सबैले यी नमूना मेयरबाट सिके ! – चुनावलाई गाडीको जोगाड शुरु

सबैले यी नमूना मेयरबाट सिके !  – चुनावलाई गाडीको जोगाड शुरु

गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई आगामी निर्वाचनको निम्ति सवारी साधन र सञ्चार साधनको बन्दोबस्त र जोगाडको काम शुरु गर्न निर्देशन दिएको छ । नेपाली सेना र नेपाल प्रहरीलेझैँ सशस्त्र प्रहरी बलले पनि मन्त्रालयको निर्देशनबमोजिम सेवा निर्देशनालय र सबै बाहिनी मुख्यालयलाई उक्त बन्दोबस्तीको लगत केन्द्रमा उपलब्ध गराउन हालै पत्राचार गरेको बताइएको छ ।

गृहले सुरक्षा निकायहरूलाई चालु हालतमा रहेका साना, मझौला र ठूला गाडीको लगत उतार्न आदेश दिएको हो । स्रोतका अनुसार २०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा प्रयोग भएका सवारी साधनमध्ये चालु हालतमा रहेकाको विवरण प्राप्त गर्न उक्त निर्देशन दिएको बताइन्छ ।

उता, झापास्थित कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने आफूले चढ्न किनेको नगरपालिकाको बोलेरो जीप इलाका प्रहरी कार्यालयलाई दिएका छन् । पोखरेलले मेयरलेभन्दा प्रहरीले उक्त सवारी साधनको प्रयोग गर्दा सर्वसाधारणको सुरक्षा बढी हुने भएकोले आफूले चढ्न खरिद गरिएको सवारी साधन प्रहरीलाई दिएको बताएका छन् । उनले यसअघि पनि सवारी साधन खरिदको लागि छुट्याइएको ५० लाख रूपैयाँ प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए ।

नगरपालिकाले स्थानीय प्रहरी कार्यालयलाई यसअघि भाडामा लिएको सवारी साधन उपलब्ध गराउँदै आएको थियो । तर,अहिले महँगो भाडाका कारण आफैँले चढ्न खरिद गरिएको बोलेरो जीप हस्तान्तरण गर्नु उपयुक्त देखिएकाले उक्त निर्णय गरिएको पोखरेलले बताएका छन् ।

नगरप्रमुखले आफूले कार्यालय प्रयोजनमा पहिलेझैँ साइकल र मोटरसाइकल नै प्रयोग गर्ने बताएका छन् । उनले भनेका छन् ‘अत्यावश्यक अवस्थामा मेरो आफ्नो निजी गाडी प्रयोग गर्छु,’ उनले भने, ‘नगरपालिकामा अर्को गाडी छ, विशेष काम परे त्यो पनि प्रयोग गर्न सकिन्छ ।’

 

टिप्पणीहरू