प्रधानमन्त्री पूर्वबाट हान्निएर पश्चिमतिर

प्रधानमन्त्री पूर्वबाट हान्निएर पश्चिमतिर

सिंहदरबारस्थित आफ्नै कार्यालयमा महिनौँसम्म पाइलो नराख्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरका उद्घाटन र शिलान्यास गर्न भने भ्याईनभ्याई छ । उद्घाटन र शिलान्यासमा प्रधानमन्त्रीको भ्याईनभ्याई देख्दा देशमा अब गर्न बाँकी के होला र भनेजस्तो लाग्छ ।

आइतबार एकैदिन उहाँले आफ्नो गृह जिल्लाका ३१ वटा पुलको शिलान्यास गर्नुभयो । मदन भण्डारी लोकमार्गमा निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्नुभएका ओलीले आइतबार नै आफ्नै गृहजिल्ला झापाका अन्य चार वटा पुलको छुट्टाछुट्टै उद्घाटन गर्नुभएको थियो । हिजै उहाँले चीन-नेपाल मैत्री औद्योगिक पार्कको पनि शिलान्यास गर्नुभयो । आज पनि उहाँको शिलान्यास गर्ने कार्यक्रम छ । गण्डकी प्रदेश सरकारले पोखराको नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने योजना हो ।

प्रतिनिधिसभा विघटन गरी मुलुकलाई मध्यावधि निर्वाचनमा लैजाने उहाँको कदम रोकिएपनि शिलान्यास र उद्घाटनका नाममा हुने चुनाव प्रचार रोकिएको छैन । संसद विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपनि दौडधुप रोकिएको छैन,बरु बढेको छ । त्यसैले त् उहाँ शिलान्यास र उद्घाटनमा पूरै जमेर लाग्नुभएको छ ।

राजर्षी ठाँटमा जम्बो टोली लिएर जिल्ला-जिल्लामा हुने उद्घाटन र शिलान्यासमा निस्किनुभएका प्रधानमन्त्रीलाई राज्यकोषबाट करोडौँ खर्च गरेको आरोप पनि छ । यस्ता उद्घाटनका कार्यक्रम प्रधानमन्त्रीलाई ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेजस्तै भएको छ । भन्दा सरकारी आयोजनाहरुको उद्घाटन र शिलान्यास भन्ने तर उद्धेश्य चैं पार्टीका कार्यक्रममा भाग लिने । यस्ता कार्यक्रम प्रधानमन्त्रीलाई आफ्ना विरोधीको उछित्तो काढ्ने थलो त बनेकै छ । हिजोको उद्घाटन कार्यक्रममा पनि उहाँले नेकपा (प्रचण्ड-माधव) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आलोचनामै समय खर्चिनुभएको थियो।

प्रधानमन्त्रीको उद्घाटन मोहलाई लिएर सामाजिक सञ्जालमा तिखा व्यङ्ग्य पनि हुन् थालेका छन् । ‘हातमा कैँची र कोटको खल्तिमा रिबन बोकी पाइलैपिच्छे आफ्नो नामको ताम्रपत्र राख्न मरिहत्ये गरेर प्रधानमन्त्रीले के तमाशा देखाएको होला ?’ एकजनाले फेसबुकमा लेखेका छन् । ‘एकैदिन दर्जनौँ उद्घाटन र शिलान्यास गरेर प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा बढी उद्घाटन गर्ने प्रधानमन्त्रीको रुपमा नाम लेखाउन लागि परेको’ अर्का फेसबुक प्रयोगकर्ताको टिप्पणी छ ।

कतिपयले त यसअघि घोषणा गरिएका अधिकांश काम कार्यान्वयनमा आउन नसकेको यथार्थमा प्रधानमन्त्रीको उद्घाटन मोहलाई ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्दै आलोचना गरेका छन् ।

टिप्पणीहरू