डक्टरको लाइनमा अर्का श्रीमान

डक्टरको लाइनमा अर्का श्रीमान

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश नवराज थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी उपाधी प्राप्त गर्नुभएको छ । फागुन १४ गते कानुन संकायका डिन प्रा.डा.विजयसिंह सिजापतिको अध्यक्षतामा सम्पन्न अनुसन्धान समितिको बैठकले थपलियालाई डाक्टरको उपाधी दिने निर्णय गरेको हो । सो क्रममा उहाँले ‘ल एण्ड डेभलपमेण्ट इन पोष्ट कन्ल्फिक्ट सिनारियो इन नेपाल’ विषयमा शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।

थपलियाले त्रिभुवन विश्वविद्यालय,कानुन संकायका पूर्व डिन प्रा.डा.अम्बरप्रसाद पन्तको सुपरीवेक्षणमा तयार पार्नुभएको शोधपत्रको वाह्य मूल्याङ्कनकर्ता भारतको दिल्ली युनिभर्सिटी,कानुन संकायका पूर्व डिन,राममनोहर लोहिया विश्वविद्यालयका पूर्व उपकुलपति एवम् आईएमएस युनियन विश्वविद्यालयका कुलपति प्रा.डा.गुरदिप सिंह हुनुहुन्थ्यो ।

४३ वर्षअघि नुवाकोटको पञ्चकन्या गाउँपालिका (तत्कालीन भद्रुटार गाविस) मा जन्मेका न्यायाधीश थपलियाले कानुन र ग्रामीण विकास विषयमा स्नातकोत्तर गर्नुभएको छ । जापान सरकारको छात्रवृत्तिमा नेपाल–जापान सम्बन्ध संस्कृतिको अध्ययन पनि पूरा गर्नुभएको छ । विद्यावारिधी प्राप्त गरेपछि थपलिया मुलुकको न्यायालयमा डा. लेख्ने वर्तमान न्यायाधीशहरूमध्ये पाँचौं हुनुभएको छ ।

हाल सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा तथा उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत राजविराजका न्यायाधीश डा. रवि शर्मा अर्यालले आफूलाई डाक्टरको उपाधीबाट चिनाउने गर्नुभएको छ ।

दुई वर्षअघिको चैतमा उच्च अदालतको न्यायाधीशमा नियुक्तिको लागि सिफारिश गर्दा थपलिया सबैभन्दा कम उमेरको हुनुहुन्थ्यो । उहाँ ल क्याम्पस स्ववियूको सभापति रहिसक्नुभएको छ ।

टिप्पणीहरू