इतिहासको एउटा गजबको संयोग !

इतिहासको एउटा गजबको संयोग !

– राजकुमार दिक्पाल

ठ्याक्कै एक वर्षअघि, दुःखको भारी खेप्नु नै थियो । तीन महिनाजति नेपाल बसाइपछि युरोप फर्कन गुन्टा कस्दै थिएँ । एक जना मित्रले झ्याम्मै एक संस्थानको जीएम पड्काएको सूचना सामाजिक सञ्जालमा देखियो । ती मित्रको फोटोलाई आश्विन शुक्ल नवरात्र समयको शक्तिपीठमा पूजा गरेजसरी फेसबुकभरि शुभचिन्तकले झिलिमिलि पारिरहेको देखेँ ।

हिजो पार्टी भीरको बाटो भएर हिँड्दा तत्कालीन मालेका भूमिगत नेतालाई पाल्यौँ । कक्षा २ मा पढ्दादेखि नै पार्टीमा लागियो । कैयाँै, पटक भोकै परियो तर कतै हात पसारिएन ।

हाम्रै निर्वाचन क्षेत्रबाट चुनाव जिताएर अबिरमाला गरी पठाइएका नेता रकम चेम्जोङ सूचना तथा सञ्चारराज्यमन्त्री हुँदा रेडियो नेपालको ज्यालादारी समाचारदाता खान मन गरेको थिएँ । आफूले काम गरेको पत्रिका भर्खरै बन्द भएकाले बेरोजगार बनेको बेला त्यो अवसर दिन सकेनन् । बरु काठमाडौं पुग्दा गोविन्द पोखरेल दाइले भनिदिएपछि नारद वाग्लेले कसैको नाममा टिपेक्स लगाएर मलाई त्यो अवसर दिलाए । त्यसबाट तीन महिनाको गर्जो टरेको थियो ।

युरोप आउन गुन्टा कस्दै गरेको दुई दिनजतिको काठमाडौं बसाइमा तिनै नवनियुक्त जीएम साथीको बारेमा सुनेको थिएँ, ‘यत्रो पार्टी भनेर मरिमेटेर लागिएको छ, खाइनखाई लेबी तिरिएको छ तर अवसर त्यागीले होइन, अरूले नै पाएको देखिएपछि अब लेबी तिर्ने कामचाहिँ गरिँदैन ।’

झ्याम्मै जीएम पड्काउने मित्र कहिल्यै पार्टीमा एक बूँद पसिना झारेका मानिस होइनन् । सिन्को भाँच्नु त के, कहिल्यै पार्टीसँग सम्बन्धित कुराकानी गरेको पनि थाहा पत्तो पाएको छैन मैले । तर झ्याम्मै, जीएमको नियुक्ति ! योग्यता र योगदानको कदर यसरी नै हुने रहेछ । हे…हे…!

यस्तै केही सोच्दै पुनः युरोपभूमि टेकियो । दुःखको भारी खेप्नु त छँदै थियो ।

०००

पहिलोपटक कोभिड संक्रमणले युरोपलाई अस्तब्यस्त बनाउँदा फेसबुकको भित्तामा टाँसिएको एउटा फोटोले मलाई आकर्षित ग¥यो । फोटो राख्ने मानिसलाई आजभन्दा चार दशकअगाडि नै चिनेको । तत्कालीन भूमिगत मालेको कोशी अञ्चल कमिटी सदस्य भई धनकुटा, मोरङ र संखुवासभाको इञ्चार्ज रहेका चित्र निरौलाले टाँसेको फोटो श्यामश्वेत थियो । क्याप्सनमा लेखिएअनुसार फोटो धनकुटा र भोजपुरको सिमाना अरुण उपत्यकामा सन् १९८३ अर्थात् २०३८÷३९ सालतिर खिचिएको हो । फोटो विशेष कामले तय गरिएको यात्राका क्रममा चित्र निरौला र सुशीला श्रेष्ठ दुई छेउ बसी विद्या पाण्डेलाई बीचमा राखी खिचिएको रहेछ । दुईतिरबाट सुरक्षा दिँदै विद्यालाई पार्टी काममा लगाउन धरान हुँदै विराटनगर पुर्‍याउन चित्र र सुशीला खटिएका रहेछन् ।

०००

कोअर्डिनेसन केन्द्र हुँदै मालेको जन्म हुन लागेको बेला हात्तीसार क्याम्पसबाट आइएस्सी सकेर थप अध्ययनका लागि काठमाडौं पुगेका अशोक राईले खानी विभागमा जागिर शुरु गरेका थिए । ताप्लेजुङबाट नर्सिङ पढ्न काठमाडौं पुगेकी सुशीला श्रेष्ठ पार्टीसँग नजिकिइसकेकी थिइन् । अशोक र सुशीलाबीचको सम्पर्क सेतुचाहिँ विवेक (माधव नेपाल) र श्याम (अमृत बोहरा) थिए । यी दुईबीच प्रेम अंकुरित भएछ ।

काठमाडौंबाट सुशीलालाई मोरङ पठाइयो । पार्टीमा सुशीलाको नाम थियो, सिर्जन अनि अशोकको चाहिँ नीलकण्ठ । मोरङको पार्टी इञ्चार्ज थिए, सागर (मदन भण्डारी) ।

माओ जयन्तीको अवसर पारेर २०३५ साल पुस ११ गते मोरङको सातपिडीमा विभिन्न वामघटक मिली नेकपा (माले) को जन्म भयो । रत्नकुमार बान्तवा केन्द्रीय सदस्य चुनिए । उनी इलामका सचिव पनि थिए । उनैले इलाम र पाँचथरको महिला क्षेत्रमा काम गर्न एक जना कमरेडको माग गरे । अशोक राईको जिम्मेवारी भोजपुरमा पर्‍यो ।

रत्नसँगै सुशीला पार्टी कामको सिलसिलामा ताप्लेजुङ जाँदै गर्दा बीचमा प्रहरीले आक्रमण ग¥यो । इलामको इभाङमा आक्रमण हुँदा रत्न खुकुरी निकाली प्रत्याक्रमणमा उत्रे । दुई वटा फायरिङमध्ये एउटा रत्नको छातीमा बज्रियो, उनी ढले । अर्को गोलीले एक प्रहरीलाई घाइते बनायो । ०३५ चैत २७ गते भएको यो भिडन्तमा पहिले रत्नलाई प्रहरीको पञ्जाबाट फुत्काउन सुशीला र अर्की स्थानीय कमरेड राममायाले प्रयास गरे तर सकेनन् । राममाया राई स्थानीय भएकीले लोकेसन थाहा पाएर भाग्न सफल भइन् तर सुशीला पक्राउ परिन् ।

प्रहरीले रत्नको शवसँगै सुशीलालाई पनि सदरमुकाम ल्याउँदै थियो । खाना खान प्रहरी टोली वारुङ भन्ने ठाउँमा रोकियो । सुशीलाले शौच जाने अनुमति पाइन् । प्रहरीले पिछा गर्न लागेको थियो तर सुशीलाले भनिन्, ‘छोरी मान्छे दिसा बस्ने ठाउँमा आउन तिमी लोग्ने मान्छेहरूलाई लाज लाग्दैन ?’ प्रहरी हच्कियो । महिला प्रहरी थिएनन् ।

यसरी शौच गर्ने बहानामा सुशीला जंगलतिर सुँइकुच्चा ठोकिन् । उनी जंगल पसेपछि त्यहाँ आगो लगाइयो । करिब १४ घण्टापछि उनी गाउँ निस्कन सफल भइन् र पार्टी सम्पर्कमा पुगिन् । वैशाख १ गते प्रहरीले सेल्टरमा फेरि घेरा हाल्यो, उनीहरू मुस्किलले घेरा तोड्न सफल भए ।

यसरी सुशीलामाथि जोखिममाथि जोखिम आइपरेपछि उनलाई संखुवासभासमेत हेर्ने गरी भोजपुर पठाइयो ।

अशोक भोजपुरकै पार्टी काममा व्यस्त थिए । सुशीला पनि त्यहीँ पुगिन् । ०३८ साउन ३० गते शुक्रबार छिनामखुस्थित पार्टीनिकट शिक्षक कमल राईको घरमा टीकाटालोसहित अशोक र सुशीलाको जनवादी विवाह सम्पन्न भयो । विवाहमा अशोकको परिवारको तर्फबाट उनकी दिदी, पार्टीका तर्फबाट चित्र निरौला र राजेश बान्तवा उपस्थित थिए ।

०००

पार्टी कामकै सिलसिलामा मदन भण्डारी भोजपुर पुगेका थिए । तत्कालीन सांकेतिक भाषाअनुसार विवाहलाई ‘जीवन र जगत जोड्ने’ भनिन्थ्यो । त्यहाँ उनको पनि जीवन र जगत् जोड्नेबारे छलफल भयो । अशोक राई लमी बने । उनको भावी जीवन साथीका लागि मञ्जुल र प्रदीप नेपालकी भतिजीलाई हेरिएको थियो । तर, जसलाई मदनको भावी जीवनसंगिनीको रूपमा हेरिएको थियो, उनी आमा बिरामीलगायत व्यावहारिक कारण तत्काल विवाह बन्धनमा बाँधिन नचाहेको ब्रिफिङ अशोकले सुनसरीको मधेलीमा सम्पन्न पार्टीको एक बैठकमा गरेका थिए ।

त्यसपछि भर्खरै अनेरास्ववियुमा संगठित भएकी विद्या पाण्डेलाई महेन्द्रमोरङ क्याम्पसमा पढ्ने गरी भोजपुरबाट विराटनगर झार्ने काम भयो । पार्टीको काममा पनि लगाउने र विवाह हुन सके मदनको आन्तरिक जीवन पनि सहज हुने देखेर पार्टीले यस्तो निर्णय गरेको थियो ।

चित्र निरौलाका अनुसार भोजपुरको पार्टी काममा जाँदा नै मदनको नजर विद्यामाथि परेको रहेछ । यसमा पहिले मदनले नै विवाहको प्रस्ताव राख्दा तत्काल विद्याबाट स्वीकृत भएन । ६ महिनापछि मात्र ओके भयो । विराटनगरको एक सेल्टरमा सम्पन्न उक्त विवाहमा चित्र निरौला, राजेश बान्तवा, डिल्ली मैनालीलगायत १५ जना जन्ती थिए । मासुभातको प्रबन्ध गरिएको थियो, भोजमा ।

यो प्रसंग राजेश बान्तवाले बताएका हुन् ।

०००

समयले मानिसलाई कहाँ कहाँ पु¥याउँछ ? रहस्यमय दुर्घटनामा परेका मदन आज यो संसारमा छैनन् । मदनसँग जोडी बाँधिदिन विद्यालाई सुरक्षित रूपमा एस्कर्टिङ गर्दै भोजपुरबाट विराटनगर झार्ने चित्र निरौला पहिल्यै राजनीतिबाट पलायन भइसकेका छन् । विद्याभन्दा अघि नै राजनीतिमा परिपक्व सुशीला अहिले सडक संघर्षमा छिन्, विद्याचाहिँ शीतल निवासमा ।

इतिहासको एउटा बडो गजबको संयोग !

टिप्पणीहरू