सरकारी प्लेटलाई संकट

सरकारी प्लेटलाई संकट

प्रतिनिधिसभा विघटनका बिरुद्ध देशव्यापी आन्दोलनमा होमिएको अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
घोषित कार्यक्रमअनुसार आज माघ १६ गते सहिदपार्कमा श्रद्धान्जली सभा गर्ने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने बताइएको छ ।

त्यस्तै, माघ १८ र १९ गते सबै स्थानीय तहका सरकारलाई ज्ञापनपत्र बुझाउने,१९ गते सुरक्षा प्रमुख, संवैधानिक निकाय र कर्मचारी प्रशासनलाई प्रतिगामी सरकारलाई भाद्र अवज्ञा गर्न सार्वजनिक अपिल गर्ने, माघ २१ गते देशभरका क्याम्पसअगाडि कालो झण्डासहित आधा घण्टा चक्काजाम गर्ने जनाइएको छ ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका सवारी साधन निषेध गर्नुका साथै युवामार्च गर्ने र माघ २५ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने अनेरास्ववियूले जनाएको छ ।

अनेरास्ववियूले शैक्षिक संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअनुसार कोभिड विरुद्धको खोप प्राथमिकताका आधारमा शिक्षक, कर्मचारी र विद्यार्थीलाई दिलाउन र शैक्षिक संस्था सुचारु गराउन दबाब दिने, लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा भएको पाठ्यपुस्तक सार्वजनिक गरि अध्ययन सुचारु गर्न दबाबमूलक कार्यक्रम गर्ने, कोभिडका कारण समस्यामा परेका विद्यार्थीहरुलाई नि:शुल्क अध्ययन गर्ने वातावरण मिलाउन दबाब दिने तथा अहिलेसम्मको शुल्क मिनाहा गर्न र लिएको शुल्क फिर्ता गराउने,शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्ने जस्ता कार्यक्रम छन् ।

अनेरास्ववियूले यस वर्ष शैक्षिक सत्र समायोजन गरी पठनपाठनलाई व्यवस्थित गर्न माग पनि गरेको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन अबिलम्ब सार्वजनिक गर्न, शिक्षामा कम्तिमा २० प्रतिशत बजेट निश्चित गर्न, आधारभूत शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्न, प्रमाणपत्र धितो राखी १० लाख ऋण दिने व्यवस्था मिलाउन र राजनीतिक भागबण्डाका आधारमा नियुक्त भएका विश्वविद्यालयका पदाधिकारीहरुलाई राजीनामा दिई खुल्ला प्रतिष्पर्धाका लागि मार्ग प्रशस्त गर्न अपिल पनि गरेको जनाइएको छ। त्यस्तै, मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सबै काउन्सिलका परीक्षाहरु व्यवस्थित र पारदर्शी ढंगले प्रदेशस्तरबाट समेत संचालन गर्न, यथासक्य छिटो इञ्जिनियरिङ काउन्सिलको पनि प्रादेशिक संरचना बनाउन माग गरेको छ ।

अनेरास्ववियूले पहिलो र दोस्रो चरणको कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । प्रतिगमनविरुद्ध निर्णायक रुपले होमिन आव्हान गर्दै उसले प्रतिगमन नसचिएसम्म निरन्तर संघर्षमा होमिन आम विद्यार्थीहरुलाई अपिल पनि गरेको छ।

टिप्पणीहरू