अब आन्दोलनको विकल्प छैनः सिसडोलबासी
उपत्यकाको फोहोर बिसर्जन क्षेत्र नुवाकोटको सिसडोलबासीले अब आन्दोलनको विकल्प नभएको बताएका छन् । शनिबार राजधानीमा भएको फोहोरमैला प्रभावित क्षेत्रका सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रभावितहरुले पटक पटक आफ्ना समस्या र मागप्रति राज्य गैर जिम्मेवार भएको बताए । कार्यक्रममा बोल्दै बन्चरे डाँडा ल्यान्डफिल साइट सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना बिश्वासले राजनीतिक दलहरुको झगडा र गुटको असर परेको भन्दै प्रभावित क्षेत्रका बासिन्दा चरणबद्ध आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले फोहोर बिसर्जन क्षेत्रका बासिन्दाको स्वाथ्य र वातावरणीय प्रभावबारे गम्भिर हुनुपर्ने भन्दै स्थानीयको मागबारे कुन कुन निकाय चुके समीक्षा हुनुपर्ने बताउनुभयो ।
ककनी प्रगतिशील युवा क्लबका अध्यक्ष दिनेश ढुङ्गानाले राजनीतिक खिचातानीको असर स्थानीयमा परेको भन्दै आन्दोलन जरुरी भएको बताउनुभयो ।
पत्रकार दिपेश न्यौपानेले सरकारले प्रतिबद्धताअनुसार काम नगरेपछि स्थानीयले आन्दोलन गर्ने भनेर पटक पटक समाचार आएपनि आन्दोलन पनि नभएको र समस्या पनि ज्युँ का त्युँ रहेको बताउनुभयो । उहाँले सिसडोल क्षेत्रमा स्कुल पुल बाटो बन्न कति वर्ष लाग्छ भन्ने प्रश्न गर्दै प्रभावित बासिन्दालाई जनताको माझमा जान अनुरोध गर्नुभयो ।
नुवाकोट ककनी ३ का स्थानीय रामचन्द्र ढुङ्गानाले उपत्यकाबाट लगेर फालिने फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरिनुपर्ने भन्दै प्रभावित क्षेत्रलाई मुआब्जा दिनुपर्ने माग गर्नुभयो ।
रोयल युथ क्लबका अध्यक्ष राजबाबू न्यौपानेले फोहोरमैलाका कारण जटिल स्वास्थ्य समस्या देखिएकाले उपचारका लागि प्रभावित क्षेत्रमा अस्पताल तत्काल निर्माण गरिनुपर्ने बताउनुभयो । जनताका विकासका मागलाई राज्यले वेवास्ता गर्न नमिल्ने उहाँको भनाई थियो । स्थानीय शिवालय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक प्रकाश घिमिरेले जनता आजित भइसकेको भन्दै अब फोहोर फाल्न दिन नहुने बताउनुभयो । २०६० सालदेखि फोहोर फाल्न थालेको भएपनि हालसम्म कुनै परिणाममुखी काम नभएको भन्दै उहाँले काठमाडौँको फोहोर नुवाकोटले स्याहार्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
ककनी १ स्थानीय युवा रामेश्वर फुयालले सिसडोल क्षेत्रले फोहोरबाट ग्रसित हुने नभइ मोहोर बनाउनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका क्षेत्रीय उपाध्यक्ष कुमार सिम्खडाले १६ वर्षसम्म विभिन्न समिति बनेपनि मागबारे कुनै प्रगति नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले स्थानीय जनप्रतिनिधिले आवाज उठाइदिनुपर्ने बताउनुभयो । ककनी ३ का नवराज बजगाईंले पटक पटक सरोकार समिति बनेपनि सर्वदलीय समिति नभएको बताउनुभयो । अर्जुन ढुङ्गानाले विकासको आस देखाएर फोहोर फाल्न सुरु भएपनि आसाअनुसारको काम नभएको बताउनुभयो । उहाँले काठमाडौँ सफा सभ्य देखाउन आफूहरु पीडित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । मानवबस्ती बाहेको क्षेत्रमा स्वास्थ्य मापदण्ड सहित फोहोर फालिनुपर्ने उहाँको भनाई थियो । यस्तै ककनी २ का सन्तोष कुमार पुडासैनीले विकासको आसामा बा हरुले गरेको सम्झौताको समाधान खोज्नुपर्ने बताउनुभयो ।
ककनी ३ राप्रपा नेता बिष्णु तिमल्सिनाले महानगरले आफूहरुलाई मानवीय व्यवहार नगरेको गुनासो गर्नुभयो ।
सिसडोल फोहोरमैला सरोकार समितिका पूर्व अध्यक्ष राममणी घिमिरेले स्थानीय जनप्रतिनिधि र अधिकार सप्पन्न समिति जरुरी भएको र त्यो नै महत्त्वपूर्ण अस्त्र भएको भन्दै विगतमा भएको आन्दोलनले परिणाम दिन नसकेको बताउनुभयो । ककनी २ का वडासदस्य ठाकुर घिमिरेले जनप्रतिनिधिको बोली नसुन्ने गरिएको गुनासो गर्नुभयो ।
ककनी २ का वडाअध्यक्ष केदार पौडेलले दिउँसो तेल नखाने राती कोल चाट्ने प्रवृतिले समस्या भएको सुनाउनुभयो । स्थानीय बिचमा नै एकता नहुँदा आन्दोलनमै समस्या भएको उहाँको भनाई थियो ।
वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाईंले काठमाडौँ महानगर र मन्त्रालयले प्रतिबद्धताअनुसार काम नगरेको बताउनुभयो । २ करोड बजेट बीमा र अस्पतालको कुरा अहिलेसम्म नभएको भन्दै उहाँले अब जनप्रतिनिधि नै आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिनुभयो ।
राप्रपाका केन्द्रीय सदस्य श्यामसुन्दर बलामीले दलबाट प्रतिनिधित्व गरेको स्थायी समिति जरुरी भएको बताउनुभयो । नेपाली काङ्ग्रेस नुवाकोटका नेता श्रीराम ढुङ्गाना दलका नेताले सरकारमा हुँदा आन्दोलनका कुरा नगर्ने र सरकारबाहिर हुँदा मात्र कुरा गर्ने गरेकोमा प्रश्न गर्नुभयो ।
नेकपा ककनी गाउँपालिकाका इन्चार्ज जित बहादुर बलामीले अब निचोड निकाल्ने गरी स्थानीय बासिन्दा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले स्थानीयको मागअनुसार स्थानीय सरकार साथ दिन तयार रहेको बताउनुभयो । बन्चरे डाँडा ल्यान्डफिल साइट सरोकार समितिले नागर्जुन पार्टी प्यालेसमा गरेको कार्यक्रममा ७५ जना सरोकारवालाको सहभागिता थियो ।
टिप्पणीहरू