प्रधानमन्त्री लगातार झापा जाने

प्रधानमन्त्री लगातार झापा जाने

प्रधानमन्त्री केपी शर्मा ओली पुनः भोलि झापा जाने हुनुभएको छ । प्रधानमन्त्रीलाई मार्सी चामलको भुजा ज्यूनार गराउने दुर्गा प्रसाईंको अस्पताल बीएण्डसीको क्यान्सर युनिट उद्घाटन गर्न उहाँ झापा जान लाग्नुभएको हो । हिजो गृह जिल्ला झापाका विभिन्न स्थानमा पुगेर ३१ वटा पुलको शिलान्यास, ४ वटाको उद्घाटन र एउटा बिजनेश पार्कको शिलान्यास गर्नुभएको थियो । आज पोखरा पुगेर दिनभरि केही भवनको शिलान्यास तथा रंगशालाको अवलोकन गरी साँझ राजधानी फर्कनुभएको हो ।

प्रसाईंले झापामा बनाएको भनिएको संसारकै ठूलो क्यान्सर अस्पतालको उद्घाटनको लागि प्रधानमन्त्री त्यता जान लाग्नुभएको बताइन्छ । प्रसाईंले गरेको प्रचारमा बीएण्डसी अस्पतालमा आगामी केही समयपछि अमेरिकादेखि अष्ट्रेलियासम्मका बिरामी उपचारको लागि ओइरिनेछन् ।

प्रधानमन्त्रीले भोलि उद्घाटन गर्ने त्यहि अस्पताल हो जसलाई गत बुधबार बसेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकबाट उहाँ स्वयम् र शिक्षामन्त्रीको ठाडो निर्देशनमा नियम विपरित सम्बन्धन दिने प्रक्रिया अघि बढाइएको छ । सिनेटको बैठकमा छलफल नै नगरी,एजेण्डा नै नराखी एकाएक माइन्युटमा निर्णय लेखिएकोमा सिनेटका अन्य पाँच जना सदस्यले असहमति जनाइसकेका छन् । त्यहि प्रक्रियालाई सहज बनाउन ओली क्याबिनेटले हालै मात्र लामो समयदेखि रोकिएको सम्बन्धनको अनुमतिलाई खुल्ला गरेको थियो ।

भोलि साँझ राजधानी फर्केपछि प्रधानमन्त्री फेरि २१ गते शुक्रबार पनि झापा जाने कार्यक्रम तय भएको छ । शहीदहरूको नाममा आयोजना गरिने श्रद्धाञ्जलि सभामा भाग लिन उहाँ शुक्रबार त्यता जान लाग्नुभएको हो । २०२९ साल फागुन २१ गते पञ्चायती शासकले झापाबाट इलाम जेल सार्ने नाममा रामनाथ दाहाल,बीरेन राजवंशी,नेत्र घिमिरे,नारायण श्रेष्ठ र कुइँकेल गरी पाँचजना राजनीतिक बन्दीलाई सुखानीको जंगलमा गोली हानी हत्या गरेको थियो ।

भोलि झापा जाने प्रधानमन्त्रीको टोलीमा अन्य सदस्यमध्ये संसदीय दलका उपनेता सुवास नेम्वाङको नाम तय भइसकेको छ ।

पुस ५ अघिसम्म निकै बिरामी भनी पार्टी तथा सरकारका औपचारिक बैठक,सभा,सम्मेलनमा अनुपस्थिति जनाउँदै आउनुभएका प्रधानमन्त्रीको पछिल्लो सक्रियताले उहाँ तन्दुरुस्त हुनुभएको पुष्टि गरेको छ । किनभने सर्वोच्च अदालतको संसद पुनर्स्थापनासम्बन्धी फैसलापछि उहाँबाहेक ओली समूहका अन्य नेताहरू फिटिक्कै खटेको देखिँदैन ।

तर,एक्लो प्रधानमन्त्रीको कहिले पूर्व र कहिले पश्चिमको कुदाईले अरुको ओठ तालु नै सुकेको देखिन थालेको छ ।

टिप्पणीहरू