विष्णु पौडेलको दैलोमा प्रचण्ड-नेपालको दवाव

विष्णु पौडेलको दैलोमा प्रचण्ड-नेपालको दवाव

नेकपा (बहुमत) ले बिहीबार बुटवलमा बृहत् जनप्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड-माधव पक्षले १० सिट पनि नल्याउने दावी गरेकै दिन नेकपाले ओलीका विश्वासपात्र महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको दैलोमै ठूलो जनप्रदर्शन गरेको हो ।

प्रधानमन्त्रीका दुई विश्वासपात्र अर्थमन्त्री पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको क्षेत्रमा नेकपा (प्रचण्ड-माधव) ले ठूलो संख्यामा कार्यकर्ता उतारेर जनप्रदर्शन गरेपछि बालुवाटारलाई ठूलो धक्का लागेको विश्लेषण गरिएको छ।

पौडेल र पोखरेलका साथै ओली पक्षका खम्बा मानिएका प्रदिप ज्ञवाली,टोपबहादुर रायमाझी, मणि थापा र सूर्य थापाको पनि लुम्बिनीमा प्रभाव छ । त्यसैले ओली पक्षले पार्टी विभाजनपछि पनि लुम्बिनीमा आफ्नो बर्चस्व यथावत रहेको दावी गर्दै आएको थियो । तर, आजको उपस्थितिले त्यो भ्रम चिरिएको र विष्णु पौडेलको सिण्डिकेट तोडिएको प्रचण्ड-नेपाल पक्षका एक नेताले दाबी गरे ।

ती नेताका अनुसार आजको प्रदर्शनमा वामदेव गौतम निकट एकता पक्षधर कार्यकर्ताको पनि उपस्थिति थियो । गौतमको गृहजिल्ला प्युठानबाट मात्र ३ बस कार्यकर्ता आएको उनले जानकारी दिए । त्यस्तै, कपिलवस्तुबाट ४१, नवलपरासीबाट ३०, पाल्पाबाट २२, अर्घाखाँचीबाट १६ बस कार्यकर्ता आएको उनले बताए। नेकपाले बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पाबाट पनि ठूलो संख्यामा कार्यकर्ता बुटवल उतारेको थियो ।

टिप्पणीहरू