तीन दिन पनि टिकेन ओलीको बोली

तीन दिन पनि टिकेन ओलीको बोली

प्रधानमन्त्री केपी शर्मा ओली वाककलामा पोख्त हुनुहुन्छ । कुरा मिलाउन र बटार्न पनि त्यत्तिकै सिपालु मानिनुहुन्छ । ठूला-ठूला घोषणा गर्दिने तर कार्यान्वयन नगर्ने त नामको पर्यायजस्तै भैसकेको छ । रेल,पानीजहाज, ग्याँसलाइन हुँदै कोरोना खोपसम्मको घोषणामा ओलीलाई आफ्नै बोली ‘गलपासो’ बनिसकेको छ ।

तीन महिनामै सबैलाई कोरोनाविरुद्धको खोप लगाउने बालुवाटारबाट गरेको उहाँको घोषणा चितवन पुगेर फेरिएको छ । ओलीले तीन दिनअघि तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने दावी गर्नुभएको थियो । माघ १४ गते बालुवाटारबाटै खोप अभियानको सुरुवात गर्दै उहाँले वैशाखसम्ममा सबै नागरिकले खोप पाइसक्ने घोषणा गर्नुभएको थियो ।

तर,आज (शनिबार)चितवन पुग्नुभएका ओलीले सबै नेपालीसम्म खोप पुग्न एक वर्ष लाग्ने बताउनुभयो । उहाँले कोभिडविरुद्धको उपचारमा फ्रन्टलाइनमा काम गर्नेलाई तीन महिनाभित्र खोप लगाइसक्ने र सन् २०२१ भित्र सबै नागरिकसम्म खोप पुर्याउने दावी गर्नुभयो ।

तीन दिनअघि तीन महिनाभित्र सबै जनतालाई कोभिडविरुद्धको खोप पुर्याउने आफ्नै भनाइबाट पछि हट्दै उहाँको यस्तो धारणा सार्वजनिक भएको हो ।

यसैपनि ओलीको घोषणा पूरा हुनेवाला थिएन । उहाँको आजको घोषणा पनि पूरा हुने सम्भावना कम छ । नेपालको न आफ्नै खोप उत्पादन छ,न खरिदका लागि भरपर्दो तयारी नै देखिन्छ । अर्काले अनुदानमा दिएको सीमित खोप बल्लबल हात परेको छ । यस्तो सच्चाईका बीच प्रधानमन्त्रीले भने झैं न तीन महिनामा सबैलाई खोप दिन सम्भव थियो,न एक वर्षमै हुन्छ ।

प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने तयारीमा लाग्नुभएका प्रधानमन्त्रीलाई केही लोकप्रिय कुरा गर्नैपर्ने बाध्यता होला,गर्नुभो । रेल,पानीजहाज, आदि इत्यादिमा राजनीति गरेपनि जनस्वास्थ्यसंग जोडिएका यस्ता संवेदनशील कुरामा चैं राजनीति नगरे हुँदैन प्रधानमन्त्रीज्यू ?

टिप्पणीहरू