दिनदिनै निहुँ झिक्याझिक्यै,बोल्नेको पिठो बिक्याबिक्यै
आइतबार गृहनगर पुगेर प्रधानमन्त्री केपी शर्मा कुर्लिनुभयो ‘सक्छौ भने अविश्वास प्रस्ताव ल्याओ र पास गरेर देखाओ ।’ पार्टी र संसदमा स्पष्ट अल्पमतमा रहँदारहँदै पनि उहाँले किन अविश्वास प्रस्तावको चुनौति दिनुभयो होला ? किनभने कुरो स्पष्ट छ ‘यदि अविश्वास प्रस्ताव अहिले ल्याइयो र अनेक प्रपञ्चबाट त्यो खड्गो पार गर्न सकियो भने एक वर्षको लागि ढुक्क हुने भयो । त्यसपछि चुनावी सरकार भन्ने हुन्छ ।’
अहिले अविश्वासबाट उम्किए पनि आगामी जेठ १५ को बजेट र नीति तथा कार्यक्रम त पास हुनै पर्ला । ती फेल भएमा के हुन्छ ? सरकारमाथि समस्या त अब पाइला पाइलामा छ । तर, राजनीतिक मूल्य,मान्यता र सिद्धान्त मात्र होइन संविधानमा लेखिएका धारा र उपधारालाई समेत वास्ता नगर्ने भएपछि कसैको केही लाग्दैन भन्ने मान्यतालाई अहिले प्रधानमन्त्रीले प्रमाणित गर्दै हिँड्नुभएको छ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दैन भन्नेमा दुई सय प्रतिशतले ढुक्क रहनुभएका प्रधानमन्त्री गत मंगलबारको फैसलापछि अल्मलिनुभएको बताइन्छ । त्यसैको तोडमा उहाँले अब संसदभित्र हुने आफूविरुद्धको मोर्चालाई असफल बनाउने रणनीतिबमोजिम विभिन्न कार्यक्रममा गर्जिनुभएको नेकपा (बहुमत) का नेताहरुले अनुमान लगाएका हुन् । उहाँहरुको टिप्पणी छ ‘लाज घीन भन्ने नभएपछि हुने नै यस्तै हो ।’
पार्टी सदस्यबाट निश्कासन गरिएकाले प्रधानमन्त्रीबाट स्वतः हट्नुपर्ने उहाँहरुले बताउनुभएको छ । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिँदै भनिएको छ ‘केपी ओलीलाई हटाइएकाले पुसदेखि संसदीय दलको नेता स्वतः उहाँ बन्नुभएको छ । देव गुरुङ्गले सभामुखसामु आफ्नो प्रमुख सचेतक पद कायम रहेको दावी प्रस्तुत गरे झैं अब राष्ट्रपति निवास शीतल निवासमा संसदीय दलको नेताचाँहि म हुँ भनेर जानुपर्यो । त्यही दलले चुनेको प्रधानमन्त्रीले म ६४ % प्रतिशतको भनिरहन पाउने,प्रमुख सचेतकचाहिँ खुस्केको मानिने ? ’
प्रधानमन्त्रीले संसद पुनर्स्थापनालगत्तै नेकपा संसदीय दलको बैठक बोलाएर प्रमुख सचेतक फेरेको बताउनुभएको छ । तर,बहुमतमा रहेको प्रचण्ड तथा नेपाल पक्षले भने पुसको पहिलो साता बोलाएको संसदीय दलको बैठकपछि थप निर्णय केही पनि गरेको छैन ।
खुमलटार निकट सांसदहरुले भन्न थालेका छन् ‘पहिले नै संसदीय दलको नेताबाट हटाइएको भए, सायद प्रधानमन्त्रीको गोटी बन्द भइसक्थ्यो । इमान्दारिताले राजनीति चल्दैन ।’ उता बालुवाटारले भने एकपछि अर्को उल्टो कदम चाल्दै हिँडेको छ । नियम र कानुन पनि मान्नु परेको छैन । पेलेरै जाने रणनीति अवलम्बन गरिएको छ । संविधानको धारासमेत आफ्नै तरिकाले ब्याख्या गर्नेको अगाडि प्रचण्ड र नेपाल समूह भने सम्मै देखिएको बताइन्छ ।
टिप्पणीहरू