नाम विधि बचाउने, कामचाहिँ गिदी तताउने

नाम विधि बचाउने, कामचाहिँ गिदी तताउने

विधि र पद्धति मिलेन भन्दै पार्टी फुटको चरणमा पुगेको नेकपाको माधव–प्रचण्ड समूहले देशैभरका जिल्ला कमिटी तथा महानगरपालिका कमिटीमा अध्यक्ष सचिव चयन गरेको छ ।

जिल्ला तथा महानगर कमिटी र जनवर्गीय संगठनभित्रको कार्यविभाजन र रिक्त पदपूर्ति बेलैमा नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराउने पंक्ति पनि उस्तै बढेको छ । एजेण्डा बलियो हुँदाहुँदै पनि जनपरिचालन कमजोर भएको भन्दै ललितपुर नेकपाको नेतृत्व चौतर्फी आलोचनामा परेको छ । जिल्ला इञ्चार्ज हरि दाहाललाई अध्यक्ष प्रचण्डले कमजोर परिचालन भएको भन्दै आक्रोश पोखेपछि उनीविरुद्ध मोर्चा कसेकाहरू एक भएर प्रहार गरिरहेका छन् ।

दाहालविरुद्ध दिपेश महर्जन, सुशीला पुन, नवराज ढुंगाना, दीपेन्द्र श्रेष्ठ, श्रीगोविन्द महर्जनलगायत नेताले परिवारवाद लादेर पार्टी कमजोर बनाएको आरोप लगाएका छन् । कार्यविभाजनमा विधि मिचेको भन्दै त्यो नसच्चिए राम्रो नहुने चेतावनी दिइरहेका छन् । नयाँ कार्यविभाजनमा जिल्ला अध्यक्ष हरिकृष्ण थापा र सचिवमा राजकाजी महर्जनको निर्णय भएपछि सचिव महर्जनले आफूभन्दा जुनियरलाई अध्यक्ष कसरी मान्नु ? भन्दै गुनासो गरिरहेका छन् भने पूर्व एमालेभित्र अध्यक्ष र सचिव नै ३ नं क्षेत्रमा दिएर भौगोलिक सन्तुलन नमिलाएकोमा असन्तुष्टि पोखेका छन् । पूर्व एमालेभित्र तत्कालीन उपाध्यक्ष श्यामकृष्ण सिलवाललाई अध्यक्ष नबनाएर तत्कालीन सचिव हरिकृष्ण थापालाई अध्यक्ष बनाएपछि सिलवाल समूह असन्तुष्ट भएको बताइन्छ ।

टिप्पणीहरू