पौडेल फुर्सदिला कि भ्याई नभ्याई ?

पौडेल फुर्सदिला कि भ्याई नभ्याई ?

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि केन्द्रीय राजनीति तातिरहेका बेला नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भने जिल्ला दौडाहामा निस्किनुभएको छ ।

आइतबार पाँच दिने तालिका बनाएर पौडेल गृहजिल्ला तनहुँ निस्किनुभएको हो । सो क्रममा उहाँले कांग्रेस भातृ संगठनहरुको समन्वयमा हुने एउटा विरोधसभालाई सम्बोधन गर्नुबाहेक भेटघाटमा बिताउनु हुने बताइएको छ ।

प्राप्त जानकारी अनुसार बरिष्ठ नेता पौडेलले आइतबार कांग्रेस भातृ संस्थाहरुको समन्वयमा दमौलीमा हुने बृहत् विरोध सभालाई सम्बोधन गर्नुहुनेछ भने सोमबार कार्यकर्ता तथा स्थानीयसंग भेटघाट गर्ने बताइएको छ।

पौडेलले मंगलबार धाक्रे खोलामा निर्मित पुल उद्धघाटन गर्नुहुने जनाइएको छ। त्यस्तै, बुधबार पुस्तकालय उद्धघाटन तथा भेटघाट र बिहीबार भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने भनिएको छ ।

संसद विघटन विरुद्ध कांग्रेस आन्दोलनमा छ । पौडेलकै जोडबलका कारण सभापति देउवा आन्दोलनमा जाने निर्णय गर्न बाध्य भएको कांग्रेसकै नेताहरुले बताइसकेका छन् । पौडेलले पनि सार्वजनिक रुपमै पटक-पटक संसद पुनर्स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ ।

यद्यपि, संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलन चर्किएक बेला पौडेलले भेटघाट र उद्धघाटनमा देखाएको चासोलाई निर्वाचनसंग जोडेर पनि हेर्न थालिएको छ ।

टिप्पणीहरू