नेकपाले फेरि काठमाडौँ तताउने

नेकपाले फेरि काठमाडौँ तताउने

प्रतिनिधिसभा विघटनका विरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको नेकपा (बहुमत)ले २३ गते हुने सरकारी शक्ति प्रदर्शनको जवाफमा माघ २८ गते फेरि काठमाडौँ तताउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते एकाएक प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्रीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भन्दै आन्दोलनमा उत्रिएको नेकपाको काठमाडौँ जिल्ला कमिटीले जनप्रदर्शनलाई व्यापक बनाउन तयारी शुरु गरेको जनाएको छ ।

नेकपा काठमाडौँका सचिव हिमाल शर्माले भनेका छन्, ‘माघ २८ गते प्रतिगमनलाई मीठो धक्का दिन विशाल जनप्रदर्शनका निम्ति सबै कमिटीहरु तयारीमा जुटौं।’

नेकपाले काठमाडौँ केन्द्रित आन्दोलनलाई प्राथमिकता दिएको देखिन्छ । माघ ९ गते काठमाडौँमा विशाल जनप्रदर्शन गरेको नेकपाले माइतीघर मण्डलामा बुधबारदेखि एक साता लामो सांसदहरुको धर्ना अभियान शुरु गरेको छ।

टिप्पणीहरू