नेकपाका दुईथरिको झडप,पाँच घाइते
नुवाकोटमा नेकपा ओली समूहका कार्यकर्ताको आक्रमणबाट नेकपा (बहुमत) का पाँच कार्यकर्ता घाइते भएका छन् । आइतबार दुई पक्षबीच जिल्लाको बट्टार बजारमा झडप हुँदा उनीहरु घाइते भएका हुन् ।
ओली पक्षको जिल्ला भेलालाई सम्बोधन गर्न पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत केन्द्रीय नेतालाई एस्कर्टिङ गर्न हिँडेको टोली र पोखरेललाई कालो झण्डा देखाउन बसेका नेकपा कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि प्रहरी र ओली समूहका कार्यकर्ताले एकैसाथ आक्रमण गरेको अनेरास्ववियूकी नेत्री उषाकिरण तिमल्सिनाले जानकारी दिनुभयो ।
झडपपछि आक्रोशित भीडले पोख्रेल चढेको गाडीलाई लक्षित गरी ढुंगा प्रहार गरेको थियो । ढुंगा प्रहारबाट प्रहरीको एउटा गाडी क्षति पुगेको बताइएको छ ।
ओलीका कार्यकर्ताले कालो झण्डा नसहँदा झडपको अवस्था सृजना भएको तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार झडपमा परी पाँच जना घाइते भएका छन् । जसमध्ये अनेरास्ववियू नुवाकोटका सहसंयोजक विनोद कोइराला र गाउँपालिका सदस्य राजी तिमिल्सेना गम्भीर घाइते छन्। घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो।
नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले भने प्रहरीले हस्तक्षेप नगरेको बताउनुभयो । ‘प्रहरीले बल प्रयोग गरेको होइन, प्रदर्शनकारीहरुले मन्त्रीज्यूमाथि अवरोध गर्न खोजेपछि घटना घटेको हो, अहिले अवस्था नर्मल छ।’
ओली पक्षको कार्यक्रमलाई सम्बोधन गर्न पोखरेलसहित उध्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायतका नेता नुवाकोट पुग्नुभएको छ ।
टिप्पणीहरू