२३ गते संसद बैठक,२२ गते नागरिक खवरदारी
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा नागरिक खबरदारी सभा हुने भएको छ । ‘नेपालका लागि नेपाली’ अभियानले विवादास्पद एमसीसी सम्झौताविरुद्ध फागुन २२ गते माइतीघर मण्डलामा खबरदारी सभा गर्न लागेको हो ।
भ्रष्टाचार,लुटतन्त्र, बेथिती र एमसीसीका विरुद्ध नागरिकसभा नाम दिइएको सभाका लागि ‘एमसीसी पाल्ने संसदलाई समर्थन गर्न सकिँदैन,’ ‘एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गर्न पाईंदैन,’ ‘एमसीसी चाहिँदैन,’ ‘एमसीसी खारेज गर’ लगायत नारा तय गरिएको आयोजकले जनाएको छ ।
प्रतिनिधिसभाले सम्झौता अनुमोदन नगरेकै कारण देशी–विदेशी प्रभावमा परेर सरकारले संसद विघटन गरेको आशङ्का भइरहेका बेला संसद पुनः स्थापनसँगै एमसीसी विरुद्धको आन्दोलन शुरु भएको हो । फागुन २३ गते प्रतिनिधिसभाको बैठकको पूर्वसन्ध्यामा २२ गते हुने विरोधसभालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमसीसी सम्झौतालाई लिएर राजनीतिक दल,नागरिक समाज, बुद्धिजीवीलगायत आमनागरिक पनि विभाजित छन् । एमसीसी सम्झौताका कतिपय प्रावधानहरू नेपालको सार्वभौमिकता, राष्ट्रियता, भौगोलिक अखण्डता, स्वतन्त्रता विपरित रहेको भन्दै यथास्थितिमा स्वीकार गर्न नहुने नेकपा (बहुमत), जसपा र साना वामपन्थी दलहरूको भनाई छ । नेपाली काँग्रेस र नेकपा ओली समूह भने अहिलेकै अवस्थामा सम्झौता कार्यान्वयन गर्नुपर्ने पक्षमा छन् ।
टिप्पणीहरू