माधव-प्रचण्डमाथि खनिए गोकुल
नेकपा ओली समूहका नेता, पूर्वसूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेपालमा प्रधानमन्त्री केपी ओली जस्तो राष्ट्रवादी नेता अरु कोही नभएको दावी गरेका छन् । शनिवार चौँरीदेउराली-काठमाडौ सम्पर्क मन्चले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सँबोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन् ।
बाँस्कोटाले प्रधानमन्त्री ओलीको राष्ट्रवादी छवि र बढ्दो लोकप्रियता देखेर नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले उनलाई हटाउन खोजेको दावी गरे । प्रचण्ड र नेपालमा बढेको पदीय लोभकै कारण राजनैतिक अस्थिरता सृजना भएको उनको आरोप छ ।
उनले प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा हुने र निर्वाचनपछि को राष्ट्रवादी र को राष्ट्रघाती जनताले छुट्याउने बताए ।
नेकपा ओली खेमाले काभ्रेको चौरीदेउरालीबाट काठमाडौँ आएर कर्मथलो बनाई बसोबास गरिरहेकाहरुको पालिकास्तरीय भेला गरेको हो । भेलामा झन्डै दुईसय जना नेता तथा कार्यकर्ताको उपस्थिति रहेको बताइएको छ ।
मन्चका अध्यक्ष केशरी गौतमको अध्यक्षतामा सम्पन भेलाले चौरीदेउराली-काठमाडौं सम्पर्क मंचको आयोजक कमिटी गठन गरेको छ । सरमदीप गौतमको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको हो ।
टिप्पणीहरू