तीन महिनामा सबैलाई खोप : प्रधानमन्त्री

तीन महिनामा सबैलाई खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा ‘मागी मागी छोराको बिहे’ भन्ने नेपाली उखानसँग चरितार्थ हुने सम्भावना बढेको छ । बल्ल बल्ल अनुदानमा प्राप्त १० लाख डोज खोप मात्र हात परेको बेला प्रधानमन्त्रीको उक्त घोषणाले खासै अर्थ नराख्ने बताइन्छ ।

कोरोनाबिरुद्धको खोप अझै सर्वत्र अभाव छ । विकसित देशहरूलेसमेत विश्वका सबै नागरिकलाई खोप लगाउन वर्षौं लाग्ने बताइरहेका छन् । नेपालले न आफैँ खोप उत्पादन गर्छ, न खरिदका लागि भरपर्दो तयारी नै गरेको छ । यस्तो अवस्थामा तीन महिनामा सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा असम्भव मात्र नभई हाँस्यास्पद समेत रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू बताउँछन् ।

नेपालमा मंगलबारदेखि शुभारम्भ गरिएको ‘कोभिसिल्ड’ खोप भारतीय उत्पादन हो ।

लामो अनुसन्धान र पटक पटकको परीक्षणपछि केही देशले कोरोना विरुद्धको खोप विकसित गरेका हुन् । केहिले खोपको विकाससँगै लगाउने काम पनि शुरु गरिसकेका छन् । छिमेकी राष्ट्रहरू चीन र भारतले समेत उक्त खोप विकाससँगै आपतकालीन प्रयोग गर्न थालेका हुन् ।

नेपालमा मंगलबारदेखि शुभारम्भ गरिएको ‘कोभिसिल्ड’ खोप भारतीय उत्पादन हो । उक्त खोप भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको हो । अनुदानमा पाएको १० लाख डोज खोप सरकारकै घोषणाअनुसार पनि स्वास्थ्य क्षेत्रको अग्रमोर्चामा काम गर्नेहरूका लागि समेत पर्याप्त हुँदैन । थप खोपको लागि कुनै सम्झौता समेत भएको छैन । यस्तो परिस्थितिमा प्रधानमन्त्रीले भनेझैँ तीन महिनाभित्र सबै नागरिकलाई यो खोप कसरी लगाउन सकिएला ?

हुन तः घोषणा गरिदिने तर कार्यान्वयन नगर्ने हाम्रो सरकार र प्रधानमन्त्री स्वयमको शैली र प्रवृत्ति नै हो । पानीजहाज,चुच्चे रेल,घर घरको चुल्होमा ग्याँसको लाइन पुर्याउने घोषणाझैँ तीन महिनामा सबैलाई खोप लगाउने उहाँको भनाई बोलीमै सीमित रहने त हैन ? आलोचकहरू कुरा काट्दैछन् ।

टिप्पणीहरू