नयाँ मन्त्रीले खरानी घसे: नेपाल सरकार कि श्री पाँच को सरकार ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छाडेर बालुवाटार समूहतर्फ लागेपछि खानेपानी मन्त्री बनेका मणिचन्द्र थापाले आफू कुन राजनीतिक व्यवस्थामा रहेको भन्ने हेक्कासमेत नराखेको पाइएको छ । नेकपा ओली समूहको कार्यक्रममा भाग लिन सुर्खेत पुगेका उनले प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेका छन् । राजतन्त्र फालेर गणतन्त्र ल्याउन दिलोज्यान दिएका भनिएका थापाले प्रधानमन्त्री ओलीको क्याम्पमा गएपछि मुलुकमा राजतन्त्र नभएको अनुभव होइन भेउसमेत पाउन नसकेको उनैको मन्तव्यबाट पुष्टि भएको छ ।
प्रधानमन्त्रीले गैरसंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतर्फ अग्रसर भएको र आफूलाई श्री ३ को रुपमा प्रस्तुत गर्न थालेको आरोप लागिरहेको छ । यस्तो बेलामा फुत्किएको थापाको मनको कुरोले ओली सरकारका मन्त्रीहरू कुन मनस्थितिमा रहेछन् भन्ने अनुमान गर्न सजिलैसँग सकिने एकजना मनोविज्ञानवेत्ताले बताएका छन् । उनी भन्छन् ‘ओलीले सबै मन्त्रीलाई श्री ३ को पारा देखाएको कारण थापाले सम्भवतः राजतन्त्रको अनुभव गरेकाले त्यसो भनेका हुनसक्छन् ।’
टिप्पणीहरू