मुहान हेर्न दक्षिणकाली गए मन्त्री
खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले काठमाडौँको दक्षिणकालीस्थित ग्वाल दहको निरीक्षण गर्नुभएको छ ।
खानेपानीको समस्या भोगिरहेका दक्षिणकाली नगरपालिकाका स्थानीयको मागअनुसार थापा खानेपानीको मुहान निरीक्षणका लागि त्यहाँ पुग्नुभएको हो । सो क्रममा उहाँले नगरपालिकास्थित कुटुली मूल, चन्द्रज्योति,फर्पिङ पावरहाउस र सोखेलस्थित चन्द्रज्योति विध्युत गृहको पोखरी सातमुले पानी ट्याङ्कीकोसमेत स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री थापासंगै मन्त्रालयका सचिव माधव बेलबासे र काठमाडौँ खानेपानी संस्थानका प्रमुख मिलनकुमार शाक्यसहितको टोली निरीक्षणका लागि निस्किएको हो । मन्त्री थापाले जनघनत्व बढेसंगै खानेपानीको समस्या बढेकाले पानीको स्रोत संरक्षण र जगेर्ना गर्न सबै लाग्नुपर्ने बताउनुभयो । निरीक्षणपछि आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले बिस्तृत अध्ययन गरेर माग सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
चुनढुङ्गाको पत्थरबाट निस्किएको पानी स्वच्छ र पिउनयोग्य रहेको मन्त्रालयका सचिव बेलबासेले बताउनुभयो । त्यस्तै,खानेपानी संस्थानका प्रमुख शाक्यले पनि स्थानीयको माग सुनुवाई हुने बताउनुभयो ।
निरीक्षणपछि नगरपालिकाको ३ नम्बर वडा कार्यालय फर्पिङ भञ्ज्याङ्गमा आयोजित कार्यक्रममा सो वडाका वडाअध्यक्ष शिवभक्ति बलामीले त्यहाँका ३०० घरधुरी स्वच्छ खानेपानीबाट वञ्चित रहेकोले उनीहरूको लागि राहत प्याकेज ल्याउन मन्त्री थापालाई आग्रह गरेका थिए ।
ललितपुरको खोकना,बुङमति, भैँसेपाटी,लगनखेल र पुल्चोकका स्थानीयवासीले ४२५ वटा धारामार्फत दक्षिणकालीबाट लिफ्टिङ गरेर ल्याएको एक लाख लिटर पानी काठमाडौँ उपत्यका खानेपानी संस्थान (केयुकेएल)मार्फत मिसाएर उपभोग गर्दै आएको पनि अध्यक्ष बलामीले जानकारी गराए । सो क्रममा अध्यक्ष बलामीले ललितपुर र दक्षिणकाली नगरपालिका-४ लाई समेत पुग्ने गरी एक करोड २० लाखको लगानीमा दुई लाख लिटरको ट्याङ्की खरिद गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।
वडा नम्बर ५ का वडाअध्यक्ष श्याम खत्रीले शेषनारायणको पोखरीबाट ललितपुरमा पानी लगेको तर स्थानीयले भने पानीको सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गरेका थिए । दक्षिणकालीको कार्यक्रमपछि मन्त्रीसहितको टोली कीर्तिपुरस्थित सुन्दरीघाट पानी प्रशोधन तथा बितरण केन्द्र निरीक्षणका लागि निस्किएको स्थानीयले जानकारी दिएका छन् । कार्यक्रममा दक्षिणकाली-८ वडाले छैमले र जातिपोखरी खानेपानी आयोजना अझै अधुरो रहेको जानकारी गराएको थियो ।
टिप्पणीहरू