सक्नेले गर्दा रहेछन् स्थगन
बागमती प्रदेशसभा बैठक अचानक स्थगित भएपछि नेकपा (बहुमत) का प्रदेशसभा सदस्यहरु आन्दोलित भएका छन् । बिना कारण बैठक स्थगित गरिएको भन्दै उनीहरुले आइतबार प्रदेशसभा सचिवालयअगाडि नाराबाजी गरेका हुन् ।
नेकपाले मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । आजको बैठकमा सो प्रस्तावमाथि छलफल गर्ने तयारी थियो ।
तर,शनिबार प्रदेशसभा सचिव कृष्णहरि खड्काले फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका थिए । बैठक स्थगितको सूचना बाहिर आएपछि नेकपा बागमती प्रदेश संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले आइतबार पत्रकार सम्मेलन गर्दै त्यसको विरोध गर्नुभएको हो । उहाँले मुख्यमन्त्री पौडेलबिरुद्ध अविश्वासको प्रस्ताव पारित हुने डरले बैठक स्थगित गरिएको बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा शाक्यले तत्काल बैठक बोलाउन पनि माग गर्नुभएको छ । नेकपाको विभाजनले प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ। यसअघि प्रदेश १ को बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । प्रदेश १ मा पनि मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । राई र पौडेल दुवै ओली पक्षका हुन् ।
टिप्पणीहरू