आन्दोलननिम्ति नेविसंघको निर्देशन
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले गर्ने आन्दोलनका कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
हिजो शनिवार जिल्ला तथा इकाई समितिहरुलाई परिपत्र गर्दै नेविसंघले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक तथा सर्वसत्तावाद उन्मुख भनेको छ । अध्यक्ष राजिव ढुंगानाद्वारा जारी परिपत्रमा संसद विघटनविरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनका कार्यक्रमलाई प्रभावकारी बनाउन सबै तहका कमिटीलाई सक्रिय सहभागी हुन निर्देशन गरिएको हो ।
नेविसंघले माघ १९,२४ र फागुन ३ गते कांग्रेसले घोषणा गरेको विरोध कार्यक्रमलाई सफल बनाउन पार्टीका जिल्ला ‘कमिटीहरुसंग समन्वय गर्दै तयारीमा जुट्न पनि निर्देशन दिएको छ ।
त्यस्तै, नेविसंघले माघ १९ गते कांग्रेसका भातृ संस्थाहरुले ७७ वटै जिल्लामा आयोजना गर्ने संयुक्त विरोधसभाको तयारीमा जुट्न पनि निर्देशन दिएको छ । विरोधसभाका लागि संगठनका तर्फबाट समन्वय गर्न सातै प्रदेशमा प्रतिनिधि तोकिएको छ । जसअनुसार प्रदेश १ मा उपाध्यक्ष तुलसा पन्त र महामन्त्री उर्मिला थपलियालाई जिम्मेवारी छ भने प्रदेश २ मा महामन्त्री प्रभात दाहाललाई तोकिएको छ ।
त्यसैगरी,बागमती प्रदेशमा महामन्त्रीद्वय दिपक भट्टराई र मनोज वैध, गण्डकी प्रदेशमा महामन्त्री बलदेव तिमिल्सिना, लुम्बिनी प्रदेशमा उपाध्यक्ष मुक्ति पौडेल,कर्णाली प्रदेशमा महामन्त्री महेश्वरी कुंवर र सुदूर पश्चिम प्रदेशमा महामन्त्री युवराज पाण्डेलाई समन्वय गर्न भनिएको छ ।
टिप्पणीहरू