विप्लव छाडेर दाहाल–नेपाल समूहमा
कास्कीका एकजना विप्लव कार्यकर्ताले विज्ञप्तिमार्फत् आफू कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा देखिएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपामा प्रवेश गरेको जानकारी गराएका छन् । कास्कीको रूपा गाउँपालिका ४, का राजकुमार घिमिरेले प्रकाशित गरेको विज्ञप्तिमा नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाली कम्युनिष्ट आन्दोलनका बाँकी कार्यभार पूरा नहुने लक्षण देखिएपछि आफूले उक्त निर्णय गरेको बताएका छन् ।
विज्ञप्तिमा ‘प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमको विरोधमा सिंगो देश आन्दोलनमा उत्रेपछि देश अग्रगमन र पश्चगमनको दुई ध्रुवमा विभाजित हुन पुगेको छ । इतिहासको यो विशेष मोडमा कम्युनिष्ट आन्दोलनलाई अझै अगाडि बढाउन र जनताको हक अधिकार सुरक्षित एवम् सुनिश्चित गर्न सबै अग्रगामी शक्तिहरू एकै कित्तामा ध्रुविकृत हुनुुपर्ने आवश्यकता महसुस भएको’ उल्लेख छ । उनले लेखेका छन् ‘नेपाली जनताले जनयुद्ध र जनआन्दोलनबाट स्थापित गरेको संविधानसभामार्फत् जननिर्वाचित प्रतिनिधिले बनाएको संविधानमाथि निर्मम प्रहार गर्दै प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनले उहाँको दक्षिणपन्थी मुकुण्डो पनि खुलेको छ ।’
टिप्पणीहरू