पूर्व जनमुक्ति सेना पनि आन्दोलनमा
प्रतिनिधिसभा विघटनका बिरुद्ध पूर्व जनमुक्तिसेना पनि आन्दोलनमा उत्रिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनालाई आफ्नो पक्षमा तान्न कसरत गरिरहेकै बेला उनीहरु संसद विघटनविरुद्ध सडक संघर्षमा उत्रिएका हुन्।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक कदम भन्दै पूर्व जनमुक्तिसेनाले आज माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेको हो । धर्ना पूर्व जनमुक्ति सेना नेपालका अध्यक्ष सुवास गौतम (सौरव) सहितको उपस्थितिमा चलेको बताइएको छ ।
पूर्व जनमुक्ति सेनाले प्रधानमन्त्री ओली आन्दोलनका उपलब्धि उल्ट्याउने खेलमा लागेको दावी समेत गरेको छ । बिहीबार संसद विघटनविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्दै उसले जनयुद्द र २०६२/६३ को जनान्दोलनबाट प्राप्त उपलब्धिसमेत गुम्ने खतरा भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
सार्वजनिक संघर्षका कार्यक्रमअनुसार माघ १५ देखि १७ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने, माघ १८ गते प्रत्येक जिल्ला सदरमुकामहरुमा मसाल जुलुस,माघ २२ गते एकीकृत मसाल जुलुस , माघ २४ देखि २७ गतेसम्म आन्तरिक भेला तथा प्रशिक्षण र माघ २८ गते नेकपा (बहुमत)ले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउने उल्लेख छ ।
पूर्व जनमुक्ति सेनाले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई राजतन्त्र फर्काउने षड्यन्त्र भन्दै सशक्त आन्दोलनको आवश्यकतामाथि जोड दिएको छ ।
टिप्पणीहरू