आधीरात बालुवाटारमा अवतरण
आकाशको उडान हो, मौसम, इन्धन र समयको सवाल मुख्य हुन्छ । तर, यी तीनै चिजको पर्वाह नगरी प्रधानमन्त्री रातारात उडिरहनुभएको छ । आखिर किन ? अस्ति अबेर राति बालुवाटारमा सैनिक हेलिकोप्टर अवतरणको चर्को आवाजले छरछिमेकमा तरङ्ग फैलियो । ०६२/६३ को आन्दोलनलगत्तै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले कास्कीको सिक्लेसबाट प्रचण्ड र बाबुरामलाई ल्याएकै शैलीमा विप्लवलाई पो वार्ताको निम्ति लिएर आए कि भन्ने पनि भयो ।
एकै दिन प्रधानमन्त्री र नेकपाका नेता विप्लवको जन्मदिन थियो । त्यही दिन राष्ट्रिय सुरक्षा परिषद्को बैठक । अनि, मन्त्रिपरिषद् बैठक पनि बोलाइएको । आइतबार उहाँ महेन्द्रनगर पुग्नुभएको । किनभने, कञ्चनपुरमा निर्माण हुन लागेको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नु पनि उत्तिकै महत्वपूर्ण कार्यक्रम बनेको थियो । उहाँ आजकल उद्घाटन र शिलान्यासका निम्ति एकदमै हतारोमा हुनुहुन्छ, गरिहाल्ने मनस्थितिमा हुनुहुन्छ ।
त्यहाँ गएर मात्र भएन, सभालाई पनि संबोधन गर्नुप¥यो । प्रतिनिधिसभा विघटनको कथा राख्नुप¥यो । त्यसो गर्दागर्दै साँझ प¥यो । र, त्यही हतारोले हो, उहाँलाई भोलिपल्टका सबै कुरा भ्याउन रातारात उड्नुपर्ने बनाएको । त्यसो त अहिले राष्ट्रपति कतै जानु परे ट्राफिक जाम नहोस् भनेर अन्तर्राष्ट्रिय विमानस्थल नगई शीतल निवास र प्रधानमन्त्री बालुवाटारकै हेलिप्याडबाट उड्न थाल्नुभएको छ । सेनापतिको हकमा पनि १० बाहिनी (भैरवनाथ गण) बाट उड्ने व्यवस्था छ ।
लामो दूरीको यात्रा गर्न हेलिकोप्टरको क्षमताजत्तिकै इन्धन भर्नुपर्छ । अत्यधिक इन्धन भएको अवस्थामा हेलिकोप्टर टेकअफ गर्न चुनौति र खतरा बढी हुन्छन् । फर्किंदा महेन्द्रनगरमै साँझ परिसकेको थियो । फेरि काठमाडौंसम्म आइपुग्ने इन्धन पनि थिएन । त्यसैले धनगढीमा उत्रिएर इन्धन भरियो । र, काठमाडौंको उडान भयो । अवतरणचाहिँ टोलछिमेक थर्काउँदै सीधै बालुवाटारमा गरिएको हो ।
टिप्पणीहरू