किराँतीहरू कसरी आदिवासी ?

किराँतीहरू कसरी आदिवासी ?

राई जातिका किराती तिब्बतको ल्हासा भएर खम्बु क्षेत्र हुँदै पहिले काठमाडौं र त्यसपछि पूर्वतर्फ लागेका हुन् । यिनको पुख्र्याैली थलो अहिलेको मंगोलिया हो । त्यही कारण कतिपयले आफूलाई मंगोल भनेर पनि चिनाउँछन् । यिनीहरूको गोत्र ल्हासा हुनुले त्यही कुराको संकेत गर्छ ।

लिम्बूचाहिँ सिन्धुको किनारै किनार काशी आए । त्यहाँबाट केही पूर्व लागे । केहीचाहिँ कोशी र गंगाको संगम भएको ठाउँबाट उत्तरतिर लागे । असमका बोडोहरू, झापाका मेचेहरूसँग लिम्बूहरूको शारीरिक चालढाल, संस्कार आदि धेरै कुरा मिल्नु त्यही कुराको एउटा आधार हो । झापा, मोरङका धिमाल र किराती एकै भएको बारेमा त धेरैले यसअघि नै किताब लेखिसकेका छन् । लिम्बूहरूको गोत्र कश्यप हुनुले यिनीहरू काशी हुँदै आएको कुरालाई बलियो आधार प्रदान गर्छ ।

काठमाडौंमा लिच्छविको आक्रमण भएर लखेटिएपछि किरातीहरू पूर्वीपहाडतिर आए । त्यसबेला त्यहाँ नागाको बसोबास थियो । हाम्रो खार्पासहितका पहाडी इलाकामा अहिले पनि नागाहरूले गहनाको रूपमा प्रयोग गर्ने पुँवालो, जिमाला, सिमाला आदि भनिने गरगहना भेटिनु र ती वस्तु नागाहरूले एकदमै बहुमूल्य मानी करोडभन्दा बढी तिरेर खरिद गर्नुले नागाहरू यहाँका रैथाने थिए भन्ने बलियो आधार प्रदान गर्छ ।

किरातीका चिहानमा मृतकले प्रयोग गरेका भाँडावर्तन, लुगाफाटो, हातहतियार आदि गाड्ने चलन छ । अहिले पनि तिनका चिहान खन्दा ती वस्तु भेटिन्छन् । नागाहरूका चिहानमा चाहिँ पुँवालो, जिमाला, सिमाला आदि भेटिन्छन् । विगत वर्षमा पूर्वी पहाडमा भएका नागाहरूका चिहान खनेर ती वस्तु खोज्ने काममा केही मानिस निकै सक्रिय थिए । तिनीहरूमध्ये केही मान्छे ‘खार्पामा भएको तपाईंको खेत खन्न दिनुपर्‍यो, हामीले खोजेको वस्तु भेटिएछ भने त्यसको केही हिस्सा हजुरलाई पनि दिन्छौँ । खनिसकेपछि खेत जस्ताको तस्तै बनाइदिन्छौँ’ भन्दै मकहाँ पनि आएका थिए ।

नागाल्याण्ड बस्ने पढेलेखेका नागा हाम्रो पुख्र्यौली थलो नेपाल हो, हामी नेपालबाटै आएका हौँ भन्छन् रे ! आफ्ना पूर्वजबाट सुन्दै आएको किम्वदन्तीका आधारमा ‘दुङ्माथुम्को छेउको नागछाँगा भन्ने ठाउँको ओढारमा अहिले पनि हाम्रा हातहतियार छन्’ भन्छन् रे ! म आफैँले त तिनीहरूसँग प्रत्यक्ष कुरा गर्न पाएको छैन तर तिनीहरूसँग कुरा गरेर आउनेहरूले सुनाएका हुन् । उनीहरूले भनेको त्यो ठाउँ भोजपुरको पुरानो कटुन्जे र बैकुण्ठे गाविसको सिमानामा पर्छ । हाल ती ठाउँ रामप्रसाद राई गाउँपालिकाअन्तर्गत वडा नं. २ र ६ भएका छन् । त्यो नागछाँगा आफ्नो क्षेत्रमा पर्छ भन्ने विषयको गाविस हुँदादेखिको विवाद अहिले वडा हुँदासम्म पनि कायम छ भन्ने सुनेको छु । ०३९ सालतिर मोरङ, मर्चनियाको कामतमा भएका बेला एकपटक भोजपुरको दिल्पातिरबाट मधेस झरेका एक जना राईसँग यस विषयमा कुरा भएको थियो । ‘तपाईंहरू पनि आफूलाई पूर्वीपहाडका आदिवासी हौँ भन्नुहुन्छ, नागाहरू पनि आफूहरूको पुख्र्यौली थलो पूर्वीपहाड हो भन्दा रहेछन् । खासमा तपाईंहरू आदिवासी कि नागा ?’ भनेर सोधेको थिएँ ।

उनले भनेको कथाअनुसार ‘काठमाडौंबाट पूर्व लागेका किरातीले रहँदै बस्दै गएपछि नागामाथि अलि बढी नै थिचोमिचो गर्न थालेछन् । अत्याचार अति भएपछि नागाहरू प्रतिकारमा उत्रिए । उनीहरूबीच पटकपटक झगडा भइरह्यो । झगडामा हरेकचोटि नागाले जित्दा रहेछन् । त्यसपछि किरातीले नागालाई धपाउन षड्यन्त्र गरेछन् । नागाको मुखियालाई बोलाएर भनेछन्, ‘यसरी कति दिन झैझगडा गरिराख्ने ? बरु एउटा काम गरौं, देवीथानमा भोलि तिमी आऊ, हामी पनि आउँछौँ । त्यहाँको जमिनमा आ–आफूले लिंगो गाडौं र जमिनमा लात्तीले हिर्काऊँ । जसको लिंगो हल्लाउँदा पानी झर्छ र लात्तीले हिर्काउँदा जमिन बोल्छ ऊ बस्ने । लिंगो हल्लाउँदा पानी झरेन र जमिन पनि बोलेन भने ऊ आफ्ना दाजुभाइ लिएर हिँड्ने । सोझा नागाले किरातीको शर्त स्विकारेछन् । तर, किरातीले चलाखी गरेर आफूले गाड्ने लिंगोमा टोड्को पारेर पानी भरेछन् । अनि कुल्चिने ठाउँमा खनेर ठूला खाले भ्यागुता ल्याई नागाले थाहा नपाउने गरी पुरेछन् ।

शर्तबमोजिम भोलिपल्ट दुवै पक्ष भेला भए । दुवैले आ–आफ्ना लिंगा गाडे । त्यसपछि किरातीले नागालाई लिंगो हल्लाउन भने । पानी झर्ने कुरै थिएन, झरेन । त्यसपछि जमिनमा लात्तीले हिर्काउन भने, जमिन पनि बोलेन । किराती मुखियाको पालोमा लिंगो हल्लाउनासाथ पानी झ¥यो । ‘हेर, एउटा बाजी हामीले जित्यौँ’, किरातीले भने । त्यसपछि जमिनमा लात्तीले हिर्काए । कच्याक गरेर भ्यागुतो करायो । त्यति सुनेपछि जम्मा भएका किरातीमा खुशियाली छायो । त्यसपछि शर्त स्वीकार्दै नागाहरू हाम्रो पूर्वीपहाड छाडेर असम हुँदै अहिलेको नागाल्याण्डतिर लागेका हुन् ।’

मैले त नागा र किरातीबारे सुनेका कुरा उल्लेख गरेको हुँ । तथ्य के हो, अन्वेषकले खोजी गरुन् । नागाहरूसँग मिल्दोजुल्दो रूपरंग भएका जिउमा लुगा नलाउने सोक्पा भन्ने जाति कुनै बेला संखुवासभातिर थियो भन्नेबारे सुनेको सन्दर्भ अब बताउँछु ।

कुरा वि.सं. १९९०–०९२ सालतिरको हो । रावा खोलाले धान हुने खेत बगाएर अलि समस्या भएपछि मेरा भतिजा दीनानाथ पोखरेल कमाइ हुने खेत खोज्दै जाने सिलसिलामा अरूण नदीको किनारै किनार संखुवासभातिर पनि पुगेका रहेछन् । त्यो बेला गाउँलेमाझ हेदङ्नानुममा लडाई गरेर मरेका सोक्पाहरूबारेको किम्वदन्ती निकै लोकप्रिय रहेछ । मेरो अनुमानमा त्यो ठाउँ अरूण नदी किनारमा कतै हुनुपर्छ ।

ती सोक्पाहरू अरू मान्छे हत्तपत्त पुग्न नसक्ने माथि भीरमा रहेको ओडारमा हुलै बस्दा रहेछन् । भीरको मुन्तिर उब्जाउयोग्य खेत रहेछ । त्यहाँ दिउँसो किसानले जेजे गर्छन्, माथि ओडारमा बसेर सबै हेर्दा रहेछन् । अनि रात परेपछि खेतमा आएर त्यही काम दोहोर्‍याउँदा रहेछन् । जस्तो किसानले मकै गोडे भने, राति आएर उनीहरू पनि त्यही काम गर्ने, किसानले मकै छाँटे भने राति आएर सबै मकै उखेली सोत्तर पारिदिने आदि । हरेक सिजनमा त्यही क्रिया दोहोर्‍याएर बाली खानै नदिएपछि गाउँलेले एउटा उपाय रचेछन् । भोलिपल्ट ती गाउँले जाँडरक्सीका घ्याम्पा लिएर हुलै गएछन् । बसेर मस्तसँग जाँडरक्सी पिएजस्तो गरेछन् । त्यसपछि हतियार निकालेर एकआपसमा हिर्काएजस्तो, चोट लागेर पछारिएजस्तो गरेछन् । अनि जाँडरक्सीका घ्याम्पा र हातहतियार त्यहीँ छाडेर फर्केछन् । भोलिपल्ट गाउँले त्यहाँ जाँदा सोक्पाहरू जति सबै रगतपच्छे भएर भुइँमा सोत्तरसरि लडिरहेका ! उनीहरूमध्येको एउटाचाहिँ बचेको रहेछ । गाउँलेले हेर्दा माथि ओडारमा एक्लै देखिन्थ्यो रे ! केही महिनापछि त्यो पनि त्यहाँ देखिन छाड्यो रे !

मैले त आफ्ना भतिजबाट सुनेको कुरा उल्लेख गरेको हुँ । कति सत्य हो, अन्वेषकले नै खोजी गरुन् ।

(गत पुस १५ गते दिवंगत भएका गणेशप्रसाद पोखरेलको प्रकाशोन्मुख कृति ‘रैतीको इतिहास’बाट । उनी १८२९ मा पृथ्वीनारायण शाहलाई चौदण्डी राज्य विजय गर्न सहयोग गर्ने खार्पाली हरिनन्द पोखरेलका चौथो पुस्ता हुन् ।)
प्रस्तुति ः कृष्ण अविरल

टिप्पणीहरू