विप्लव नेतृत्वको नेकपामा ५ विद्यार्थी नेता पक्राउ

विप्लव नेतृत्वको नेकपामा ५ विद्यार्थी नेता पक्राउ

प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका ५ जना कार्यकर्ता रुकुम पश्चिमबाट पक्राउ गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सहित ५ जनालाई प्रहरीले आईतवार मुसीकोट नगरपालिका–१, रावलवाराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष त्रिवेणि गाउँपालिका–२, का २४ वर्षिय प्रेमप्रशान्त बोहरा, त्रिवेणि ९ का १६ वर्षिय नविन ओली, मुसीकोट नगरपालिका–१, का १९ वर्षिय सागर बुढा, १७ वर्षिय अभिषेक बुढामगर र सोही ठाउँकै २७ वर्षिय किरण रसाईली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ६ बिसौनी भन्ने ठाउँमा राप्ती लोकमार्गको विच सडकमा माघ १० गते प्रेसर कुकर बम राखेको घटनामा संलग्न भएको आशंकामा खोजतलास गर्न जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज उनिहरुलाई रावलबारामा संगठनको बैठक बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए। उनिहरु माथि थप अनुसन्धान भइरहेको उनको भनाई छ । बम राख्ने घटनामा उनिहरुको संलग्नता हुन सक्ने प्रहरीको आशंका छ ।

यसैबीच बिप्लव निकट विद्यार्थी संगठनको राप्ती समन्वय समितिले एक बिज्ञप्ति जारी गर्दै उनिहरुको रिहाईको माग गरेको छ । समितिका संयोजक दिपक बिष्टद्वारा जारी बिज्ञप्तिमा पक्राउको सुराकी गर्ने पत्ता लगाई कारबाही गरिने समेत उल्लेख गरिएको छ ।

टिप्पणीहरू