प्रधानमन्त्रीको पशुपति प्रेम
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिर पुगेर तामझामका साथ पूजापाठ गर्नुभयो । धर्मलाई ‘अफिम’ मान्ने कम्युनिष्ट प्रधानमन्त्रीले कट्टर हिन्दू शासक नरेन्द्र मोदीलेझैँ पूजापाठ गरेको देख्दा कम्युनिष्ट पार्टीका कार्यकर्ताले मात्र हैन लोकले समेत जीब्रो टोक्यो । भौतिकवादमा विश्वास राख्ने कम्युनिष्टहरू भगवान,ईश्वर,धर्मकर्म जस्ता कुरालाई स्वीकार गर्दैनन् । एकपटक ओली स्वयमले भन्नुभएको थियो, ‘ईश्वर छन् त केवल मार्क्स छन् ।’
‘क्षमाको अर्थ गल्ती गरेपछि माफी माग्नु हो । हिन्दू धर्ममा कुनै पापकर्म गरेपछि त्यसबाट मुक्ति पाउन भगवानको शरणमा पुगेर क्षमा पूजा गर्ने चलन छ ।’
प्रधानमन्त्री पदको शपथ खाँदासमेत ईश्वरको सट्टा जनताको नाममा खाएका कम्युनिष्ट प्रधानमन्त्रीले पशुपतिनाथ मन्दिर पुगेर झन्डै आधा घण्टा पूजाआजामा बिताउनुभयो । उहाँले क्षमा पूजा गर्नुभयो । पञ्चामृत पूजा पनि भ्याउनुभयो । एक लाख २५ हजार दीप प्रज्ज्वलन गर्नुभयो । र,अन्तिममा आफ्नै खल्तीबाट झिकेर दिने जसरी पशुपति क्षेत्र विकास कोषलाई ३० करोड रूपैयाँ दिने घोषणा गर्नुभयो । देशका कार्यकारी प्रमुखबाट यस्तो पूजा यसअघि भएको सुनिएको र देखिएको छैन । भएपनि कम्युनिष्ट प्रधानमन्त्रीबाट चाँहि भएको छैन ।
ओलीलाई गणतन्त्र,संघीयता,धर्मनिरपेक्षताजस्ता संविधानमै संस्थागत भैसकेका आन्दोलनका उपलव्धिहरू स्वीकार गर्न नसकेको आरोप लागिरहेको बेला पछिल्ला दिनमा उहाँले गरेका गतिविधिहरूले त्यस्ता आरोपलाई बल पुर्याएको छ । त्यसोभए ओलीको क्षमा पूजाको अन्तर्य के होला ? हिन्दू धर्मका जानकारहरू भन्छन् ‘क्षमाको अर्थ गल्ती गरेपछि माफी माग्नु हो । हिन्दू धर्ममा कुनै पापकर्म गरेपछि त्यसबाट मुक्ति पाउन भगवानको शरणमा पुगेर क्षमा पूजा गर्ने चलन छ ।’
त्यसोभए के प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णयलाई पापकर्मका रूपमा बुझ्नुभएको होला ? बाहिर जे भने पनि उहाँको अन्तर्मनले सायद प्रतिनिधिसभाको ‘हत्या’ गरेर पाप गरेको स्वीकार गरेको हुनुपर्छ । त्यसो हो भने उहाँले पशुपतिनाथको शरणमा पुगेर क्षमा पूजामार्फत् पाप पखाल्ने प्रयास गर्नुभएको रूपमा बुझ्नुपर्ने हुन्छ ।
‘०६२-६३ को जनआन्दोलनमा सहभागी भएको ओलीको कुनै एउटा फोटो सार्वजनिक गर्नुस्
म आजैदेखि तपाईंको पक्षमा खुलेर लाग्छु ।’
प्रधानमन्त्री ओलीलाई धेरैले परिवर्तनविरोधी नेताको रूपमा बुझ्दै आएका छन् । एकात्मक सोच र हिन्दूवादी चिन्तन हावी भएकै कारण उहाँले २०६२÷६३ सालको जनआन्दोलनको जगमा प्राप्त परिवर्तनलाई नरुचाएको आरोप लाग्दै आएको छ । सडकमा गणतन्त्रको नारा लागिरहँदा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने उहाँको त्यतिबेलाको अभिव्यक्तिको आज पनि चर्चा हुने गर्छ । ओलीका प्रतिष्पर्धी नेता र विरोधीले मात्र होइन,आमनागरिकले समेत गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता जस्ता जनआन्दोलनका उपलब्धिप्रति उहाँमा खास लगाव नदेखिने गरेको बताउने गरेका छन् ।
नेकपाका युवा नेता विष्णु रिजालले एउटा सार्वजनिक कार्यक्रममै ओलीलाई चुनौती दिँदै भन्नुभएको थियो ‘०६२-६३ को जनआन्दोलनमा सहभागी भएको ओलीको कुनै एउटा फोटो सार्वजनिक गर्नुस् म आजैदेखि तपाईंको पक्षमा खुलेर लाग्छु ।’ रिजालले मात्र होइन नेकपा (जतिबेला ओली पनि त्यहि पार्टीमा हुनुहुन्थ्यो) का अरु धेरै नेताले समेत गणतन्त्र,संघीयता,धर्मनिरपेक्षतलई ओलीले सच्चा रूपमा आत्मसात् गर्न नसकेको बताउने गरेका छन् ।
धेरै अगाडिको होइन,पछिल्लो एक डेढ महिनायताका घटनाक्रमलाई मात्र हेर्दा पनि ओलीमाथि लागेका आरोप,आमनागरिकका आशंका र अनुमानहरू सत्यको नजिक छन् भन्ने उहाँका गतिविधिहरूले नै पुष्टि गरिरहेका छन् । अर्थात्,पर्दा खुल्दैछ । अब कस्तो नाटक मञ्चन हुने हो त्यो मात्र हेर्न बाँकी छ ।
प्रधानमन्त्री ओलीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो । संविधानको सफल कार्यान्वयन गरेर परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेका बेला संविधानमाथि निर्मम प्रहार गरेको आरोप पनि उहाँमाथि लागेको छ । उहाँको उक्त कदमले मूलतः राजनीतिक परिवर्तन उल्ट्याउन खोजेको अर्थ लगाउनेहरूलाई बल मिलेको छ । प्रतिनिधिसभा विघटनपछि बढेको राजनीतिक ध्रुवीकरण र सडकमा पोखिएको जनमनोविज्ञानले त्यस्तै देखाउँछ । संघीयता र धर्मनिरपेक्षताका विरोधीहरू ओलीको समर्थनमा खुल्नु र नागरिक आन्दोलन संगठित बन्दै जानुले कहीँ न कहीँ त्यसको संकेत गर्छ ।
गणतन्त्रप्रति अनुदार भनिएका ओलीलाई संघीयताको झन् खुङ्खार विरोधी नै भन्ने गरिएको छ । प्रदेश र स्थानीय तहका अधिकार संघमा केन्द्रित गर्ने उहाँको मनशायले त्यस्ता आशंकालाई पुष्टि गरिसकेको छ । एउटा सार्वजनिक कार्यक्रममै उहाँले नेपालमा संघीयता आवश्यक नै नभएको बताउनुभएको थियो । उहाँले समयक्रमसँगै संघीयता खारेज हुने आशयको अभिव्यक्ति दिनुभएको धेरै भएको छैन । ओलीसँग कुम जोडेको फोटो सामाजिक सञ्जालमा राख्दै उहाँलाई ‘बा’ भन्ने एकजना केन्द्रीयस्तरका नेताले ‘अब संघीयता खारेज गर्नुपर्छ’ भन्नुले ठूलो अर्थ राख्छ । उनको यस्तो अभिव्यक्ति प्रतिनिधिसभा विघटनलगत्तै आएको थियो ।
यी सबै घटनाक्रमलाई गहिरो विश्लेषण गरिरहेका एक जना राजनीतिक विश्लेषक भन्नुहुन्छ, ‘ओली कहिल्यै पनि गणतन्त्र,धर्मनिरपेक्षता र संघीयताको पक्षमा थिएनन् । प्रधानमन्त्री बन्ने लोभमा जबर्जस्त स्वीकार गरिएका यी उपलब्धि उनको पद धरापमा पर्ने निश्चित भएसँगै थप खतरामा पर्नसक्छ । अहिले त रूप पक्ष मात्र प्रकट भएको हो । सार झनै खतरा छ ।’
प्रधानमन्त्री ओलीलाई आफ्नो ‘आइडल’ मान्ने नेकपा ओली समूहका एक मध्यमस्तरका नेताका अनुसार ओली कहिल्यै संघीयता र धर्मनिरपेक्षताका पक्षमा थिएनन् र छैनन् । ती नेताले भनेका थिए, ‘ओली कमरेड कहिल्यै पनि संघीयता र धर्मनिरपेक्षताको पक्षमा हुनुहुन्न । त्यसकारण उहाँलाई मानिएको हो । प्रचण्डले यो मुद्दा बोके उहाँलाई पनि मानिन्छ ।’
प्रधानमन्त्री ओलीका सार्वजनिक अभिव्यक्ति,उहाँका गतिविधि र उहाँमाथि लागेका आरोपहरू केवल ‘स्याल कराउनु र कुखुरा हराउनु’ भनेजस्तो पक्कै होइन । बरु पूजापाठका नाममा प्रतिनिधिसभा विघटन मात्र नभएर आफूले चाहेको खण्डमा संघीयता र धर्मनिरपेक्षतालाई समेत उल्ट्याउन सक्छु भन्ने सन्देश हुनसक्छ । ओलीले पशुपतिमा गरेको पूजापाठलाई सामान्य धर्मकर्मका रूपमा मात्र बुझ्नु सतही र अल्पज्ञान हुने विश्लेषकहरूको ठहर छ । त्यसैले प्रधानमन्त्रीको पशुपतिनाथ मन्दिरको भ्रमण र पूजापाठ ‘पशुपतिको जात्रा,सिद्राको व्यापार’ हो भन्नेहरु थुप्रै छन् ।
टिप्पणीहरू