समाजसेवामा साह्रै ठूलो समस्या
आखिर मरी लानु के छ र ? बाँचुञ्जेल राम्रो काम गरे त मरेपछि पनि नाम–सम्मान जीवित रहन्छ संसारमा । जीवनमा अरुलाई सहयोग, उद्धार ग¥यौं भने सम्झनामा सदा अमर रहनेछौं । यस्तै प्रसंशनीय काम गर्दै छन्, जेबी लामा र उनका साथीहरूले । आमाबाबु नभएका अनाथ–विपन्न बच्चालाई ल्याएर पाल्नु, पढाउनु सानो उपकारको कुरा होइन । त्यो पनि एक/दुई जनालाई नभई १०/१२ जना बालिकालाई एकसाथ आवासीय सुविधासहित एउटा भाडाको घरमा राखेर नजिकैको विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ ।
भरतपुर–१२ स्थित सगरमाथा बालगृहमा खासगरी शक्तिखोरका चेपाङ बालिका संरक्षित छन्, जसमा आमा–बाबुले छोडेर गएका एवम् आर्थिक रूपले अति विपन्न तथा खान–लाउनै धौ–धौ हुने हालतका बच्चीहरू १० जना छन् । उनीहरू भरतपुरको स्थानीय मोहन माध्यमिक विद्यालयमा कक्षा ३ देखि ९ सम्म अध्ययनरत छन् । सचिव उमा गुरुङले बच्चीहरूको विशेष रेखदेख गर्दै आएकी छन् । बालिकाहरूको स्याहार–सुसारका लागि स्टाफ कर्मचारीको पनि व्यवस्था गरिएको छ । सचिव उमाका पनि श्रीमान् छैनन् । आफ्ना दुई नानीलाई पनि यहीँ राखेर सबै बालिकाहरूको हेरचाहमा उनी लागिपरेको बालगृहका संस्थापक अध्यक्षसमेत रहेका उपाध्यक्ष जेबी लामाले बताए । आफूसहित सात जना मिलेर यो संस्था चलाइरहेको उनी बताउँछन् । बालगृह भए पनि संस्था चलाउनका आर्थिक सहयोग कतैबाट नपाएको तथा सम्पूर्ण खर्च सञ्चालक टिमले नै चलाइरहेको उनले बताए । अध्यक्ष हरिभक्त गुरुङ रिटायर्ड आर्मी हुन्, उनले आफ्नो मासिक पेन्सन रकम यी बच्चीहरूको पालनपोषण र पठनपाठनमा लगानी गरिरहेको जेबीले जनाए ।
यहाँ संरक्षित बालिकाहरूलाई पढाएर, लेखाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाएर मात्रै छोड्ने संस्थाको ध्येय रहेको बालगृहकी सल्लाहकार छायाँ श्रेष्ठ बताउँछिन् । छायाकै संयोजनमा बालकुमारी माध्यमिक विद्यालयबाट ०३६ सालमा एसएलसी दिएको ‘मित्र मिलन समूह’को तर्फबाट केही दिनअघि यहाँ आश्रित बालिकाहरूलाई सिरक–डसना, कुर्ता सलवारलगायत न्याना कपडा वितरण गरियो । कहिलेकाहीँ लत्ताकपडा स्टेशनरी सहयोग, पुण्यतिथि मनाउने, बर्थडे मनाउने क्रममा खाना खुवाउने सहयोगीहरू त आउनुहुन्छ तर संस्था सञ्चालनका लागि कुनै पनि सरकारी–गैरसरकारी निकायबाट आर्थिक सहयोग नपाएको जेबीको भनाइ छ ।
संस्थापक अध्यक्ष जेबी म्युजिक टिचर हुन् । गायकको रूपमा आफूले एल्बमसमेत निकालेको उनले बताए । कार्यक्रमको सिलसिलामा शक्तिखोर जाँदा त्यहाँका बालबालिका मान्छे देख्दा भाग्ने, खुट्टामा चप्पल छैन, कपडा पनि तलको छ, माथिको छैन । यस्तो अवस्था देखेपछि उनीहरूको उज्ज्वल भविष्यका निम्ति केही गर्ने सोच बनाएर ०७३ सालमा यो संस्था दर्ता गरी सञ्चालनमा ल्याएको उनले बताए ।
अहिले आठ वर्षको भएकी निशा प्रजालाई देखाउँदै भने, ‘यो नानीलाई चार वर्षको हुँदा ल्याएको ।’ निशाकी ममी सानोमै छाडेर अर्कैसँग गएको बताइन्छ । १० वर्षीया क्रिष्टिना मोहन माविमा कक्षा ३ मा पढ्छिन् । उनको पनि ममी अर्कैसँग भागेकी । घरमा बुबा मात्रै भएको बताइन् । ‘घरमा गिठ्ठा, भ्याकुर खान्थ्यौं’, सातमा पढ्ने १३ वर्षीया सुशीला प्रजाले भनिन्, ‘यहाँ त भात–मासु, आलु–काउली । के–के हो के–के !’ आलु भुजिया बेस्ट भएको उनले बताइन् । ९ मा पढ्ने रिया प्रजाले बालगृहमा बाबाममीको जस्तै माया पाइरहेको बताइन् ।
‘खान पाएका छौं, लाउन पाएका छौं, पढ्न पाएका छौं, हाँसीखुशी छौं’, रियाले भनिन् । उनी तीन वर्षअघि यहाँ ल्याइएकी हुन् । घरमा एक्लै थिइन्, बाबाममी नै हुनुहुन्थेन । बाउले कान्छी लिएर हिँडेपछि कामको खोजीमा गएकी आमा पनि आइनन् । बहिनी यहीँ, दाइ पनि भरतपुरतिर होस्टेलमै । हेर्न जाँदा छोरीको एकदम दयनीय अवस्था थियो’, जेबीले भने ।जेबी आफैं अशक्त छन्, राम्रोसँग देख्न सक्दैनन् । ‘मलाई कतै हिँड्न सहारा चाहिन्छ । तैपनि सेवा गर्ने भावना छ’, उनले भने, ‘सम्पन्नशाली त होइन । धन नभए पनि मन छ ।’
– अजय गोर्खाली
टिप्पणीहरू