० बाट ११ र १२ मा पुग्दा १० मा भएकामध्ये पुनः ५० प्रतिशत विद्यार्थी हराइरहेका छन् । तिनीहरू कहाँ र कुन अवस्थामा के गरिरहेका छन् कुनै मतलव छैन ।

हाम्रा दाजुभाइ र दिदीबहिनी सामान्यभन्दा ठूलो बिरामी परे उपचार गर्ने हैसियत राख्दैनन् । मिर्गौलासम्बन्धी रोग लागेकै कारण मृत्यु हुने मान्छे कति छन् कति † हाम्री छोरीबुहारी, दिदिबहिनी, आमा र भाउजूहरू सुत्केरी व्यथाको प्रसव पीडा खप्दै अत्यधिक रक्तस्राव भएर मृत्यु भएका खबर वर्षैपिच्छे सुनिरहेका छौँ । सस्तोलोकप्रियताका लागि आफ्नो नातागोता पर्ने, राजनीतिक पार्टीको कार्यकर्ता भए सुत्केरीको उद्धार गरेँ भन्दै हेलिकप्टर पठाउँछन् । खदी र गोतामका गरिबहरू, दलितहरू अस्पतालको प्रांगणसम्म देख्न नपाई मृत्युको मुखमा पर्छन् । काठमाडौंमा बिरामी आमा लिएर गएको रुकुमको एउटा गरिबको छोरो उपचार गर्न लाखौं खर्च गर्नुपर्ने अस्पतालले सुनाएपछि बिरामी आमालाई फर्काएर मृत्यु कुर्नेहरूलाई पनि सोध्न सकिन्छ । एउटा उदाहरण दिऊँ । ६ महिनाअगाडि त्रिवेणी गाउँपालिका–२ का २४ वर्षीय चित्रबहादुर बुढाथोकीको काठमाडौं टिचिङ हस्पिटलमा निधन भयो । केही वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार गरिरहेका थिए । भएको सम्पत्ति डाइलासिस गर्दागर्दै सकियो । मिर्गौला प्रत्यारोपण गर्न १५ देखि २० लाख लाग्ने अस्पतालले बताएको थियो । परिवारले सहयोगको निम्ति नगुहारेको कुनै नेता छैन, कुनै सरकारी कार्यालय छैनन् । मिडियासँग पहुँच भए पनि सायद समाचार बन्थ्यो होला, त्यो पनि बनेन । जनार्दनको कार्यकर्ता भए कतैबाट तानतुन पारेर उपचार हुन्थ्यो होला, त्यो पनि थिएनन् । उनी र उनको परिवार जनार्दनका सामान्य मतदाता थिए, त्यसैले उपचार पाएनन् र मृत्यु भयो । यस्ता चित्रबहादुरहरू रुकुममा हजारौं होलान् र छन् पनि । अझै कहिलेसम्म यस्ता ऊर्जावान युवाले अल्पआयुमै ज्यान गुमाउनुपर्ने हो त्यो थाहा छैन ।

भेरीबाट हुने गिट्टी र बालुवाको तस्करीबाट साना जनार्दनहरूले कमिसन लिन्छन् र चुनाव लड्ने खर्च उठाउँछन् । वनजंगल फँडानी गरी काठ तस्करी गर्नेहरू मेयर र अध्यक्ष बनेका छन् ।

यो राज्यसत्ता र प्रशासनसँग जिल्लाभर कति एचआईभी संक्रमित छन्, कति क्यान्सर र मिर्गौलापीडित छन् भन्ने तथ्यांक पनि छैन । कहिलेकाहीँ जिल्ला अस्पतालमै सिटामोल पाइँदैन, स्वास्थ्यचौकीमा त प्रायःजसो पाइँदैन । स्वास्थ्यचौकीमा त कार्यालय सहयोगीले औषधि बाँडेको पनि देखिएकै छ । सरकारले निःशुल्क वितरण गर्ने भनेका औषधिमध्ये ५० प्रतिशतले त जिल्ला अस्पताल पनि देखेका छैनन् । स्वास्थ्यचौकी र उपस्वास्थ्यचौकीको त कुरै नगरौं ।

मेरो जिल्लाका सबै युवा कोही खाडीमा छन्, कोही छिमेकी देश भारतमा । कसैको निधन भयो भने लास बोक्नलाई समेत गाउँमा युवा छैनन् । सायद मेरो जिल्लाजस्तै छन् देशका सबै जिल्ला । केही बेरोजगार कुनै न कुनै पार्टीको कार्यकर्ता भएर हिँडेका छन्, कोही जुवातासमा व्यस्त छन्, कोही लागुपदार्थ सेवनमा मस्त छन् । कतिपय युवा क्यारेमबोर्डमा झुन्डिएका हुन्छन्, सत्ता, सरकार र नेताहरूलाई धिक्कार्दै । मेरा दाजुहरू धन कमाउने सपना बोकेर विदेशमा जान्छन् तर सेतो कपडा ओढेर लाश बनी आउँछन् ।

मजस्तो एउटा सामान्य नागरिकसँग यसको तथ्यांक हुने त कुरै भएन र मलाई जहाँसम्म लाग्छ जिल्लाका कुनै पनि निकायमा यसको तथ्यांक छैन । तथापि, पछिल्ला १२ वर्षमा हजारौं युवाले आफ्नो जीवन परदेशमा गुमाएका छन् । रोजगारीका हजारौं सम्भावना हुँदाहुँदै पनि स्रोत, साधनको व्यवस्थापन, लगानीको अभावका कारण युवा बिदेसिनु बाध्यता बनेको छ । रोजगारीको अवसर भएका ठाउँमा पनि जनार्दनहरू आफ्ना कार्यकर्ता भर्ती गर्छन् । स्थानीय तहका स्रोत साधन पार्टीका लागि खरिद भएका छन्, कार्यालय त कार्यकर्ता भर्तीकेन्द्र भएका छन् । जसको पछिल्लो उदाहरण कृषि विकास कार्यालयले पनि देखाएको छ । कर्मचारी भर्नाका लागि आह्वान गरेको विज्ञापन गरिबका सन्तानको रावस्व असुलेपछि क्यान्सिल गरेर अहिले सूचनाबिनै भर्ती गरिएको छ । दक्ष र योग्य युवाले रोजगार प्राप्त गर्ने कुनै पनि सम्भावना छैन । प्राकृतिक स्रोत–साधनको अनधिकृत रूपमा दुरूपयोग भइरहेको छ । केही नेता र ठेकेदारहरूको कब्जामा प्राकृतिक स्रोतको दुरुपयोग भइरहेको छ । भेरीबाट हुने गिट्टी र बालुवाको तस्करीबाट साना जनार्दनहरूले कमिसन लिन्छन् र चुनाव लड्ने खर्च उठाउँछन् । वनजंगल फँडानी गरी काठ तस्करी गर्नेहरू मेयर र अध्यक्ष बनेका छन् । जिल्लाका धेरै ठाउँमा आजका दिनमा पनि टेलिफोन सम्पर्क हुन सक्दैन । सदरमुकामकै छेउछाउ राम्रोसँग नेट र इन्टरनेट चलाउन मुस्किल पर्छ । युवालाई लागुपदार्थ ओसारपसार र सेवनको लत लागेको छ । हत्या र बलात्कारजस्ता गम्भीर प्रकृतिका मुद्दा पनि जिल्ला प्रहरी कार्यालय र अदालतको प्रतीक्षालयमा पैसामा मोलमोलाइ गरिन्छ । बालविवाह, बहुविवाह, मादकपदार्थ सेवन, जुवातास, व्यभिचार, विभेद र असमानताजस्ता सामाजिक अपराध कायमै छन् । जसको संरक्षण माथिल्लो स्तर (जनार्दनबाटै) भएको आरोप छ ।

पर्याप्त शुद्ध खानेपानीको व्यवस्था छैन, कैयौं गाउँमा अझै पनि ३० मिनेट टाढाबाट गाग्रीमा पानी बोकेर पिउन बाध्य छन्, कैयौं गाउँ अन्धकारमा छन्, घण्टौं पिठ्युँमा भारी बोकेर चामल खानुपर्ने बाध्यता छ । उत्पादनसम्बन्धी काम केही पनि सञ्चालनमा छैनन् । सबै क्षेत्र दलाल, भ्रष्ट र माफियाको कब्जामा छ । सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक र पूर्वाधार सबै क्षेत्रमा जनताले अनुभूति गर्नेगरी र सन्तोष मान्नेगरी विकास र परिवर्तन नभएको कुरा सत्य हो । यी तमाम समस्या तपाईंसम्म पु¥याउनेहरूले कुन रंगले लेपन गरेर दिन्छन्, आफैँले बुझ्नुहोला । एकतर्फी आफ्नाका भ्रामक कुरा सुनेर पिँधमा रहेका जनताका खास समस्या बेवास्ता नगर्नुहोला । जनार्दनका अगाडि खास समस्या नराखेर समस्याको विन्दु माथि (जनार्दन) तिरै तेस्र्याउने खुब छन् यहाँ ।

टिप्पणीहरू