प्रधानमन्त्रीले मोक्ष र निर्वाण दुवै प्राप्त गर्न सक्नुहुन्न : बन्दी

प्रधानमन्त्रीले मोक्ष र निर्वाण दुवै प्राप्त गर्न सक्नुहुन्न : बन्दी

प्रधानमन्त्री केपी शर्मा ओलीको हठात् प्रतिनिधिसभा विघटन सिफारिश र राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको निमेषभरको सदरको विपक्षमा बिहीबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नजिर,मूल्य मान्यता र सिद्धान्तको नयाँ ढंगले बहस भएको छ । निवेदकको पक्षबाट बहसमा भाग लिँदै अधिवक्ता गोविन्द बन्दीले संसदमा वैकल्पिक सरकारको सम्भावना रहे नरहेको सम्बन्धमा राज्य प्रमुखले आवश्यक टेष्ट गरेर मात्र स्वीकृत गर्नुपर्ने हाम्रै विगतको नजिरलाई यसपटक उल्लंघन गरिएको बताउनुभएको हो ।

हिजोको बहसमा उहाँले संसारभरिका धेरैजसो मुलुकका संसद विघटन सम्बन्धी ‘लिटरेचर’ प्रस्तुत गर्दै विवेचना गर्नुभएको थियो । उहाँको विवेचनाको चार वटा निश्कर्ष थियो । एउटा,राष्ट्राध्यक्ष आफैँले संसद विघटन गर्छ । दोस्रो,प्रधानमन्त्रीको सिफारिशमा राष्ट्राध्यक्षले गर्छन् । तेस्रो,जनमत संग्रहबाट हुन्छ भने चौथो, स्वतः विघटन हुने मान्यता स्थापित भएको उहाँको दाबी थियो ।

हाम्रो सन्दर्भमा संविधानमा राखिएको संसद विघटनको प्रावधान भनेको सबै विकल्पको प्रयोगपछि पनि सरकार गठन हुन नसकेमा वा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा स्वतः विघटन हुने हो । प्रक्रियागत रूपमा त्यस्तो अवस्थामा निवर्तमान हुन लागेको प्रधानमन्त्रीले मात्र विघटनको सिफारिश गर्न पाउने बन्दीको जिकिर थियो ।

बहसमा नजिर प्रस्तुत गर्दै उहाँले भन्नुभयो ‘संसदमा वैकल्पिक सरकारको सम्भावना छ कि छैन भनेर परीक्षण गर्ने काम राष्ट्रपतिको हो ।’ गिरिजाप्रसाद कोइरालाको मुद्दामा सर्वोच्चले गरेको फैसलामा लेखिएको छ ‘विघटनको सिफारिश आइसकेपछि राजाले सभामुखलगायत अन्य दलका नेतासँग परामर्श गर्न सकिबक्सने र वैकल्पिक सरकारको जाँच गर्न सकिबक्सने’ व्यवस्था त्यसअन्तर्गत पर्छ । त्यतिबेला राजालेसमेत प्रधानमन्त्रीको सिफारिशलाई अन्धाधुन्द स्वीकृत नगरी ‘विकल्प हेर’ भनेको अवस्थामा ‘वैकल्पिक सरकार नबन्ने मौसुफले ठहर्याइबक्सेपछि हामीले बोल्न परेन’ भनेको छ । त्यतिबेला नै सर्वोच्चले वैकल्पिक सरकारको सम्भावनालाई राज्य प्रमुखले परीक्षण गरेर मात्र स्वीकृत गर्नुपर्छ भनिसकेकोले यसपटक त्यो व्यवस्था कार्यान्वयन भएको देखिन नआएको बन्दीको दाबी छ ।

‘प्रधानमन्त्री आफैँले कहाँबाट मैले संसद विघटन गर्न पाउँछु भनेर दरार खोज्दै हिँड्ने ?

बहसमा उहाँले भन्नुभएको छ ‘अहिलेकी महामहिम राष्ट्रपतिबाट त्यसो नगरिएको हुनाले संवैधानिक व्यवस्थाको उल्लंघन भएको छ । राष्ट्रपतिले आवश्यक सरसल्लाह नै नगर्नु र अर्को वैकल्पिक सरकारको सम्भावना आह्वान नगर्नु गैरसंवैधानिक हुन आउँछ ।’ उहाँको तर्क छ ‘त्यसरी आह्वान गरेको भए सम्भवतः दलहरू फुटेर भएपनि सरकार बनाउन कम्मर कस्थे कि ?’

बन्दीले बहसमा संविधानको व्याख्याका सिद्धान्तहरूलाई पनि जोडदार ढंगले उठाउनुभएको छ । उहाँका अनुसार जब अदालतमा संविधानको व्याख्यासम्बन्धी मुद्दा पर्छ अनि संसारभरिका अदालतले चार वटा सिद्धान्त अपनाउँछन् । तर,हाम्रो नेपालको अहिले छुट्टै सिद्धान्त देखिन खोज्दैछ,जो अहिलेसम्म नआएको गरी पाँच वटा कायम गर्नुपर्ने अवस्था आउने उहाँको तर्क थियो ।

नेपालको संविधानको नयाँ व्याख्या गर्दै बहसमा भनिएको थियो ‘समाजवाद उन्मुख भनी संविधानको धारा ४ मा लेखिएको छ भने प्रस्तावनामा समाजवादप्रति प्रतिबद्ध भनिएको छ । त्यसैले संविधानको व्याख्या गर्दा समाजवादउन्मुखको हिसाबले गरिनुपर्ने देखिन आउँछ । राज्यको सिद्धान्त नै समाजवाद उन्मुख भएकाले व्याख्या पनि समाजवाद उन्मुखकै तरिकाले गरिनुपर्छ । संसदीयउन्मुख होइन । त्यो सिद्धान्तअन्तर्गत व्याख्या गर्दा अहिलेको संसद विघटनलाई कदापी उचित ठहर गर्न सकिँदैन ।’

उहाँले ‘डक्ट्रिन अफ फल्टलाइन’ अर्थात् दरार सिद्धान्तको पनि व्याख्या गर्नुभएको छ । उहाँका अनुसार भूकम्पको फल्टलाइन अर्थात् दरारजस्तै संविधानमा पनि फल्टलाइन हुनसक्छ । तर,दरार हुन्छ भन्दैमा प्रधानमन्त्रीले दरार खोज्दै हिँड्न मिल्दैन र पाईंदैन । उहाँको तर्क छ ‘प्रधानमन्त्री आफैँले कहाँबाट मैले संसद विघटन गर्न पाउँछु भनेर दरार खोज्दै हिँड्ने ? किन र कहाँ दिइन्छ प्रधानमन्त्रीलाई त्यसरी दरार खोज्दै हिँड्ने अधिकार ? यदि दिइन्छ भने पनि त्यो जायज हुँदैन र त्यसलाई रोक्नुपर्छ ।’

हाम्रा प्रधानमन्त्रीले बूढापाकालाई निषेध गर्नुभएको छ । त्यो राजधर्म विपरितको कार्य हो ।

बन्दीले बहसमा भन्नुभएको थियो ‘फल्टलाइन छ भने पनि रिपेयर गर्नुपर्छ । प्रधानमन्त्रीले संसद विघटनको अधिकारलाई डक्ट्रिन अफ फल्टलाइनको हिसाबले जिकीर गर्नुभएको छ । तर,उहाँको तर्क फल्टलाइनको सिद्धान्त विपरित छ । किनकि हामीले फल्टलाइनको यसअघि नै गलत प्रयोग गरेका थियौं । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले उक्त सिद्धान्तलाई टेक्दा माओवादी जन्मियो । २०४७ सालको संविधानको रक्षा हुन सकेन । र, त्यसैको परिणाम अहिले यो संविधान आएको छ । त्यतिबेला कोइरालाको विघटनको सिफारिशलाई अदालतले रोकिदिएको भए,संभवतः संसदीय प्रणाली त्यति छिट्टै असफल सावित हुँदैनथ्यो । अहिले पनि अदालतले त्यसो नगरोस् । फल्ट लाइन क्रियट नगरिदियोस् ।’

प्रधानमन्त्रीले मान्दै आएको पूर्वीय दर्शनलाई जोड्दै गोविन्द बन्दीको तर्क थियो ‘उक्त दर्शनमा राजा र धर्मलाई पर्यायवाचीको रूपमा लिइएको हुन्छ भनिन्छ । त्यो दर्शनले आफ्ना राज्यका विद्धान र ज्येष्ठ तथा पाका सदस्यहरूको सल्लाह सुनेर मात्र निर्णय गर्छ । तर, हाम्रा प्रधानमन्त्रीले बूढापाकालाई निषेध गर्नुभएको छ । त्यो राजधर्म विपरितको कार्य हो । प्रधानमन्त्रीले केही समयपहिले बुद्धधर्म र सिद्धान्तको कुरा गर्नुभएको थियो । बुद्धको हिसाबले पनि उहाँले अहिले अकुशल कार्य गर्नुभयो । यो कदापि कुशल कार्य होइन । यस्तो कार्यले प्रधानमन्त्रीले मोक्ष प्राप्त गर्न सक्नुहुन्न । निर्वाण प्राप्त गर्नसक्नुहुन्न । उहाँले नेपाली जनतालाई दुःख दिने काम मात्र गर्नुभयो ।’

बहसको क्रममा अधिवक्ता बन्दीको जोड थियो ‘देशलाई द्वन्द्वमा जान दिन भएन । सरकार,अदालत सबै निकायले जनताको हितमा निर्णय गर्नुपर्छ । त्यसैले बेमौसमको निर्वाचनले अनावश्यक कर बढाउँछ, खर्च बढाउँछ । जुन जनहितमा हुँदैन ।’

टिप्पणीहरू