देउवाको यो हो नि दाउ
सत्तारुढ दलभित्र देखिएको यति ठूलो लफडाले सरकार परिवर्तन हुँदा आफ्नो समेत जय नेपाल हुने अवस्थामा पनि नेपाली काँग्रेसका सभापति मौन बसेका छन् । आगामी आइतबार पुनर्स्थापित प्रतिनिधि सभाको अधिवेशन बस्दैछ । यस्तो अवस्थामा पनि उनी मौन बस्नुको कारण खोतल्दै काँग्रेसका एकजना नेता भन्छन् ‘चुरो कुरो भनेको प्रचण्ड–नेपालले अविश्वास प्रस्तावमा वैकल्पिक प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवाको नाम हाल्नुपर्यो भन्ने हो । नत्र किन साथ दिने भन्ने सभापतिको मनशाय हो ।’
नेकपा कानुनी रूपमा विभाजन नभएसम्म जसले जे जस्तो प्रस्ताव राखेपनि ती प्रस्ताव पारित नहुने र पुनः संसद भंग हुने अवस्थासम्म पुग्ने गरी ओलीलाई साथ दिँदा नै आफ्नो र पार्टीको भलो हुने देउवाको निश्कर्ष रहेको छ । किनकि देउवालाई जसरी पनि चुनाव चाहिएको छ । चुनाव नहुने भए कुनै हालतमा प्रधानमन्त्री चाहिएको छ ।
आफ्नो नाम वैकल्पिक प्रधानमन्त्री उल्लेख गरी संसदमा अविश्वास प्रस्ताव दर्ता गरेमा प्रधानमन्त्री ओली हटाउन आफूले साथ दिने अन्यथा, नेकपाको भूमिका र भविश्य निश्चित नभएसम्म काँग्रेस अघि नबढ्ने सोचाईले काम गरिरहेको छ । यसअघि देउवाले ओलीसँग गरेको उच्चस्तरीय सहमतिको रोडम्यापमा आफूले समर्थन नगरेसम्म कुनैपनि खालको सरकार बन्न नसक्ने निचोड लेखिएको काँग्रेस स्रोतको दाबी छ ।
आफूसँग भएको सांसद संख्याको आधारमा ओली समूहलाई अघि बढ्न कुनै समस्या नहुने भन्दै प्रचण्ड–माधव समूह र मधेशवादी दलको मेलबाट मात्र केही हुन नसक्ने भएकाले ढुक्क रहन केही दिनअघि नारायण खड्कामार्फत् बूढानीलकण्ठले सन्देश पठाएको थियो ।
यता,प्रचण्ड–नेपाल समूहले पुसको अविश्वास प्रस्ताव होल्ड गरेमा पनि हाउस बस्नै पर्छ । त्यहि भएर फेरि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने उद्देश्यले प्रधानमन्त्रीले केही दिनमै अधिवेशन अन्त्य गर्ने तयारी गर्नुभएको एकथरिको अनुमान छ । अहिलेको अवस्थामा काँग्रेसले ग्रीन सिग्नल नदिएसम्म नयाँ सरकार बन्न नसक्ने भएकाले ओली र देउवा जसरी पनि पुनः हाउस विघटन गरेर मंसिरमा चुनाव गराउने रणनीतिलाई नै अघि बढाइरहेका छन् ।
यता, देउवाले पनि त्यहि मौकामा भदौमा महाधिवेशन गर्ने या अझै सार्ने योजना बुनेका छन् । त्योभन्दा अगाडि ओली सरकारले देउवालाई पुनः सभापति बनाउन जे जस्तो सहयोग गर्नुपरे पनि गर्ने सहमति भएको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आशंका छ ।
पर्सि २० गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्चमा परेको मुद्दामाथि फैसला हुँदैछ । उनको बुझाईमा फैसला ऋषिकुमार कट्टेलको पक्षमा जान्छ । कट्टेलले नेकपाको आधिकारिकता पाएपछि प्रधानमन्त्री ओली र अर्को पक्षले नयाँ नाममा दुईवटा पार्टी दर्ता गर्नैपर्ने देउवाले आँकलन गरेको बताइन्छ । उनले टेक्निकल कारणले पनि सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले नेकपाका दुईवटा समूहलाई छुट्टाछुट्टै नाममा पार्टी दर्ता गरिदिने अर्थ लगाएका हुन् ।
सर्वोच्चमा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामाथि फैसला गर्नेछ । अहिले सबैको ध्यान त्यता गएको छ । सबैभन्दा धेरै ध्यान बूढानीलकण्ठको देखिन्छ ।
टिप्पणीहरू