सडकभन्दा सत्ता रिसाहा परेपछि…

सडकभन्दा सत्ता रिसाहा परेपछि…

– समाजवादी केटो

यो (ओलीपथ) होस् वा त्यो (वंशवाद), सत्तालाई ज्यूँदा मान्छेहरूको अंकगणित प्रिय लाग्न थालेको दिन देशमा रमिता शुरु हुन्छ । अहंकार, अभिमान, सत्तामत्त र चरम शक्तिभोगको रमिता ।

सडकमा हुनेहरूलाई त मान्छेका टाउका देखाउनु छ नै ! सडकका तिनै टाउकाले विश्वमा ठुल्ठूला सत्ता ढालेका छन् । तर, जब सत्तासीनलाई नै सडकभन्दा बढी टाउका आफूतिर छन् भनेर काउन्टर दिने भोक चल्छ, त्यतिबेला प्रतिगमन भनौँ या निरंकुशता घोडा चढेर दौडिरहेको आभाष हुन्छ । प्रतिगमन सुस्तरी आउँछ भन्छन्, त्यस्तो प्रतिगमनले ढिलो परिणाम दिन्छ । तर, जब प्रतिगमन घोडाको चालझैँ बुर्कुसी मार्न थाल्छ तब परिणाम तत्काल, त्यो भनेको ‘सत्ता वा व्यवस्थाको निरन्तरतामा विराम ।’

विश्वमा प्रतिगमन घोडा चढेर धेरैपटक दौडिएको छ । धेरै पहिलेको कुरा गर्दा प्रतिगमनको घोडामा सवार भएका जर्मनका नाजी शासक हिटलरलाई सम्झिने गरिन्छ । हिटलरले भाषण सुनाउन कति मानिसलाई जबर्जस्ती सडकमा उतार्थे, जम्मा गर्थे, अहिले पनि प्रविधिको सहायताले हेर्न सकिन्छ । अस्ति मात्रै बिदा भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई प्रतिगमन नै नभनिए पनि उनले पनि अराजकतालाई सत्ता निरन्तरताको साधन बनाउन खोजेका थिए । उनका समर्थकहरू हिंसामै उत्रिए । जति जोडबल गरे पनि उतिबेला हिटलरको अन्त्य कसरी भयो, इतिहास पढेर थाहा पाइन्छ । ट्रम्पको प्रयास र उनको अन्त्य त आँखैअगाडि छ ।

नेपाल त पटक–पटक प्रतिगमनको तीतो यथार्थबाट गुज्रिँदै अहिलेको अवस्थामा छ । एउटा शासन ल्याउने भत्काउने, फेरि अर्को ल्याउने भत्काउने । यतिबेला त्यही तीतो इतिहासको पुनरावृत्ति हुन लागेको चर्चा हुँदै छ । अझ विगतको भन्दा खतरनाक अवस्थाको संकेत आकलन भइरहेको छ ।

सत्तापक्षलाई धेरै मान्छेको भोक ?

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि देश अन्योलको भुमरीमा फँसेको छ । सिंगो नागरिक समाज, प्रबुद्ध व्यक्ति, राजनीतिक दल सडक र संघर्षमा छन् । अधिकांशले व्यक्त, अव्यक्त रूपमा असहमति जाहेर गरिसकेका छन् । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको कदमबाट क्रुद्ध बनेको प्रचण्ड–माधव नेपाल खेमाले सडक प्रदर्शन गरिरहेको छ ।

तर, प्रधानमन्त्री ओली एक्लै र उनका सहयोगीले प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गरिरहेका छन्, त्यो पनि सडकमै आएर । प्रचण्ड–माधव र ओली समूह कहिले अघिअघि त कहिले पछिपछि सडकमा शक्ति प्रदर्शन गरिरहेका छन् । केही समयअघि प्रचण्ड–नेपाल समूहले काठमाडौंको प्रदर्शनीमार्गमा गरेको विरोधसभालाई काउन्टर दिन ओली समूहले कैलालीको धनगढीमा मानिसलाई सडकमा उता¥यो । प्रदर्शनीमार्गको सभालाई ‘रत्नपार्कमा औषधि बेच्नेहरूले मानिस जम्मा गरेजति’ भनेर उडाएका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहद्वारा माघ ९ गते काठमाडौंमा आयोजित विशाल विरोध प्रदर्शनकै दिन ‘धेरै संख्या देखाउन मान्छेलाई साँघुरा गल्लीमा हुलेकाहरूलाई वास्तविक सभा र जनपरिचालन कस्तो हुन्छ माघ २३ गते देखाउँछौं’ भनेर जवाफ दिए ।

नेपाली राजनीतिमा विकास र समृद्धिका भाषण हुन थाल्ने आकलन गरिएको संघीय व्यवस्थामा अचेल गाउँघरमा गोरुले बारी चरेपछि हुने तुच्छ गालीलाई पनि बिर्साउने गरी तमाशा भइरहेको छ । केही महिनामै गाली र अपमानका लागि प्रयोग हुने शब्द सकिएको आभाष हुन थालेको छ । यो बिडम्वना हो ।

लाशको लाजनीति

१७ हजारभन्दा बढीले ज्यान गुमाउने गरी भएको माओवादी विद्रोह, २५ जनाभन्दा बढीको ज्यान जाने गरी भएको ०६२÷६३ को जनआन्दोलन, ५० जना बढीको ज्यान गएको मधेश आन्दोलनबाहेक कति लाशको त लेखाजोखा नै छैन । विगतभन्दा राम्रो र सुन्दर भविष्यका लागि धेरैले दलहरूको आह्वानमा ज्यानको बाजी लगाएकै हुन् । परिवर्तनका लागि आहुती दिएकाहरूको योगदानले अहिलेका नेताहरू सत्ता र सडकमा रजगज गरिरहेका छन् ।

आफूलाई बलियो सावित गर्न र मान्छेहरूको भीड बढाउन प्रचण्ड–नेपाल समूहदेखि प्रधानमन्त्री ओली समूहले तँछाडमछाड गरिरहेका छन् । यो तँछाडमा ओली अगाडि छन् । त्यहीक्रमको निरन्तरतास्वरूप उनले शनिबार पूर्वजनमुक्ति सेनासँग छलफल गरे । त्यहाँ उनले जनमुक्ति सेनाको योगदान र उनीहरूकै लाशको सिँढी चढेर आर्जेको शक्तिलाई प्रचण्डलगायत नेताले दुरूपयोग गरेको बिम्व स्थापित गर्न खोजेका थिए ।

कालिबहादुर खामहरूलाई साथमा लिँदा उनीहरूबाट आक्रान्त अर्को समूह भड्किने ख्यालै नगरी प्रचण्डलाई देखाउनकै लागि प्रधानमन्त्री ओलीकै भाषामा (कुनै बेला भनेको) लाशको बिस्कुन र रगतको होली खेलेर आएकाहरूसँग बालुवाटारको छलफलका बीच पंक्तिकारले शनिबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट ल्याइएका १८ वटा लाशलाई सम्झिरहेको थियो ।

एकैपटक १८ (एक अस्तुसहित १९) आउँदा विमानस्थल क्षेत्र भावविह्वल बनेको हृदयविदारक तस्बिर सामाजिक सञ्जालदेखि अनलाइनमा असरल्ल छरिएका थिए ।

देशमा रोजगारी नपाएर अनगिन्ती सपना बोकी मलेसिया उडेका तर लाश बनेर फर्किएका १८ नेपालीको शवले बालुवाटार, खुमलटार, कोटेश्वरमा ज्यूँदा मान्छेको टाउका गनेर बसिरहेकाहरूलाई मात्रै गिज्याइँरहेको थिएन । समृद्धिका ठुल्ठूला सपना फलाकेर बीचमै अलपत्र पारी सत्तास्वार्थमा भासिएकाहरूका भाषणपिच्छे परर ताली पड्काइरहेकाहरूको चेतनालाई पनि गिज्याइरहेको थियो । सायद ती लाशले भनिरहेका थिए होलान् ‘आज भाषणपिच्छे ताली पड्काएर देशमा अस्थिरतालाई हुर्काइरहेका तिमेरुले पनि कुनै दिन यसरी नै बाकसमा फर्किन बिदेसिनुपर्ने निश्चित छ ।’

राजा ज्ञानेन्द्रले ०६२÷६३ सालको आन्दोलनको प्रतिकारमा उतारेको भए के हुन्थ्यो ?

उन्मत्त सत्ता

अस्थिरता कुनै पनि कोणबाट स्थिरताको कारक हुन सक्दैन । झन् परिस्थितिले नभई शासकीय अक्षमताले निम्त्याएको अस्थिरता कसरी राम्रो हुन सक्छ ? हिजो गिरिजा, मनमोहन, सूर्यबहादुर र शेरबहादुरले संसद् विघटन गर्दा गलत ठानिएको कुरा आज कसरी सही हुन सक्छ ? अस्थिरतालाई निम्ता दिने कदम हिजो गलत थियो, आज पनि गलत छ भन्न किन हिचकिचाहट ?

विरोधीका सभामा ड्रोनमार्फत तस्बिर र भिडियो खिची त्योभन्दा बढी मान्छे सडकमा उतार्ने तयारी गर्नु सबैभन्दा अनौठो छ ।

तर, उन्मत्त सत्ता र त्यसको रापले सेकिएकाहरूलाई अस्थिरताका कदम पनि राम्रो लाग्नु अनौठो होइन । अनौठो त त्यो लागिरहेको छ जो हिजो भएको थिएन आज भइरहेको छ । एकचोटि कल्पना गरौं त, ३० वर्षीय पञ्जायती व्यवस्थामा शक्तिको दुरूपयोग गरी सम्पूर्ण सत्तालाई अनुकूल बनाएको शासकले हिजो ०४६ सालको आन्दोलनको प्रतिकारमा आफ्नो शक्तिलाई उतारेको भए के हुन्थ्यो ? सेना, प्रहरी, सिंगो सत्ता र राजालाई भगवान विष्णुको अवतार मान्ने ठूलो जमातलाई राजा ज्ञानेन्द्रले ०६२÷६३ सालको आन्दोलनको प्रतिकारमा उतारेको भए के हुन्थ्यो ? तर, हिजो निरंकुश भनिएका शासकले नगरेको चेष्टा आज लोकतान्त्रिक भनिएको सत्ताबाट हुँदै छ । ओली स्थायी सत्ताधारी होइनन्, आज नगए पनि भोलि बहिर्गमन हुनु नै छ । तर, उनले आज जे गरिरहेका छन् गलत गरिरहेका छन् । उनका बाध्यता जेसुकै होलान् तर मभन्दा बाहेक कोही योग्य छैनन् भन्ने दम्भ र आफ्नो विपक्षमा बोल्ने सबैलाई तुच्छ बिम्वको प्रयोगमार्फत गरिने अपमान अनौठो छ । त्योभन्दा अनौठो राज्यशक्तिको दुरूपयोग गरेर विरोधीका सभामा ड्रोनमार्फत तस्बिर र भिडियो खिची त्योभन्दा बढी मान्छे सडकमा उतार्ने तयारी गर्नु सबैभन्दा अनौठो छ । यो नेपालको इतिहासमा असहिष्णुताको चरम पराकाष्ठा हुँदै छ । हिजोका शासकले सडकमा पोखिएका असन्तुष्टिलाई सुन्न कम्तीमा छलफलका लागि आमन्त्रण गर्थे । तर, आज लोकतान्त्रिक पद्धतिबाट निर्वाचित जनप्रतिनिधिले अरूका कुरा नसुन्ने, बोलेर तात्तातो जवाफ दिने र आफ्ना समर्थकलाई सडकमै उतार्ने हो भन्ने मनोविज्ञान पालेर बसेका छन् । यसले इतिहासमा अनौठो अभ्यास र अवस्था सिर्जना गरिरहेको छ । लोकतन्त्रमा आन्दोलनकर्मी सत्ता पक्ष हो कि प्रतिपक्षी हो ? सत्तापक्षको रिस ठूलो कि प्रतिपक्षको ? बिग्रिएको अवस्थालाई सडकबाट सम्हाल्ने कि सत्ताबाट ? सुझबुझबाट सम्हाल्ने कि मुठभेडबाट ? भन्ने छुट्याउने अवस्था नहुनु विकराल अवस्थाको पूर्वसंकेत हो ।

अन्त्यमा, अहिले सिंगो देशले सम्हाल्ने र सम्झाउने अभिभावकीय भूमिकाको अभाव महसुस गरिरहेको छ । सडकभन्दा सत्ता रिसाहा भएपछिको अवस्थाले देशलाई ठूलो संकटमा फँसाउने प्रशस्त आधार देखाइरहेको छ । यो अनिश्चितता, अविश्वास र अविवेकीपनको समाधान कसले निकाल्ने ? आफू र आफ्नो मात्रै ठीक भन्ने हठ र न्यूनतम समझदारीबिना हुने प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै समस्याका जड मात्रै हुन् । यसर्थ संविधान र संविधानवादको मर्मअनुसार अगाडि बढ्नुको विकल्प छैन । त्यो बाटोमा देश ढिलो–चाँडो हिँड्ला नै तर विश्वास र गन्तव्यबिनाको हिँडाइले परिणाम दिँदैन, त्यसले अनिश्चितताको भुमरीतर्फ लिने कुरामा सबै सचेत हुन जरुरी छ ।

टिप्पणीहरू