प्रचण्डका अमर्यादित शब्दहरू

प्रचण्डका अमर्यादित शब्दहरू

– लक्ष्मी काफ्ले

नेकपा अध्यक्ष प्रचण्डको अचम्मको बानी छ । भाषण गर्दागर्दै उत्तेजित हुने र आफैँलाई नियन्त्रण गर्न नसक्ने । भीडले अलिक ‘हुटिङ’ गरेर हौस्याइदिनेबित्तिकै प्रचण्ड जोसिइहाल्छन् । कक्षा–१० सम्म घनश्याम, एसएलसी दिनेबेलादेखि पुष्पकमल र राजनीतिमा लागेपछि प्रचण्ड बनेका यिनलाई भावुक हुन, गला अवरुद्ध पार्न र आँसु खसाल्न कतिबेरै लाग्दैन । थाहा छैन यो उनको अभिनय हो कि वास्तविक स्वभाव !

यतिबेला अलग–अलग भएसँगै केपी ओलीविरुद्ध प्रचण्ड जतिबेला पनि जेसुकै बोल्दै छन् । कहिले टाउको चिलाउँछ, कहिले मांसाहारी आन्दोलन गर्न मन लाग्छ । शुक्रबारको सभामा पनि त्यस्तै भयो । मञ्चमै बिच्किएका नारायणकाजी श्रेष्ठलाई दूधे बालकलाई झैँ फकाइफुल्याई गर्नुपरेर हैरान भएका प्रचण्डले केहीबेर शानदार सोफामा आराम गरे । र, भाषण गर्न गए । उक्त विरोधसभामा अरुबेलाभन्दा निकै बढी सहभागी थिए । हजारौँ सहभागी देख्नासाथ प्रचण्ड हौसिए । उनले यस भेलालाई धेरैपटक ‘जनसागर’ भने ।

०६२÷६३ को जनआन्दोलनपछि पहिलोपटक आफूले यत्रो संख्यामा ‘जनसागर’ देखेको उनको जिकिर थियो । गर्धन हल्लाउँदै, दुबै हातका बूढीऔँला घुमाउँदै भन्दै थिए, ‘मैले झण्डै १२÷१५ वर्षपछि यत्रो जनसागर देखेँ ।’ यही ‘जनसागर’ देखेपछि फुरुंग परेका प्रचण्ड भाषणका दुई स्थानमा नमिठो तरिकाले चिप्लिए । दुवै विवादित वाक्य उनले राजतन्त्र र पूर्वराजाको अपमान हुनेगरी बोले ।

भाषण शुरु गरेको केही मिनेटमै ‘राजा–महाराजाका श्रीपेचलाई झिकेर लात्ताले हानेको’ भने । श्रीपेच भनेको राजाले शीरमा लगाएको वस्तु हो । शीरमा पहिरिने कुनै पनि चिजलाई लात्ताले हान्ने कुराको कल्पनासम्म गर्न सकिँदैन । हो, पूर्वराजा ज्ञानेन्द्र अहिले सर्वसाधारण भएका छन् । तर, पुस्तौँ–पुस्तासम्म राजाहरूले प्रयोग गरेको श्रीपेचको बेग्लै महत्व र गरिमा छ । भीडको होहल्लाले हौसिँदा–हौसिँदै प्रचण्डले ‘श्रीपेचलाई झिकेर लात्ताले हानेको’ भन्नु अत्यन्तै अपमानजनक कुरा हो ।

प्रचण्ड त्यतिमै मात्र सीमित भएनन् । भाषणका अधिकांश समय प्रधानमन्त्री केपी ओलीविरुद्ध खनिए । तर, फेरि प्रसंग पूर्वराजाकै ल्याए । हौसिँदै, काँध हल्लाउँदै पूर्वराजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ भन्ने हिम्मत गरे ।

ओलीले संविधान र गणतन्त्र ध्वस्त पारे भन्दाभन्दै उनले एक्कासि पूर्वराजा ज्ञानेन्द्रको नाम बिगार्न भ्याइहाले । ‘ओलीले संविधान ध्वस्त पारे, गणतन्त्र ध्वस्त पारे, अहिले उनको पछि लाग्ने देख्नुभएको छ नि हनुमान तपाईंहरूले ? हिजो ज्ञानेका जो–जो मान्छे छन्, तिनीहरू नै बौरिएका छन् ।’

नेपाल सरकारले नै सम्मान गरेर संग्रहालयमा राखेको श्रीपेचलाई लात्तले हानेको भनिरहँदा सरकार किन मौन बस्छ ?

मुलुकका कोही पनि नेताले सार्वजनिक रूपमा बोल्दा कसैलाई पनि यसरी नाम बिगारेर बोलेको सुनिएको छैन । तर, प्रचण्डले १२ वर्षअघिका यस देशका अभिभावक जो अहिले आफ्नो घरमा सामान्य जीवन बिताइरहेका छन्, उनको ठूलो अपमान गरे ।

स्मरण रहोस्, यिनै प्रचण्ड हुन् जसले एक महिनायता थुप्रै पटक ‘ओलीले नेपालको संविधानमाथि बलात्कार गरे’ भनेका छन् । प्रश्न उठ्छ, प्रचण्डले यी र यस्ता शब्द कसरी उच्चारण गरे होलान् ? ‘बलात्कार’ भनेको कुनै स्त्रीलाई उसको इच्छाविपरित जबर्जस्तीसँग सम्भोग गर्ने काम हो । नेपालको मूल कानुन मानिएको संविधानबारे प्रचण्डले कसरी यति सस्ता कुरा बोल्न सके ? यसबारे महिला जमात किन बोल्दैन ?

प्रचण्डले संविधानमाथि ‘बलात्कार’ शब्द प्रयोग गरिरहँदा किन कोही नागरिक चुइँक्क बोल्दैन ? किन त्यस शब्दको विरोध हुँदैन ? धन्न, शुक्रबारको भाषणमा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई ‘ज्ञाने’ भनेको चाहिँ राप्रपा अध्यक्ष कमल थापाले सुन्न भ्याएछन् वा ढिलोगरी अरू कसैले सुनाइदिएको पनि हुन सक्छ ।

भाषणको २४ घण्टापछि शनिबार कमल थापाको ट्वीट बोल्यो, ‘दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले हिजोको सभामा पूर्वराष्ट्रप्रमुख, लाखौँ जनताको आस्था र विश्वासको धरोहर र एक सम्मानित नागरिक राजा ज्ञानेन्द्रको नामलाई जुन अमर्यादित रूपमा प्रस्तुत गर्नुभयो, त्यसले प्रचण्डको हतास र विचलित मानसिकतालाई प्रदर्शित गरेको छ । यो निचतापूर्ण व्यवहारको निन्दा गर्दछु ।’

मुलुकमा राजतन्त्र पुनःस्थापित हुनुपर्ने मुद्दा बोकेर हिँड्ने कमल थापाले यति मात्र सुने त ? प्रचण्डले खुलेआम रूपमा ‘राजा–महाराजाहरूका श्रीपेचलाई झिकेर लात्ताले हानेको’ भनिरहँदा किन उनी बोल्न सक्दैनन् ? नेपाल सरकारले नै सम्मान गरेर संग्रहालयमा राखेको श्रीपेचलाई लात्तले हानेको भनिरहँदा सरकार किन मौन बस्छ ? आन्दोलनका नाममा हौसिएर जे पायो त्यही बोल्दै हिँड्न कसैलाई पनि छुट छैन ।

टिप्पणीहरू