प्रतिक्रान्ति भयो, मिलेर प्रतिकार गरौँ !

प्रतिक्रान्ति भयो, मिलेर प्रतिकार गरौँ !

नेकपा (बहुमत) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको व्यवस्था र पार्टी एकताको मर्म विपरित प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ ।

नेकपा काभ्रेले शुक्रबार बनेपामा आयोजना गरेको युवा-विद्यार्थीको भेलालाई सम्बोधन गर्न पुग्नुभएका शर्माले प्रतिनिधिसभा विघटनका विरुद्ध सबै परिवर्तनकारी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

‘ठूलो बलिदानबाट प्राप्त नयाँ संविधान,लोकतन्त्र,संघीयता, धर्मनिरपेक्षता जस्ता अग्रगामी परिवर्तनको रक्षा गर्दै स्वास्थ्य, शिक्षा,रोजगारको सुनिश्चितता गर्न दुई ठूला कम्युनिष्ट पार्टी एक भएका थिए’, उहाँले भन्नुभयो, ‘तर पार्टी एकताको मर्मविपरित ओलीले असंवैधानिक कदम चाल्नुभयो । यसका विरुद्ध युवा, विद्यार्थी, मजदुर, बुद्धिजीवी लगायत परिवर्तनकारी शक्तिहरु एकजुट हुन आवश्यक छ ।’

भेलालाई सम्बोधन गर्दै युवासंघ नेपालका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले ओलीलाई कम्युनिष्ट पार्टीको अध्यक्ष बनाएर गल्ती भएको बताउनुभयो । ‘जसलाई रातो मन पर्दैन उसैलाई कम्युनिष्ट पार्टीको अध्यक्ष बनाउनु गलत भयो,अब आत्मालोचित हुँदै ओलीको कदमको बिरोधमा उत्रनुको विकल्प छैन ‘, उहाँले भन्नुभयो ।

अनेरास्ववियू सह-संयोजक रन्जित तामाङले ओलीको कदमलाई प्रतिक्रान्तिकारी भन्दै घुँडा टेकाएरै छाड्ने चेतावनी दिनुभयो ।

टिप्पणीहरू