बालुवाटारमा नयाँ बिचौलिया
नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले मस्र्याङदी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्कीचोक सबस्टेसन निर्माणका लागि ठेकेदार छनोट गर्दाको गडबडी हो यो । एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माणका लागि प्राविधिक रूपमा उत्कृष्ट र सबैभन्दा कम रकम कबोल गर्ने चाइना इञ्जिनियरिङ कर्पोरेसन छनोट भयो ।
एडिबीको खरिद निर्देशिकाअनुसार आह्वान गरिएको टेण्डरमा कम्पनीले ७६ करोड ६३ लाख रूपैयाँ (करबाहेक) कबोल गरेको थियो । आयोजनाले सहमतिका लागि एडिबीमा पठायो । उताबाट सहमति प्राप्त भएपछि फाइल स्वीकृतिका लागि प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमा पेश गरियो । तर, आफूलाई प्राविधिक रूपमा सक्षम भएको जिकिर गर्ने तर निर्णय क्षमता ज्यादै कमजोर भएका उनकोमा फाइल अड्किएको छ ।
ठेक्का तोडेर बाँकी रहेको काम नयाँ ठेकेदारबाट छिट्टो गराउनुपर्ने दवावमा रहेका आयोजनाका अधिकारीहरूले पटक–पटक शाक्यलाई घच्घचाए । उनी टसमस भएनन् । शाक्यले एक दिन आयोजनाका अधिकारीलाई बोलाए र भने, ‘कम्पनीको नेपाली एजेण्ट को हो त्यसलाई बालुवाटार (प्रधानमन्त्री) नजिक रहेको मीनेन्द्र मल्ल र मन्त्रीलाई भेट्नु भन्नु, उताबाट क्ल्यिरेन्स आएपछि मात्रै फाइल अगाडि बढ्छ ।’ शाक्यले यसो भनेपछि अधिकारीहरू छांगाबाट खसेजस्तो भएका छन् । शाक्यनिकट स्रोतका अनुसार प्राधिकरणका ठेक्कापट्टासम्बन्धी सम्पूर्ण फाइल मल्लसँगको परामर्शपछि मात्रै अगाडि बढ्छन् ।
‘बैंकमा कुनै बेला व्यापार गर्ने मल्ल अहिले प्रधानमन्त्री नजिक रहेछन्, प्रधानमन्त्रीको उपचारमा पनि सहयोग गर्ने गरेको भन्ने सुन्ने गरेका छौं, अहिले प्राधिकरणको ठेक्कापट्टाका सम्पूर्ण फाइल उनीबाट सहमति भएपछि मात्रै स्वीकृत हुन्छ’, बालुवाटार निकट स्रोतले भन्यो । ‘केहीमा राजेश बज्राचार्य कमरेडलाई पनि जिम्मा दिइएको छ ।’
विदेशबाट ठेकेदार कम्पनी ल्याउने एजेण्टहरूलाई मल्ललाई नै भेट्न शाक्यले सुझाउने गरेको एक एजेण्टले बताए । ११ तहको निर्देशक हुँदा अमेरिकी परियोजना एमसीसीमा काम गरेका शाक्य १२ औं तहको उपकार्यकारी निर्देशकमा बढुवा भएपछि एनइए इञ्जिनियरिङ कम्पनीमा प्रबन्ध–सञ्चालक थिए । कुलमान घिसिङको बहिर्गमनपछि बालुवाटारको दबाबमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँञ्चाइमन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई हटाएर कामुको जिम्मेवारी दिएका हुन् । शाक्य अहिले एमसी परियोजनाबारे खुलेरै बोल्ने गर्छन् ।
सस्तो रकम कबोल गरेर ठेक्का हात पारी आफ्नो स्वार्थ पूरा गर्ने तर काम नगर्ने भएपछि ‘हाइड्रोका पप्पु’ भनेर चिनिने सुशील र दीपक भट्ट दाजुभाइ एजेण्ट रहेको चिनियाँ ठेकेदार कम्पनी सेन्जेन फ्राड इलेक्ट्रिक कर्पोरेसन लिमिटेड भन्नासाथ प्राधिकरणले ठेक्का तोडेको थियो । निर्माण अलपत्र पारेपछि कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको करिब ३५ करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरिएको छ ।
प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि एक करोड ५६ लाख अमेरिकी डलर र पाँच अर्ब ५१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सुशील भट्टलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको सदस्यबाट बढुवा गरेर अहिले मेगा आयोजना हेर्ने र प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ ।
टिप्पणीहरू