राष्ट्रपतिका निम्ति आन्दोलन ?
यो संसारले आजसम्म यस्ता प्रधानमन्त्री कतिवटा पायो भन्ने हिसाब त इतिहासका ठेली पल्टाए थाहा होला, तर समकालीन विश्वमा यस्ता सरकार प्रमुख कोही छैनन्, जसले खुलेआम अदालतलाई चुनौति दिँदै आफूले चाहेअनुसार नभए आन्दोलन गर्छु भनेर धम्की देओस् ।
एकातिर विराटनगर पुगेर प्रधानमन्त्रीले संसद विघटन सदर नभए ठूलो आन्दोलन हुने कुरा बोल्नुभएको छ भने अर्कातिर उहाँका गृहमन्त्री रामबहादुर थापा (बादल) ले तेस्रो जनआन्दोलन शुरु भएको सुनाउनुभएको छ, त्यो पनि आमसभामै । पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको कदमसँगै राष्ट्रपतिको नेतृत्वको रक्षाका निम्ति पनि तेस्रो जनआन्दोलन जरुरी भइसकेको जिकिर गर्दै बादलले त्यसो भन्नुभएको हो । उहाँले राष्ट्रपतिलाई महाभियोग लगाउन खोजिरहेको भन्दै त्यसलाई रोक्नका लागि पनि तेस्रो जनआन्दोलन जरुरी भएको भन्नुभएको छ ।
वास्तविकता कस्तो छ भने, यदि संसद बहाली भयो र प्रचण्ड–माधव समूहले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन चाह्यो भने पनि त्यो गणित उनीहरुसँग उपलब्ध छैन । तर, राष्ट्रपतिलाई निस्कृयमात्रै बनाउने हो भने २५ प्रतिशत सांसदको हस्ताक्षरसहित महाभियोग दर्ता हुनासाथ राष्ट्रपति निलम्बन सरहको स्थितिमा पुग्नुहुन्छ । र, त्यसलाई पारित गर्न दुई तिहाई बहुमत आवश्यक हुन्छ ।
अहिले सरकारको कदमको विरोधदेखि सरकारी गतिविधिहरुमा सभामुख र उपराष्ट्रपतिको अनुपस्थितिलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम्म ‘पदीय मर्यादा राखेनन्’ भनेर अर्ति दिनेदेखि राजीनामा माग्नेसम्मका काम गर्दै छन् । प्रधानमन्त्री कस्तो मान्यता राख्नुहुन्छ भने, राष्ट्रपतिलाई छड्के हेर्न नपाइने तर उपराष्ट्रपतिलाई जति गाली गर्न पाइने !
उता, प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्तीका पृष्ठभूमि उस्तै उदेकलाग्दो छ । आफूलाई साइबर सेनापति घोषणा गरेका रेल कम्पनीका महाप्रवन्धक गुरु भट्टराई र प्रदेश प्रमुख परियारका स्वकीय सचिवबीच केही समयअघि भनाभन भएको थियो । स्वकीय सचिवलाई बर्खास्त गरेर नपुग्ने भएपछि विप्लव नेकपा छोडेर मूलधारको राजनीतिमा छिरेका एकजना दलित नेता असाध्यै अपमान हुने गरी बर्खास्तीमा पर्नुभयो । र, त्यो ठाउँमा भारतीय दूतावासका निकट मानिने पत्रकार राजेश झा (अहिराज) नियुक्त भए । यो प्रसंगमा स्वकीय सचिवको हैन, गल्ती गुरुकै थियो । उनले राति जाँडले मातेर ‘म केपी ओलीको छोरो हुँ, तँलाई एक घण्टामा अपहरण गरिदिन्छु’ सम्म भनेका थिए । अपहरणको धम्की दिनु पनि कानुनतः अपराध मानिन्छ । तर, अपराध गर्नेले नै उल्टै पीडितलाई झन् पीडा दिएका छन् ।
जसरी गुरु भट्टराईले माधव नेपाल र प्रचण्डमाथि सामाजिक सञ्जालमा गालीको वर्षा गराए, त्यसबापत रेल कम्पनीमा नियुक्ति पाए, अहिराजको हकमा पनि त्यस्तै प्रसंग छ । ‘प्रचण्डलाई कहाँ छ सुरक्षा खतरा ?’ भनेर सामाजिक सञ्जालमा लेख्नेदेखि केपी ओलीका जस्तासुकै कामको पनि आवश्यकताभन्दा बढी तरिफ गर्ने कारण उनले यो नियुक्ति पाएको भनिन्छ ।
टिप्पणीहरू